PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शंकाको सुई विप्लवतिर, सिआइवीको टोली अनुसन्धानमा जाँदै



सविन ढकाल

शंकाको सुई विप्लवतिर, सिआइवीको टोली अनुसन्धानमा जाँदै

काठमाडौं : शुक्रवार राति धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो। विस्फोटमा प्रयोग भएको बम शक्तिशाली भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

प्रेसर कुकर भित्र बम जडान गरिएको भेटिएको छ। प्रहरीले घटनास्थलबाट केही व्याट्री तथा अन्य प्रविधिक उपकरणका टुक्रा समेत फेला पारेको छ। रिमोट कन्ट्रोल वा टाइम बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको दुई नम्वर प्रेदश प्रहरी प्रमुख डिआइजी प्रधुम्म कार्कीले जानकारी दिए। 'यो सामान्य बम चाहिँ होइन। रिमोट कन्ट्रोल वा टाइम बम हुन सक्ने देखिन्छ। हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ,' उनले भने।

मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका करिब १६ वर्षीय छोरा आनन्द साहको समेत मृत्यु भएको छ विस्फोटमा परी। साहका अर्का छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते छन्। राति करिव साढे ११ बजेतिर पिसाव फेर्न निस्किदा साहले आफ्नो घरको गेट अगाडि शंकास्पद बस्तु देखपछि प्रहरीलाई फोन गरेका थिए।

करिव २ किलोमिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अमिरकुमार दाहालको नेतृत्वमा टोली पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनास्थल सिल गर्न खोज्ने क्रममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

तर घटना अहिलेसम्म किन र कसले गराएको भन्ने खुल्न सकेको छैन। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पछिल्लो समय देशभित्र भएका अधिकास विस्फोटका घटनामा विप्लव समुहको संलग्नता देखिएकाले पनि प्रहरी अनुसन्धानको सुई विप्लव समुहतिर सोझिने गरेको छ।

'शंकाको घेरमा लिन सकिन्छ। तर अहिले नै यसले गर्‍यो भन्ने आधार फेला परेको छैन,' डिआइजी कार्कीले भने।

सााह कुनै राजनितिक कनेक्सन भएका व्यक्ति भने होइनन्। विप्लवले घटना गराएको भए पनि चन्दाको लागि मात्र हुनसक्ने देखिएको छ। तर ज्यान नै लिने गरी कुनै व्यक्ति केन्द्रीत घटना भएकाले विप्लप नै हो भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन।

घटनाको अनुसन्धान गर्न प्रहरी प्रधाान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरोको टोली धनुषा पठाउने भएको छ।

त्यस्तै शुक्रवार राति नै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ। कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट झ्याल, ढोका क्षति पुगेको छ। मानवीय  क्षति नभएको प्रहरीले जनाएको छ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

(जनकपुरबाट सुमित मिश्रको साथमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell