PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}



नेत्र तामाङ

दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}

२७ नोभेम्बर मंसिर ११। भिजिट दुबईको तयारीमा छु।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थबाट दिउँसो पौने १ बजे बल्ल उड्ने तयारी गर्‍यो- फ्लाई दुबईले।

बिहान ९ बजेर ३० मिनेटमा उड्ने समय तोकिएको थियो। तोकेको समयभन्दा ३ घन्टा ढिला उड्दैछ विमान। त्यसैले ६:३० मै पुगेको थिएँ एयरपोर्ट।

विमान आइपुग्नसाथ यात्रुहरु छिटछिटो विमानमा उक्लिए। उडानको तयारी सकिनसाथ विमान २५ मिनेट ढिला उड्ने अनाउन्स भयो। कारण - भनियो ट्राफिक। नेपालमा अहिले 'नेपाल भ्रमण वर्ष - २०२०' को व्यापक प्रचार भइरहेको छ।

विमानमा यही सम्झेँ। तर, हरेक सिटमा नेपाली अनुहार। एक दुई जना विदेशी दुबई ट्रान्जिट परेर अन्तै जाँदै गरेका। पर्यटन वर्षमा पाहुनालाई स्वागत गर्नुपर्ने युवा जमात तिनै हुन् जस्तो लाग्यो। भरिभराउ सिटमा १ सय ८० भन्दा धेरै त नेपाली नै होलान्। यिनीहरुको संख्याले म आत्तिएँ। पछि थाह पाइयो- यसरी खाडी लगायत देशमा दैनिक १६ सय युवा श्रमका लागि उड्ने रहेछन्। पर्यटनका लागि स्वागतमात्र होइन पूर्वाधार निर्माणमा यी युवाको महत्वपूर्ण योगदान रहने थियो। तर, विवश छन्, विदेशमा श्रम गर्न जान।

विमानमा अनाउन्स गर्ने पहिलो भाषा रहेछ - अरबिक। त्यसपछि अंग्रेजी। पहिलो भाषा अरबिक भनेर त दुबई पुगे पछिमात्र थाहा पाएँ। ती दुवै भाषा विमानमा यात्रारत नेपालीले नबुझ्ने रहेछन्।

टिकटमा सिट नम्बर हेर्न नजानेर कतिपय नेपाली अर्कैको सिटमा बसिरहेका थिए। तिनलाई उठाएर सिट व्यवस्थापन गर्नै १५-२० मिनेट त लाग्ने रहेछ।

तीमध्ये केहीसँग कुरा गरेँ। सिट फेरबदल भएका नेपाली पनि थिए गफिनेमा। उनीहरु भन्दै थिए - केही बुझिँदैन। ती कोही दुबई, कोही बहराइन त कोही साउदी जाँदै रहेछन्। झन्डै ६ घन्टा टर्मिनलमा बस्दा केहीसँग दु:खसुखका गफ गर्ने मौका पनि मिल्यो। तीमध्ये बुटवलका एकजना भन्दै थिए - 'घर आउँदा खुशी भएर आइयो, फर्कँदा दु:खी भएर जानुपर्छ।'

धेरै भएछ रियाद बस्न थालेको पनि। भुँडी पुटुस्स परेको। दुईथरी झोला भिरेका। उनी टर्मिनलमै निदाउन थाले।

अर्का एकजना चाहिँ काठमाडौं नाङ्लेभारीकी तामाङ्नी। उमेरले ४० कटेकी उनी तेस्रो पटकमा रोजगारीमा जाँदै रहिछिन्।

'कति तिर्नुपर्‍यो?' मेरो सोझो प्रश्न।

जवाफ आयो - 'मैले त दुई तीन जना उडाउन लागेकोले पैसा परेन।'

ओमनमा दुई पटक बसेर फर्केकी रहिछिन् उनी। दुई वर्षका लागि बहराइन जाँदै रहेछिन् यसपटक चाहिँ।

हामी दिउँसो १ बजे दुबईका लागि उड्यौं। विमानले काठमाडौंलाई एक फन्को मार्‍यो। अनि माथितिर अझै अकासियो।

पहिलो पटक खाडीको यात्रामा छु। न्यारो बडी बोइङमा मलाई यात्राभर निद्रा लाग्ने छैन। किनभने काठमाडौंदेखि दुबईसम्मको बाटोमा आकाशबाट भुइँ कस्तो देखिने रहेछ भनेर हेर्ने रहर छ। भाग्य भनौं, म झ्यालतिरको सिटमा परेछु। ५ घन्टा बढी उडेरमात्र विश्राम लिनेछ विमानले।

नेपाली डाँडाहरुलाई बादलले ढपक्क ढाकेको छ। मानौं यिनै बादलले छेकेर जाडो शुरु भएको हो नेपालमा।

थुम्का थुम्कामा सेतो बादल थुप्रिएका। कालो बादल बरालिएर हिँडिरहेको जस्तो लाग्यो। सेता बादलहरु सबैभन्दा माथि अडिग भएर बसेजस्तो। सेतो र कालोलाई मानक मान्दा सेतोलाई पवित्र र कालोलाई नराम्रोको संज्ञा यही कारणले पनि दिन थालेको हो कि! यद्यपि, मलाई कालो बादलमा चाँदीको घेरा खोज्न मन लाग्यो। खोजेँ पनि तर, कतै भेटिएन। किनकि विमानभित्र नेपालीहरु जाने रफ्तार सधैं यही गतिमा हुने रहेछ। यसरी परदेशी हुनेलाई रोक्ने ध्येय कसैमा देखिएन - अनि कहाँबाट कालो बादलमा देखियोस् त सेतो घेरा।

विमान कति रफ्तारमा हो कुन्नी तर मलाई भने चलेजस्तै लागेन। किनकि म नयाँनयाँ दृश्य खोजिरहेका थिएँ।

यो विमान घामसँगै यात्रा गरिरहेजस्तो लागिरहेछ। मेरो देब्रेतिर परेको थियो घाम। त्यसैले मलाई तल जमिन र माथि आकाश दुवैतिर हेर्न सजिलो भइरहेको छ।

झन्डै डेढ घन्टापछि पानी पिउन मन लाग्यो। जहाजमा मेनु रहेछ। पानीको मूल्य रहेछ दुई डलर। बजेट एयर भएका किन्नुपर्ने। पानीलाई पनि २ डलर तिर्छु र? काठमाडौंबाट ल्याएको सानो बोत्तलको पानी केही बेरमै रित्तिएको थियो। पानी नपिई बसेँ। पानी नपिउँदा पेटमा हुस्सु पो मडारिन थाल्यो।

भोक लाग्यो। त्यहीबेला कानमा गुञ्जिरहेको थियो तामाङ सेलो - 'पानैमा खाने सुपरी दाना, अचार खाने मुला चना।'

पेटमा हुस्सु फैलिए पनि भोक बढ्यो। विमान परिचालिका खान बाँड्दै आउँदैछिन्।

'भेज अर नन भेज?' सोधिन्।

हतारहतार 'ननभेज' भन्दिएँ।

दुईवटा प्याकेट र एक कप पानी दिएर गइन्। भटाभट खोलेँ। एउटा अम्लेट, एउटा ससेज केही टुक्रा आलु थोरै प्याज र गोलभेडाँको ग्रेभी एउटा प्याकेटमा। अर्को प्याकेट खोले त्यहाँ चाहिँ सानो बर्गर, बन, सानो प्याकेट बिस्कुट अनि एकटुक्रो चिज। प्लास्टिककै काँटा, चम्चा।

मैले हुस्सिएको पेटलाई दबाइरहे। खान खाइसकेपछि भने गाह्रो पर्‍यो।

निस्कनुपर्ने। दुई जना इजरायली उठाउनै पर्ने। उनीहरुलाई किन उठाउँ जस्तो पनि भइरह्यो। अन्तत: उठाएँ र गएँ ट्वाइलेट। आकाशमा उडेर म शौचको अनुभव पनि गरिहरेकै छु।

ज्यान हलुका भयो। जहाजमा मलाई 'नरेन्द्र दाइ'ले साथ दिइरहेको थियो। बीपीको उपन्यास नरेन्द्र दाइले बेलाबेला रमाइलो दिइरहेको थियो। नरेन्द्र दाइ कस्तो अनौठा मान्छे - आफ्नै श्रीमती बुबालाई दिइदिने।

मनमनै हाँस्दै जमीनतिर हेरेँ। कपासको डाँडा देखेर मन अडियो। कपासको डाँडाजस्तै देखिने त्यो बादलहरु। खँदिएका कपास जुन कति लचकदार होला? 'ती बादलमाथि उफ्रिन पाएँ' म बहकिन थालिसकेँ।

झटपट केही फोटो लिएँ। केही भिडियो पनि।

त्यहीबेला अलि डरलाग्दो आवाज आयो 'बचाउ, बचाउ, बचाउ बचाउ म लड्न लागेँ' वरपर हेरे मान्छेहरु पनि यताउतिर हेरेर उठ्न लागेजस्तो लाग्यो।

मन भरङ्ग भयो। कतै जहाज दुर्घटनामा पर्न लागेको त हैन? मन त्यसै चिसो भएर आयो। जहाज कोल्टिएजस्तो पनि लाग्यो। अनि आफूलाई सम्हाल्न खोजेँ। दुवै हातले निधार छोपेर भगवान पुकार्दा हात कानमा पुगे। कानमा इअरफोन थियो भन्ने कुरा भुलिसकेको रहेछु।

त्यो बचाउ बचाउको आवाज सोनिका रोकायको पो रहेछ! केही समयअघि पारससँग पिङ खेलेको भिडियोको अडियो डाउनलोड गरेको थिएँ। त्यही अडियो प्ले भएछ। सातो खायो यसले। थाहा पाएपछि इअरफोन निकालेँ, मन थामियो। आफ्नो अवस्थाले आफैलाई लाज लाग्यो। धत् म पनि।

कपासको डाँडा कटेपछि विरक्त लाग्दो ठाउँ देखियो। कुनै बेला कुरुक्षेत्र भनेजस्तै ढुंगाहरुको पहाड। यसलाई पठार पनि भनिन्छ भनेर कतैकतै पढेको थिएँ।

आकार आकारका कतै कुँदिएर राखेजस्तो। कतै पूरै पर्खाल लगाएर राखेकोजस्तो डुंगाका पहाड। पानी कतै नदेखिने। इरान हुनुपर्छ त्यो। नभए पाकिस्तान। गुगल म्यापले पछि ट्र्याक गरे कुन ठाउँ हो भनेर चिन्न सजिलो हुन्छ भन्ने लाग्यो र फोटो लिइरहेँ।

ती विरक्त लाग्दा ठाउँ देखेर सम्झे युद्ध। यस्तै ठाउँमा त हुन्छ धेरै युद्ध। त्यस्तो ठाउँमा युद्ध सायद् विपक्षीहरु बन्दोबस्तीका सामान जुटाउन गह्रो परोस् भनेर पनि हुन सक्छ। सोचेँ यस्तै। त्यही यात्रामा एउटा विमान पारीबाट तुफान गतिमा उडेर एकैछिनमा बेपत्ता भयो। विमानले स्पष्ट देखिने धुवाँको रेखा कोरेको थियो। सम्झे नेपाली अखबारमा आएको एउटा चर्चित समाचार।

झन्डै दुई घन्टाको त्यस्तै दृश्यपछि बल्ल देखियो समुद्र। अनि लाग्यो अब दुबई आइपुगियो। समुद्रमाथि आधा घन्टा उडेपछि दुबई अवतरणको तयारी भएको अनाउन्स भयो। मरुभूमिको माथि हुँदै विमान जमिन नजिक पुग्यो। यस्तो निर्जन मरुभूमिमा नेपालीहरु श्रमका लागि आउने रहेछन् भन्ने सोचेँ। ती मरुभूमिकै बीचमा हरियालीले भरिएको कम्पान्डयुक्त घर देख्दैछु। विमान घुम्दाघुम्दा विशाल शहरको माथि पुग्यो। शहरका सडक फराकिला। बाटोमा बिजुलीका लठारो र खम्बा नदेखिने। एकैछिनमा दुबई इन्टरनेसनल एअरपोर्टमा अवतरण भयो विमान।

विमानले विश्राम लिनसाथ अनाउन्स भयो - दुबई एक्स्पो २०२० हुँदैछ। विश्वकै ठूलो शो। यहाँहरु पनि आउनुहोला। एक्स्पो २०२० दुबई युएई नामको यसलाई 'द वर्ल्ड ग्रेटेस्ट शो' भनिएको छ। २० अक्टोबर २०२० देखि १० अप्रिल २०२१ सम्म सात महिनासम्म चल्ने रहेछ। हाम्रो देशमा भिजिट नेपाल २०२० को तयारी जस्तै लाग्यो।

विमानबाट ओर्लिएँ। ठूलो एअरपोर्ट। दुबई आउँदै गर्दा आकाशबाट खाली उही मरुभूमिमात्र देखेको। विमानस्थल आइपुगेपछि छुट्टै अनुभूति भयो।

विमानबाट ओर्लेपछि सोझै टर्मिनल पुगेँ। भिसा चेक भयो। अनुहार स्क्यान। अनि त्यसपछि लगेज भएकोतिर आइपुगियो। एउटा ठाउँमा घुमेको लगेज खोजेँ भेटिनँ। हामीसँगै आएका नेपाली दाजुभाइ त्यहीँ घुमिरहेकै ठाउँमा भेटिए। उनी पनि भन्दै थिए - १० मिनेट भयो उभिएको, लगेज आएन। त्यहाँ घुमिरहेका लगेजहरु एअर अरेबियाका रहेछन्।

'अरु ठाउँमा पनि होला नि,' मैले भने। त्यसपछि उनकै साथीले परैबाट बोलाए अन्तैतिर इंगित गरेर। मलाई त्यतै बोलाए।

लगेज त्यतै पो रहेछ। त्यसपछि निस्केँ बाहिर। अब सीम एउटा किन्नुछ। अनि भीम भाइलाई कल गर्नुछ। भीम भाइ - सँगै खेल्दै, सँगै पढ्दै हुर्किएको। ठूलो बुबाको छोरा। विगत १० वर्षदेखि दुबईमा छन्। म दुबई जाँदै गर्दा व्यग्र प्रतीक्षामा छन् उनी। मैले अब सीम किनेर उनैलाई फोन गर्नुछ - म आइपुगेँ भनेर।

म निस्कँदै गर्दा कति मान्छेहरु प्लेकार्ड बोक्दै थिए। हुन त मैले पनि 'अल बर्साको सिटिम्याक्स होटल'मा रुम बुक गरेको छु। सायद्, ट्रान्सपोर्ट मागेको भए मेरो नाम पनि लेखिन्थ्यो होला प्लेकार्डमा। ती प्लेकार्ड हेर्दैहेर्दै सीम किन्ने धुनमा बाहिरिँदैछु। अगाडि 'ह्याल्लो दाइ' भन्दै भीम उभिन आइपुगिसकेछन्।

भेट्नसाथ आँगलो हानियो। अनि विफी फोटो। म त ट्वाल्ल। सीम किनेर कल गर्नै परेन।

तत्कालै उनले मलाई सीम लिइदिए। पासपोर्ट र सिग्नेचरमात्र मेरो।

एकैछिनमा प्राडो लिएर भीम भाइका जेठान दिल लामा आइपुगे। उनको गाडीमा हामी लाग्यौं बर दुबई। उनी रहेछन् काभ्रे सेवा समाज युएइका अध्यक्ष दिल लामा। हामी बर दुबईको क्लब एभरेस्ट पुग्यौं, जहाँ काभ्रे सेवा समाजको कार्यक्रम हुँदैरहेछ २९ सेप्टेम्बरमा। त्यहीँ नेपाली खाना खाइयो।

त्यसपछि हामी सिटीम्याक्स होटल अल वर्षामा आयौं। बाटो र अग्ला भवनको के कुरा गर्नु? यहाँको रात्री जीवन निकै रमाइलो हुन्छ भनेको सुनेको थिएँ। बाहिर निस्कौं कि लाग्यो। तर, थकानले उभिएन ज्यान। दुबई आउनुपर्छ भनेर हिजो राति पनि राम्ररी सुत्न सकेको थिइनँ।

अगाडि टिभीमा युएई र रसियाबीच 'डेजर्ट फुटबल' चल्दै रहेछ। त्यही हेर्दाहेर्दै कतिबेला घुप्लुक्क निदाएछु।

 

काठमाडौं फर्केपछि …

दुबई एक्स्पो २०२० को लागि धमाधम बन्दै रहेछ। यहाँका विमानस्थल विश्वका विभिन्न देश पुग्ने ट्रान्जिट बनेको धेरै वर्ष हुन थालेको रहेछ। विश्वकै ठूलो एक्स्पो भनेर प्रचार गरिएको यस मेलामा विश्वका मानिसलाई आकर्षण गर्ने थलो निर्णाण तीव्र गतिमा बन्दैछ। फाउन्डेसन बनेपछि यही हेर्न मानिसहरु ओइरिने भइहाले।

सडक सफाइको कुरा। त्यहाँको नियमको कुरा। व्यवस्थापनका कुरा। सुरक्षाको कुरा। यी विषय नै यहाँको पर्यटन ओइरने आधार रहेछन्। बालुवामा कुद्दा पैसा झर्छ। पानीमा तैरिँदा पैसा झर्छ। रेलमा कुद्द, बसमा चढ्दा एउटै सिस्टममा पैसा झर्छ। हरेक ठाउँ पसुँपसुँ जस्तो देखिने। कुनै ठाउँ नछुटाउँ जस्तै लाग्ने। सडकका प्रतीक्षालयमा एसी जडान गरिएका छन्। शौचालय उधुम सफा छन्। ती शौचालय प्रयोगमा कुनै शुल्क तिर्नुपर्दैन। सडक व्यवस्थापनमा पैदलयात्री पहिलो प्राथमिकतामा।

यही विषय नेपाली व्यवस्थापनसँग दाँजे। नेपालले भिजिट नेपाल २०२० त प्रचार गरिरहेको छ। तर, पर्यटकलाई आकर्षण गर्ने पूर्वाधान बनाउनेतिर एकरत्ति ध्यान दिएको छैन। कतिपय हेरिटेज साइट भूकम्पले क्षतिग्रस्त छन्। ती पुनर्निमाणमा सरकार सुस्त छ। पर्यटकको सुरक्षामा कुनै ध्यान छैन। सरसफाइमा सरकार उदासीन। धुलोमैलो खाल्डाखुल्डीको कुरागरी साध्य छैन। रातभर चम्किलो देखिने दुबई शहर छाडेर काठमाडौंको सडकमा पाइला टेक्दा 'नाइट लाइट' पनि एकदमै मधुरो लाग्यो। पर्यटकीय क्षेत्र प्रशस्त छन् तर तिनमा व्यवस्थापन छैन। यही लाग्यो।

पर्यटक स्वागत गर्ने हाम्रा युवाहरु दैनिक विदेशिएका छन्। १६ सय त खाडीमै जान्छन्। अरु देशमा यस्तै लर्को छ युवाको। दुईचार नेपाली क्बलले विदेशमा भिजिट नेपाल भनेर ब्रोसर बाँडेकै भरमा भिजिट नेपाल २०२० सफल होला? कि लुटको धन फुपूको श्राद्ध भने झै सरकार पर्यटनमा प्रचार गरेर देशको आर्थिक अवस्था बलियो बनाउनु छाडी भएका अलिअलि पैसा सकाउने मेसोमा हो? दुबईको तयारी देखेपछि भिजिट नेपाल २०२० माथि प्रश्न उठ्नु स्वभाविक बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell