PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानन्यायाधीश यू-टर्न हुँदा वैद्धिकको न्यायाधीश बन्ने सपना भत्कियो : परिषद सदस्य गुम्यो, सिफारिस अनिश्चित



पहिलोपोस्ट

प्रधानन्यायाधीश यू-टर्न हुँदा वैद्धिकको न्यायाधीश बन्ने सपना भत्कियो : परिषद सदस्य गुम्यो, सिफारिस अनिश्चित

काठमाडौं : सर्वोच्चको एक रिक्त न्यायाधीश पदमा सिफारिस हुन न्याय परिषद सदस्यबाट राजीनामा दिएका पदम वैद्धिकको सिफारिस नहुने करिब निश्चित भएको छ। सिफारिस गर्ने निकायमा बसेर न्यायाधीश बन्न खोज्नु अनैतिक भएको भन्दै सर्वत्र विरोध भएपछि वैद्धिकलाई प्रस्ताव गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नै पछि हटेका छन्।

बुधबारको न्याय परिषद बैठकबाट प्रधानन्यायाधीश जबराले नै सर्वत्र विवाद भएको भन्दै तत्काल निर्णय प्रक्रिया अघि नबढाउने जानकारी गराएका छन्। यसअघि वैद्धिकका प्रस्तावक नै प्रधानन्यायाधीश थिए। वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र कानुनमन्त्री उपेन्द्र यादवले भने उक्त प्रस्तावको विरोध गर्दै आएका थिए।

परिषद स्रोतका अनुसार वैद्धिकको सिफारिस प्रक्रिया स्थगन नै भएको दाबी गर्‍यो।

‘सिफारिस नहुने करिब निश्चित भइसकेको छ। सदस्यबाट राजीनामा दिएर न्यायाधीश बन्न खोज्दा सदस्य पनि गयो’ परिषद् स्रोतले भन्यो।

यसअघि तत्कालीन सदस्य उपेन्द्रकेशरी न्यौपानेले पनि न्यायाधीश बन्ने इच्छा देखाउँदै परिषदबाट राजीनामा दिएका थिए। न्यौपानेको पनि सिफारिसस हुन सकेको थिएन।

प्रधानन्यायाधीश यू–टर्न

मंसिर १८ गते वैद्धिकले सदस्यबाट राजीनामा दिएका थिए। सोभन्दा अघि प्रधानन्यायाधीश राणाले उनलाई न्यायाधीशमा औपचारिक रुपमा परिषद बैठकमा प्रस्ताव गरेका थिए।

राजीनामा दिएको भोलिपल्टै परिषद् बोलाइएको थियो। तर, राजीनामा लगत्तै विभिन्न टिप्पणी सुरु भएपछि सिफारिस प्रक्रिया स्थगन गरिएको थियो। सरोकारवालाको दबाबपछि प्रधानन्यायाधीश यू-टर्न भए। 

वैद्धिकलाई सिफारिस गर्ने सम्भावना देखेपछि नेपाल बार एशोसिएसनले पनि विरोधमा वक्तव्य नै निकालेको थियो। सिफारिस गर्ने निकायमा बसेर आफैँ सिफारिस हुनु गलत अभ्यास हुने भन्दै बारले आपत्ति जनाएको थियो। बारको आपत्तिपछि परिषद बैठक निर्णणविहीन बनेको थियो।

बैठक निर्णयविहीन भएपछि बुधबार पुनः बैठक बोलाइएको थियो।

सोभन्दा अघि कानुन व्यवसायीको भेलामा बुटवलमा प्रधानन्यायाधीश जबराले वैद्धिकको च्याप्टर क्लोज भइसकेको संकेत गरेका थिए।

काठमाडौँ फर्किएलगत्तै बसेको परिषद बैठकमा जबराले वैद्धिकको सिफारिस तत्काल नहुने जानकारी गराएका थिए। सरोकारवालाको चासोलाई समेत ध्यानमा राखेर आफू उक्त निष्कर्षमा पुगेको जानकारी जबराले बैठकमा गराएका थिए। परिषदले न्यायाधीशमाथिको उजुरी छानविनको जिम्मा सदस्य रामप्रसाद सिटौलालाई दिएको छ। यसअघि उक्त जिम्मेवारी वैद्धिकलाई दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell