PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वीरगंजमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शुरु, १ हजार बिरामीको शल्यक्रिया हुने



राधेश्याम पटेल

वीरगंजमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शुरु, १ हजार बिरामीको शल्यक्रिया हुने

वीरगंज : वीरगंजमा आजदेखि पर्साका १ हजार मोतियाबिन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु भएको छ। वीरगंज पानीटंकीमा रहेको माट्रिका आई फाउन्डेसन र वीरगंजका मेयर विजयकुमार सरावगीको मेयर कल्याणकारी कोषबाट संयुक्त रुपमा आयोजना भएको वृहत मोतियाबिन्दु अप्रेशन शिविरमा सो शल्यक्रिया शुरु भएको हो।

यो शिविर पुस १ गतेसम्म चल्ने फाउन्डेसनका मेडिकल संयोजक महेशसिंह धामीले बताए। यसअघि पर्साका विभिन्न स्थानीय तहमा मंसिर ३ गतेदेखि आजसम्म आँखा शिविरमार्फत मोतियाबिन्दु भएकाहरुको खोजी गरिएको थियो। जसमा करिब ४ हजार ५ सय आँखा बिरामीको शिविरमा आँखा जाँच गरिएको जनाइएको छ।

वीरगंजको १७ अलौ, २४ रामगढवा, २५ श्रीसिया, ३२ चोर्नीलगायत ७ वटा वडा, पर्सागढि नगरपाकिलाको केही वडा र बहुदरमाई नगरपालिकाको केही वडामा नि:शुल्क शिविर आयोजना गरी शल्यक्रियाको लागि बिरामी छनौट गरिएको धामीले जानकारी दिए। मोतियाबिन्दुको शल्यक्रियामा माट्रिका आई फाउन्डेसनले ६० प्रतिशत र मेयर कल्याणकारी कोषले ४० प्रतिशत सहयोग रहेको जनाइएको छ।

शल्यक्रियामा आउनेका लागि यातायात, बस्ने, खाना, रगत परिक्षण तथा शल्यक्रियाको खर्च समेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ। ६० वर्ष माथिका आँखा रोगीलाई ६ हजार पर्ने समान्य लेन्स र ६० वर्षमुनिकाको लागि अत्याधुनिक मेशिनबाट गरिने 'फेको अप्रेशन'को ९ हजार खर्च परिरहेको अस्तपालले जनाएको छ।

शिविरमा सहभागी भएर निःशुल्क शल्यक्रिया गराउन पाउँदा आँखा बिरामी खुशी भएका छन्।

बिहिवार नेत्र विशेषज्ञ नम्रता गुप्ताले करिब ८० जनाको शल्यक्रिया गरेको र शुक्रवारदेखि डा किशोर प्रधान र राजेन्द्र साह गरी तीन जना डाक्टरको टोलीले दिनको डेढ सय जनाको उपचार गर्ने बताइएको छ। शल्यक्रिया शिविरको लागि गौतम माविले नयाँ भवनमा बासको व्यवस्था मिलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell