PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पर्साका सरकारी अस्पतालमा छैनन् औषधी, बिरामीलाई कर्मचारी नै पठाउँछन् निजीमा



राधेश्याम पटेल

पर्साका सरकारी अस्पतालमा छैनन् औषधी, बिरामीलाई कर्मचारी नै पठाउँछन् निजीमा

वीरगंज : पर्साका सरकारी स्वास्थ्य संस्थामा औषधी पाउन छाडेपछि स्थानीय बिरामी मर्कामा परेका छन्। औषधी अभाव  देखाउँदै सरकारी स्वास्थ्य संस्थाका कर्मचारीले निजी अस्पताल तथा मेडिकलबाट औषधी किन्न रिफर गरिदिने बिरामीहरुको गुनासो छ।

नारायणी अस्पताल वीरगंज, पोखरीया अस्पताल, बगही, बागेश्वरी र भिखमपुर गरी तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र करिब ७० भन्दा बढी स्वास्थ्य चौकी रहेका छन्। स्वास्थ्य चौकीमा ४५ प्रकारको, प्राथमिक स्वास्थ्य चौकीमा ५८ प्रकारको र अस्पतालमा ६४ भन्दा बढी प्रकारको औषधी सर्वसाधारण बिरामीलाई निःशुल्क वितरण गर्नु पर्ने प्रावधान रहेको छ। तर यो प्रावधान अहिले कागजमामात्र सीमित छ। कुनै पनि अस्पताल वा स्वास्थ्य केन्द्रमा जनताले सहजै निःशुल्क औषधी पाउन सक्दैनन्।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र हालको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया सरकारी स्वास्थ्य संस्थाको कमजोरी स्वीकार्छन्।

‘ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव रहेको हामीले पनि जानकारी पाएका छौ, तर अब हाम्रो हातमा केही पनि छैन। सबै पालिकाको जिम्मामा छ। पालिकाले सही समयमा चाहिने अत्यावश्यक औषधीहरु स्वास्थ्य चौकी तथा अस्पतालमा उपलब्ध गराउनु पर्छ,’ चौरासियाले भने।

उनका अनुसार पर्साको स्वास्थ्य केन्द्रहरु समन्वयकारी भूमिकामा रहको स्वास्थ्य कार्यालय पर्साले खोप आपूर्ति, क्षयरोग रोग, तथा क्षेत्रीय कार्यालयहरुबाट आएको निर्देशन पालना गराउनमात्र काम गरिरहेको छ। स्वास्थ्य संस्थामा औषधीको आपूर्ति गर्ने जिम्मेवारी सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिको भएकोले आफुहरु चुप बस्नु बाहेक केही उपाय नभएको उनले बताए।

स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्साको १४ वटा स्थानीय तहमध्ये कसैले पनि हालसम्म औषधी खरिद गर्न टेण्डर निकालेका छैनन्। पर्साको ६ लाख ८० हजारको जनसंख्यालाई सरकारी अस्पतालहरुले करिब ५० प्रतिशत जनतालाई स्वास्थ्य सेवा दिएको दाबी गर्छन्। तर काम र प्रभावकारी सेवा नपाएर जनता निजी पसल तथा अस्पतालतर्फ लाम लागेको देखिन्छ। यस बारे स्थानीय तहका जनप्रतिनिधिले समेत बेवास्ता गरेको देखिन्छ।

पर्साको पोखरीय नगरपालिकामा १ पोखरीय अस्पताल र ६ वटा स्वास्थय चौकी छन्। तर त्यहाँ पनि अहिलेसम्म चालू आर्थिक वर्षको ५ महिना बित्न लाग्दा औषधी खरिदको लागि प्रकृया अगाडि नबढेको एक जनप्रतिनिधिले बताए। उनका अनुसार गत वर्ष १० लाख भन्दा बढीको अत्यावश्यक औषधीहरु खरिद गरिएको थियो। तर यसपाली प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीको एक महिनादेखि सरुवा भएकोले आर्थिक कारोबार पनि ढिलो शुरु भएको छ।

यस विषयमा मेयर दिपनारायण रौनियार र प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य जनप्रतिनिधिलाई सहजै जानकारी पनि नहुने भएकोले औषधी आपूर्तिबारे आफूहरु धेरै बोल्न नपाइने ती प्रतिनिधिले बताए। पर्साको एउटा गाउँपालिकाले कम्तीमा १० लाखसम्म र पर्साका महानगर र तीन वटा नगरपालिका गरी सशर्त अनुदानबाट ३० लाख र स्थानीय स्रोतबाट ५ लाखदेखि १५ लाखसम्म छुट्याउने गरेका छन्। सोही रकमबाट टेण्डर खुलाउने काम हुने गरको वीरगंज महानगरका सामाजिक विकास तथा स्वास्थ्य प्रशासन महाशाखा प्रमुख अरुण महतोले बताए।

कतिपय पाकिलाले चालू आवको आधा अवधिको लागि न्यून औषधी किनेर बजेट खर्च गर्ने गरेका छन्। समयमा औषधी खरिद हुन नसक्नुमा सम्बन्धित पालिकाको स्वास्थ्य चौकीले औषधी खरिद गर्न बजेटको माग नगर्ने ट्रेन्डले पनि सबै पालिकामा औषधी अभाव खेप्नु परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell