PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सबै 'ए डिभिजन'को तयारीमा, आर्मीका कप्तान खवास भन्छन् : गल्ती सुधार्दै शहीद स्मारक जित्ने छौं



मुकुन्द घिमिरे

सबै 'ए डिभिजन'को तयारीमा, आर्मीका कप्तान खवास भन्छन् : गल्ती सुधार्दै शहीद स्मारक जित्ने छौं

शहीद स्मारक 'ए' डिभिजन लिग शनिबारबाट शुरु हुँदै छ। लिगका लागि सबै क्लवहरुले आफ्नो तयारी लगभग सकिसकेका छन्। अधिकांश टिमको उपाधिको दावेदारी कायमै छ। सहभागी टिमहरु मध्ये एउटा सदाबहार दाबेदार टिम हो- नेपाल आर्मी क्लब।

पोहोर धेरै ड्र खेल्नाले लिगमा पछि पर्नुपरेको महसुस त्रिभुवन आर्मी क्लवले गरेको छ। आर्मी क्लवका कप्तान भरत खवास यसपटक पोहोरको गल्ती सच्याउँदै शहीद स्मारक ए डिभिजन लिगको ट्रफी चुम्ने लक्षमा रहेको बताउँछन्।

‘लास्ट टाइम ड्र धेरै खेल्यौं। यस पटक त्यसलाई सुधार्नु पर्ने हामीले बुझेका छौं। त्यतिबेला गोललेस ड्र ले हामीलाई घाटा गराएको थियो। यस पटक हामी फिनिसिङ लाइनलाई सुधारेर लाँदैछौं,’ कप्तान खवासले ए डिभिजनको योजना सुनाए, ‘हाम्रो लाइन अप ४-४-२ नै हो। फिनिसिङ लाइनलाई थप फोकस गरेका छौं यसपटक।’

मोरङ घर भएका खवास एन्फा एकेडेमीकै 'प्रोडक्ट' हुन्। उनले सबै उमेर समूहमा खेलिसकेका छन्।

२०६३ सालमा सङ्कटा क्लवबाट ए डिभिजन लिग डेभ्यु गरेका उनी २०६९ सालमा नेपाली सेनामा प्रवेश गरे। त्यहाँ दुई वर्ष अफिसर क्याडेड कोर्षसमेत भ्याए।

यस पटक खेलमा आर्मीका खेलाडी मनोवैज्ञानिक रुपमा पनि उत्साहित रहेको उनको दावी छ। ‘पछिल्लो समयमात्र खेलेका ७ मोफसलका प्रतियोगितामध्ये हामीले ५ वटामा जित हात पार्‍यौं। बाँकी २ वटामा पनि सेमिफाइनसम्म खेलेका थियौं। त्यही भएर म लगायत हाम्रो टिमकै मनोबल उच्च छ,’ खवासले टिम तगडा हुनुको तर्क पेश गरे।

तर, टिम सेटका लागि भने आर्मी जम्न सकिरहेको देखिन्न। भर्खरै सम्पन्न सागदेखि लिएर फुटबलका राष्ट्रिय गतिविधिले गर्दा टिम छिन्नभिन्न भएको देखिन्छ।

‘यू २३ टिममा हाम्रोबाट ४ जना खेलाडी छन्। गोलकिपर विकेश कुथु, विकास खवास, सुमन अर्याल र शेसेहाङ अङदाम्बे। सागको तयारीले गर्दा उनीहरुसँगै अभ्यास गर्न नपाएकाले खासै अट्याच हुन पाएको छैन। त्यसले अलि समस्या हुनसक्छ,’ खवासको अभिव्यक्तिले यथार्थ कति बुझेका छन् देखाउँछ।

अरु धेरैजसो क्लवलाई भन्दा आर्मीलाई अभ्यास र खेल स्थलको समस्या छैन। खवासका अनुसार यति समयदेखि भन्दा पनि लगातार आफ्नो तालिम भइरहने हुनाले यति महिना वा हप्ता तालिम गरेको भन्न नमिल्ने जनाए।

'हाम्रो टिम राम्रो छ। सँधै सँगै खेलेका साथीहरु छन्। अरुतिर जस्तो हाम्रोमा आउने जाने र फेरिइरहने हुँदैन,' उनले भने, 'सबै ब्यारेकमा बस्ने भएकाले भावनात्मक सम्वन्ध पनि राम्रो छ। हामीले सँगै ट्रेनिङ गर्ने भएकाले तयारी राम्रो छ।’

आर्मीका खेलाडीको ड्युटी नै खेल्ने भएकाले यतिउती तालिम गरेको भन्न आवश्यक ठानेनन् उनले। प्रश्न सोध्दा हाँसेरै टार्दिए। उनका अनुसार आर्मीमा लिग आउन लाग्दा एक सिफ्ट थप तालिम हुन्छ नत्र नियमित प्रशिक्षण चलिरहन्छ, चाहे प्रतियोगिता चलुन् या नचलुन्। यसपटक पनि लिग आउनै लाग्दा पछिल्लो १ महिना यता तालिम दुई सिफ्टमा चलेको थियो।

कप्तान खवासको बुझाइमा यसपटक मच्छिन्द्र बलियो टोली हो।

‘मैले उहाँहरुको तालिम र अभ्यास त हेरेको छैन। उही मिडिया र चर्चा परिचर्चा सुनेको हो। त्यस हिसाबले चाहिँ मछिन्द्रको टोली बलियो भएको मलाई लागेको छ,’ उनले भने।

हुन पनि मच्छेन्द्र क्लव लिग जितेरै छाड्ने ‘जुनुन्’ मा देखिएको छ। साबिक लिग बिजेता मनाङ मर्स्याङदी क्लबका कप्तान लगायतका खेलाडी मच्छेन्द्रले आफूतिर खिच्दै लिग जित्ने होड कायम राखेको छ।

९ जना राष्ट्रिय खेलाडी, ३ जना विदेशी राम्रा खेलाडी। त्यसमाथि नेपाली राष्ट्रिय टिमको विभिन्न उमेर समूहका कप्तान र पूर्वकप्तान भित्र्याएको छ, मच्छिन्द्रले। यसरी हेर्दा मच्छिन्द्रलाई कम आँक्नु त्यसै पनि ठूलो गल्ती हुन सक्छ। यसलाई बुझेका छन् कप्तान भरत खवासले।

शुक्रबार मच्छेन्द्र क्लवले आयोजना गरेको शहीद स्मारक लिगको खेलाडी घोषणामा कप्तान विराज महर्जनले आफूहरुले ‘हन्ड्रेड परसेन्ट’ दिने बताएका थिए। उनले मच्छिन्द्रमा खेलाडी टिक्न र खेल सुधार्न अवसर भएको बताउँदै सागमा खेलाडीको तयारी चलेकाले टिम अभ्यासको कमी भए पनि लिग जित्नैका लागि खेल्ने बताएका थिए।

आर्मीका कप्तान खवासले यी विषयलाई पनि मनन् चाहिँ गरेकै होलान्। त्यही भएर मच्छेन्द्रको टिमलाई लिग जित्नका लागि बलियो प्रतिद्वन्द्वीका रुपमा हेरेका छन् उनले।

सन् २००८ मा राष्ट्रिय टिममा डेभ्यु गरेका खवासले नेपाली राष्ट्रिय टिमकोसमेत कप्तानी गरिसकेका छन्। पछिल्लो समय बंगलादेशमा भएको साफमा माल्दिभ्स विरुद्ध उनले कप्तानी गरेका थिए।

+++

आर्मी लगायत अरु टोलीले पनि लिगको लागि तयारी राम्रो गरेका छन्। अघिल्लो लिगमा अंक तालिकाका पछि रहेको एनआरटीले राजुकाजी शाक्यलाई प्रशिक्षक बनाएको छ। उनी नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक समेत हुन्। उनले खेलाडीदेखि प्रशिक्षकसम्मै सफल छवि बनाइसकेका छन्।

‘एनआरटीको १ महिना ट्रेनिङ गर्‍यौ। तयारी राम्रो छ। टिम सेट बनाउन चाहिँ सकेको छैन। हामी तयार छौं,’ शाक्यले भने।

त्यस्तै, नेपाली फुटबलमा बलियो दावेदारी प्रस्तुत गर्ने नेपाल पुलिस क्लवको तयारी भने अलि फितलो पो भएको हो कि भन्ने देखिएको छ। नियमित प्रशिक्षक नहुँदा खेल तयारीमा केही प्रभाव परेको स्वीकार्छन टिमका सिनियर खेलाडी भोला सिलवाल।

तर, पुलिसले यसपटक खेलाडीहरु एकैसाथ राखेर प्रशिक्षण गराएका हुनाले पछिल्लो समय अलि खस्किएको खेल सुधारेको हुन सक्छ।

‘तेज तामाङबाहेक हामी सबै सँगसँगै छौं। पुरानै खेलाडीहरु धेरै छौं। प्रशिक्षक हामीसँग हुनुहुन्न। होइन भने लिगमा राम्रो पोजिसन ल्याउने भन्ने नै हो। सके जित्ने हो,’ सिलवालले भने, ‘विगतको जस्तो खेलाडी ल्याउन सकिरहेका त छैनौं। हामीसँग भएका खेलाडी पनि पलायन हुने र नयाँ खेलाडीले आउन इच्छा नदेखाएकाले केही प्रभावित भने भएको हो।’

त्यस्तै, भर्खरै सम्पन्न सागमा उत्कृष्ट छाप छोड्न सफल सुनिल बल, अनुभवी खेलाडी सन्तोष साउखल लगायतका खेलाडी समेटेको च्यासल पनि बलियो टोली हो। मैदानको अभाव खेपिरहेको च्यासलले पनि लिग जित्ने लक्ष राखेको प्रशिक्षक बताउँछन्।

त्यस्तै मिडल र अडिनरी खेलाडी सहित उत्रन लागेको विभागिय टोली एपिएफले पनि तयारी राम्रो छ। तर, अनुभवी खेलाडीको कमी रहेकाले केही प्रभाव भने पर्ने देखिन्छ। टिमका कप्तान टोपबहादुर विष्ट राम्रो तयारी भएको बताउँछन्।

‘लिगका लागि राम्रो छ। नयाँ सिस्टममा खेल्ने हो। लिगको माथि नै पुग्ने लक्ष हो। पुरानो खेलाडी थोरै हुँदा अनुभवको कमी चाहिँ देखिएको छ,’ उनले भने।

त्यस्तै, अन्य टिमले पनि तयारी राम्रै गरेको दाबी गर्दै आएका छन्। पोहोर भन्दा फरक यसपटक रेलिगेसन हुने भएकाले पनि टिममा अलि दवाव भने पर्न जान्छ। यसले प्रतिस्पर्धालाई बढाउला भनेर आशा गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell