
काठमाडौं : सर्वोच्च अदालतले प्राध्यापक डाक्टर गोविन्द केसी विरुद्धको अपहेलना मुद्धाको फैसला आगामी माघ २३ गते सुनाउने भएको छ।
बिहीवार सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले यस्तो निर्णय गरेको हो।
चिकित्शाशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व सुरु भएको थियो। केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए। अदालतको आदेशविरुद्ध केसीले अनशन समेत थालेका थिए। केसीको अनशनपछि सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलनाको मुद्दा चलाएको थियो। अपहेलना मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै २०७४ पुस २४ गते पक्राउ गरेको थियो।
पक्राउको तीन दिनपछि पुस २६ गते सर्वोच्चले केसीलाई साधारण तारेखमा रिहा गरेको थियो। केसीको माग अनुसार अदालतलको संयुक्त इजलासले प्रधान न्यायाधीश पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि अध्ययनका लागि भन्दै मगाएको थियो।