PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते



पहिलोपोस्ट

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते

काठमाडौं : राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुने भएको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारको निर्णय सार्वजनिक गर्न आयोजित बिहीवारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।

राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा मनोनीत भएका हुन्। संसद् सचिवालयले निर्वाचन भएर आएको विधि अनुसार नै 'क्लस्टर' विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरेको थियो।

जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य छन्। अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुने छ। उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका हुन्।

दुईवर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन्।
गोलाप्रथाको नतिजा अनुसार आउँदो फागुनमा कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।

नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि २ वर्षे कार्यकाल सकिँदैछ। राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएर घर फर्कदै छन्।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell