PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शहीद स्मारक लिग : अनुमानित लागत ६ करोड ३० लाख, कतार एयरवेजको प्रायोजन १ लाख ५० हजार डलर



मुकुन्द घिमिरे

शहीद स्मारक लिग : अनुमानित लागत ६ करोड ३० लाख, कतार एयरवेजको प्रायोजन १ लाख ५० हजार डलर
फोटो : एन्फा।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको अनुमानित लागत ६ करोड ३० लाख रुपैयाँ लाग्ने बताइएको छ। एन्फाले आज पत्रकारसँग कुरा गर्दै यही मंसिर २८ गतेबाट शुरु हुन गइरहेको लिगको अनुमानित लागत तथा प्रायोजकबारे चर्चा गरेको हो।

गत साल लामो समयसम्म रोकिएको शहीद स्मारक ए डिभिजन लिग सुचारु भएको थियो। लामो राजनीति र खिचातानीपछि पोहोर लिग शुरु हुँदा सकारात्मक भएको बताइरहँदा रेलिगेसन विनाको लिग भनेर आलोचनासमेत खेपेको थियो एन्फा नेतृत्वले। यसपटक भने एन्फाले पुछारको एउटा टिम रेलिगेसनमा पर्ने बताइएको छ। अर्को पटकबाट चाहिँ २ टिमलाई रेलिगेसन गर्ने सिस्टम बनाएर लिग पूर्ण व्यवस्थापन गर्ने एक जना एन्फा नेतृत्वका पदाधिकारीले बताए।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पनि खेल भनेको अपर्झट परिवर्तन हुने विषय नभएकाले विस्तारै सुधार भइरहेको दावी गर्छन्। 'अघिल्लो सालभन्दा अहिले सुधार हुन्छ। अर्को पटक अझ धेरै सुधार भइसक्छ,' अनौपचारिक कुराकानीकै क्रममा उनले भने।

शहीद स्मारक ए डिभिजन लिगका लागि एन्फाले कतार एयरवेजसँग सम्झौता गरेको छ। सम्झौताअनुसार लिगको टाइटल स्पोन्सर कतार एयरवेजले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ। यसका लागि पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार अमेरिकी डलर प्रदान गर्नेछ। नेपाली फुटबलको इतिहासमा यो पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रायोजकका रुपमा एन्फाले भित्राएको हो।

शहीद स्मारक लिगको उद्घाटन खेलमा शनिबार गते मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज  क्लबबीच ३ बजे शुरु हुनेछ। म्याच टिकट बेचेर १ करोड रुपैयाँ सङकलन गर्ने एन्फाको योजना छ। यसका लागि रंगशालाको भिआइपितर्फ ५०० रुपैयाँ तथा साधारणतर्फ २०० रुपैँया लाग्ने एन्फाले जनाएको छ।

यद्यपि अघिल्लो संस्करणको लिगमा पहिला जस्तो समर्थकहरुको क्रेज भने देखिएको थिएन। यसपटक दक्षिण एसियाली फुटबलमा उपस्थित दर्शकहरुको संख्या देखेर हौसिएको छ, एन्फा। खेल व्यवस्थापन र उच्च प्रतिस्पर्धा हुनसके दर्शकको कमी हुँदैन भन्ने त सागले देखायो। तर, सागको जस्तो दर्शकको उपस्थितिलाई निरन्तरता दिनु एन्फाका लागि चुनौती र अवसर दुवै छ।  

१४ क्लब सहभागी हुने शहीदस्मारक ए डिभिजन लिग राउन्ड रोविनका आधारमा हुनेछ। जसमा हरेक टिमले १३ वटा म्याच खेल्नेछन्।

एन्फाले हरेक टिमलाई तयारीका लागि २०/२० लाख प्रदान गर्ने तयारी गरेको छ भने लिगको पहिलो देखि छैटौं स्थानसम्मका टिमले नगद पुरस्कार पाउने छन्। पहिलो देखि छैटौंसम्म हुने टोलीले क्रमश ५० लाख, ३५ लाख, २५ लाख, १५ लाख, ७ लाख र ५ लाख नगद पाउने छन्।

त्यस्तै प्रत्येक म्याचमा विजयी हुने टिमले ५० हजार पाउने छन् भने बराबरी भएको खण्डमा दुवै टिमले १५/१५ हजार पाउनेछन्।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र कोचलाई १ लाख ५० हजार दिने एन्फाको योजना छ। लिगमा कुल ९१ वटा म्याच हुनेछन्।

एन्फाका अध्यक्ष शेर्पाले पहिलाको तुलनामा लिगलाई थप व्यवस्थित गर्ने दाबी गरेका छन्।

सहभागी ए डिभजन टिमहरु

थ्री स्टार क्लब

मनाङ मर्स्याङदी क्लब

त्रिभुवन आर्मी क्लब

फ्रेन्डस् क्लब

मछिन्द्र क्लब

च्यासल युवा क्लब

नेपाल पुलिस क्लब

सरस्वती युवा क्लब

हिमालयन शेर्पा क्लब

संकटा क्लब

एपिएफ

जावलाखेल युथ क्लब

ब्रिगेड ब्वाइज क्लब

एनआरटी क्लब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell