PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिलो पटक हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर!



पहिलोपोस्ट

पहिलो पटक हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर!

  • राजु आचार्य-

पोखरा : नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक हिमाली गिद्धबारे अध्ययन गर्न स्याटलाइट ट्रान्समिटर प्रयोग गरिएको छ।

वन तथा वातावरण मन्त्रालय/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ‘हिमाली प्रकृति’ संस्थाले यो अनुसन्धानलाई अगाडि बढाएको हो। कास्कीको, अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत ठूलाखर्क नजिक (अस्ट्रेलियन क्याम्प)गिद्धमा पहिलोपल्ट यस्तो प्रविधि जडान गरिएको हो। यही मङ्सिर २५ गते दिउँसो १ बजे ढाडमा बाँधिएको करिब १०० ग्रामको सो ट्रान्समीटर लिएर हिमाली गिद्ध सकुशल उडेको थियो।

सुरक्षित पासोमा पारिएको करिब एक घण्टाभित्र गिद्धको ढाडमा स्याटलाइट ट्रान्समीटर लगाएर छोडिएको हो। नेपाली विज्ञ टोलीहरूले सो कार्यको नेतृत्व गरेका थिए। यसअघि भुटानमा मात्र चराबारे यस्तो खालको अनुसन्धान गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले भने, ‘विभागले अन्य स्तनधारी सरह चरालाई पनि महत्त्व दिएको छ। यस अनुसन्धानबाट प्राप्त तथ्याङ्कका आधारमा दीर्घकालीन रूपमा गिद्ध संरक्षण गर्न सहयोगी हुनेछ।'

उनका अनुसार गिद्धको अवस्था बारेमा दिगो सुपरिवेक्षण गर्ने उद्देश्यले अनुसन्धान थालिएको हो। यस अघि पनि अन्य ठुला सिकारी चराहरूमा यस्तै तरिकाले अध्ययन थालिएको थियो।

सिकारी चराको अनुसन्धानमा लामो समय बिताएका तथा यस अनुसन्धानका मुख्य अनुसन्धानकर्मी डा. तुलसी सुबेदीले पहिलो पटक हिमाली गिद्धको बारेमा यस्तो प्रविधि प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए। उनी ‘हिमाली प्रकृति’का निर्देशक समेत हुन्।

‘दिनको ५ पटकसम्म यो प्रजातिबारे जानकारी पाउनेछौं। केही वर्षपछि यो प्रजाति कता कता जान्छ? कति उचाइमा उड्छ? कुन गतिमा उड्छ? आदि बारेमा पूर्ण जानकारी प्राप्त हुनेछ,’ उनले भने।

सुबेदीले यसअघि पनि १९ वटा हाडफोरुवा गिद्ध, पहाडी सदल चील र लघु महाचीलमा सोही प्रबिधि प्रयोग गरी अनुसन्धान गरेका थिए। नेपालमा सिकारी चरामा स्याटलाइट ट्रान्समिटर राख्न उनी बिज्ञ मानिन्छन्। उनले बिद्यावारिधि पनि यही बिषयमा गरेका हुन्।

अर्का युवा अनुसन्धानकर्मी तथा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर लगाउने टोली मध्येका एक सन्देश गुरुङले खुशी हुँदै भने, ‘अन्य सिकारी चरामा स्याटलाइट ट्रान्समिटर लगाए पनि यो प्रजातिमा लगाउनु पाउनु मेरा लागि नौलो अनुभव रह्यो। यो अनुसन्धानले यो चराको धेरै आयाम बारेमा जानकारी दिनेछ।’

यो समूहमा सञ्जीव बानिया र सबिन केसी पनि संलग्न छन्। पहिलो पटक गिद्ध समाउँदा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण तथा सूचना अधिकृत ऋषि बराल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, सम्पर्क कार्यालयका सुब्बा प्रकास भुजेल समेत यस प्रकृयामा सहभागी थिए। संरक्षणकर्मीहरुले सो पंक्षी उडेपछि ताली बजाएर बधाई साटासाट गरेका थिए। यस गिद्धको नाम ‘राजु’ राखिएको छ। यो वर्ष ५ वटा हिमाली गिद्धमा यस्तै उपकरण राखिने योजना छ।

अनुसन्धानलाई कोरिया इन्स्टिच्युट अफ इनभाइरोमेन्ट इकोलोजी, जापान सोसाइटी फर प्रिजर्भेसन अफ वर्ड, नर्थ स्टार साइन्स एन्ड टेक्नोलोजी समेतले सघाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell