PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रिय सभामा एकैपटक कांग्रेसको सिट आधा घट्दै, निर्वाचनका लागि के छ कांग्रेसको तयारी?



कुञ्जरमणि भट्टराई

राष्ट्रिय सभामा एकैपटक कांग्रेसको सिट आधा घट्दै, निर्वाचनका लागि के छ कांग्रेसको तयारी?

काठमाडौं : राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ। मिति घोषणापछि आयोगले दल दर्ताको आव्हान गरेको छ।

राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार ९ गते निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य राष्ट्रपतिले मनोनित गरेकी हुन्। संसद् सचिवालयले निर्वाचन भएर आएको विधि अनुसार नै क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरिएको थियो।

जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य छन्।

फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन्।

यस निर्वाचनमा पहिलो हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ।

राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दा समेत घाटा परेको थियो। यस पटकको निर्वाचनले कांग्रेसलाई झनै नोक्सन पुग्ने देखिन्छ।

दुई वर्षमै सात जनाको म्याद सकिएपछि अबको निर्वाचनमा प्रदेश २ मा कांग्रेसले अन्य दलहरुसँग गठबन्धन गरेमा नेकपालाई केही घाटा हुने देखिन्छ। त्यस्तो अवस्थामा कांग्रेसले त्यहाँबाट एक सिट जित्ने छ। त्यसो नहुँदा राष्ट्रिय सभामा कांग्रेस ६ सिटमा सीमित हुनेछ।

अन्य प्रदेशमा भने नेकपा नै ठूलो दल भएकाले कांग्रेसले सिट पाउने अवस्था देखिँदैन।

अर्थ मन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डाक्टर युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुने छ। उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका हुन्।

गोलाप्रथाको नतिजाअनुसार आउँदो फागुनमा कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।

नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि २ वर्षे कार्यकाल सकिँदैछ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्ष कार्यकाल सकिएर घर फर्कँदै छन्। राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन्।

निर्वाचनका लागि के छ कांग्रेसको तयारी?

राष्ट्रिय सभा आधा सिटै घट्ने भएपछि, निर्वाचनको तयारी के छ? जवाफमा राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक रहेकी सरिता प्रसाईले यसबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताइन्।

'कांग्रेसबाट सात जनाको कार्यकाल सकिँदै छ। यस हिसाबले अब बाँकी सिट त ६ जना नै हो,' कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्य सरिता प्रसाईले भनिन्, 'अबको निर्वाचनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीमा छलफल हुन बाँकी छ।'

प्रसाईको पनि पद सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell