बैतडी : प्रहरीले २ सय १६ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको टोलीले सो संख्यामा हातहतियार संकलन गरेको हो।
यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार संकलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए। उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै संकलन भएका उनले बताए। संकलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि संकलन भएका छन्। संकलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ। हतियार संकलनपश्चात् भने हत्या-हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी-सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय बताए।
अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे प्रजिअ आनन्द पौडेलले बताए। गृह मन्त्रालयले मंसिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा मंसिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो।