PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

लागुऔषधको 'ट्रान्जिट' बन्दै कैलाली, खुला सीमा प्रहरीको लागि 'टाउको दुखाइ'



एम बम

लागुऔषधको 'ट्रान्जिट' बन्दै कैलाली, खुला सीमा प्रहरीको लागि 'टाउको दुखाइ'

कैलाली : भारतसँग खुला सीमा जोडिएको कैलाली लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट’का रूपमा प्रयोग हुन थालेको छ। खुला सीमाको फाइदा उठाएर तस्करहरूले भारतबाट सहजै लागुऔषध भित्र्याउन थालेपछि कैलालीमा यसको प्रयोग दर पनि बढ्दै गएको छ।

गत आर्थिक वर्षमा कैलाली प्रहरीले लागुऔषध विक्रि वितरण, ओसारपसार तथा प्रयोगमा संलग्ल रहेका १ सय २७ जनालाई पक्राउ गरेको थियो। जुन संख्या त्यसअघिको आर्थिक वर्षमा १ सय ८ जना मात्रै थियो। तर चालु आर्थिक वर्षको साढे चार महिनायता मात्रै कैलालीमा लागुऔषधका ५१ मुद्दामा ८१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। जसमा चार जना भारतीय नागरिकसमेत पक्राउ परेका छन्।

‘कैलालीमा खैरो हिरोइन (ब्राउन सुगर) सबैभन्दा बढी प्रयोग र बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्म ८१ जना पक्राउ परिसकेका छन्। जसमा ४ जना भारतीय मूलका नागरिकहरू समेत छन्।’

उनीहरू भारतबाट नेपाली बजारसम्म लागुऔषधको विक्रि वितरणका लागि मात्रै आएको समेत खुल्न आएको गिरीले बताए। यसको नियन्त्रणमा खुला सिमाना प्रमुख चुनौतीका रूपमा रहेको उनको भनाइ छ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत लागुऔषधमा सबैभन्दा बढी किशोर–किशोरीहरू संलग्न रहेको बताउँछन्। यसको विक्रि वितरण बढेपछि युवाहरू र किशोर किशोरीहरुमा लागुऔषधको प्रयोग दर पनि भयावह बन्दै गएको बस्नेतको भनाइ छ। कैलालीमा लागुऔषधको प्रयोगले गत आर्थिक वर्षमा २ जनाको उपचारका क्रममा मृत्यु समेत भएको थियो।

अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा १ सय ४० बढी थुनुवामध्ये सबैभन्दा बढी लागुऔषधकै घटनामा संलग्नहरू रहेका छन्। बस्नेतका अनुसार विशुद्ध लागुऔषधका घटनामा संलग्न ४० जना थुनामा छन्। लागुऔषधको प्रयोग बढेपछि युवाहरू अन्य आपराधिक क्रियाकलापमा समेत संलग्न हुने क्रम बढेको उनको भनाइ छ।

नियन्त्रणको प्रयास फितलो

यस क्षेत्रका सरोकारवालाको भने प्रहरी र सरकारी तवरबाट भइरहेको नियन्त्रणको प्रयास फितलो भएको गुनासो छ।

युवा शान्ति परिषद् नेपालका अध्यक्ष प्रेम ढुंगाना भन्छन्, ‘प्रहरीले जति जनालाई पक्राउ गरेको छ, सबै स-सानो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन्, तर मुख्य व्यापारी को हो? कसरी सहजै भित्रिएको छ लागु औषध? भन्ने विषयमा कसैको ध्यान पुग्न सकेको छैन।’

प्रहरीको तथ्या‌कले लागुऔषधका घटनामा पक्राउ परेर छुटेकाहरू समेत पुनः त्यसै क्रियाकलापमा फर्किने क्रम समेत बढेको देखाउँछ। त्यसैले सरकारी तवरबाट सुधारगृहको विस्तार कैलालीमा हुनुपर्ने उनको भनाइ छ।

कैलालीको धनगढीमा मात्रै १ हजार ५ सयको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको लागुपदार्थ न्यूनीकरणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ कैलालीका सूचना तथा तथ्यांक अधिकृत तपेन्द्र भुसाल बताउँछन्। तर ढुंगानाले यो तथ्यांक पनि पूर्ण नभएको र युवाहरू त्यो भन्दा बढी लागुऔषध प्रयोगमा रहेको बताए।

कैलालीको धनगढीमा यसको कारोबार र प्रयोग दुवै बढ्दो छ। तर स्थानीय तहबाट अहिलेसम्म खासै पहल भने हुन सकेको छैन। धनगढीका नगर प्रमुख नृप वडले लागुऔषध दुर्व्यसनीको तथ्यांक संकलन गरी पुनःस्थापना गर्ने, सिमानाकामा कडाइका साथै प्रहरी निगरानी बढाउन सहजीकरण गर्ने र यसको नियन्त्रणका लागी जन चेतना फैलाउने काम भइरहेको बताए।

हिरासत मुक्त युवाहरू समेत पुनः पुरानै क्रियाकलापमा फर्किने क्रम बढेकोले सुधार गृहको स्थापना, सीमाको निगरानी मजबुद बनाउने लगायतका विषयमा सरोकारवालाको ध्यान पुग्न आवश्यक देखिएको युवाहरू बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell