PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरमा शौचालय क्रान्ति : मौलिक शैलीमा सबैका लागि



सहयोग रञ्जित

भक्तपुरमा शौचालय क्रान्ति : मौलिक शैलीमा सबैका लागि

व्यस्त काठमाडौं उपत्यकामा मानिसहरु फुर्सदको समयमा रिक्रिएसन खोजिरहन्छन्। विदामा घुम्न जाने, साँझपख साथीभाइसँग गेट टुगेदर। धेरैजसोको जक्सन बन्छ उपत्यकाका दरबार क्षेत्रहरु। सम्पदा क्षेत्रहरु रेष्टुराँ र पसलहरुले भरिएका छन्। शहरीकरणसँगै ती स्थानहरुमा मानिसको चाप पनि बढेको छ। तर, शौचालयको अभावका कारण धेरैले समस्या भोग्छन्।

दरबार क्षेत्र घुम्न जाँदा शौचालयको प्रयोग गर्न रेष्टुराँ धाउनुपर्छ। नभए चिनेजानेका र आफन्त घर खोज्दै हिँड्नुपर्छ। भएकै सार्वजनिक शौचालय प्रयोग गर्न पनि दशफेर सोच्नुपर्छ। स्मार्ट सिटीको परिकल्पना गरिरहँदा एउटा शौचालयको व्यवस्थापन गर्न नसक्नु स्थानीय सरकारलाई चुनौती बनेको छ।

यस्तै व्यवस्थापनको चुनौती स्वीकार्दै भक्तपुर नगरपालिकाले भने नगरपालिका प्रवेश गर्ने प्रत्येक विन्दुमा शौचालय निर्माण गर्ने तयारी सुरु गरिसकेको छ। हाललाई भक्तपुरको सिद्धपोखरी र टौमढीसँगै रहेको भगवतीस्थानमा सुविधासम्पन्न शौचालय निर्माण भइसकेको छ।

तर, पर्यटकहरु त्यहाँ पुगेर शौचालय देख्दा अचम्म पर्ने गरेका छन्। बाहिरबाट हेर्दा घर वा पाटी जस्तो देखिन्छन् यी शौचालयहरु। सांस्कृतिक रुपले धनी भक्तपुरले शौचालयलाई पनि मौलिक 'टच' दिने खोजेको छ।

सिद्धपोखरीको पूर्वी प्रवेशद्वारको अगाडि बनाइएको शौचालय त्यसको उदाहरण हो। बाहिरबाट हेर्दा फल्चा (पाटी), त्यसको पछाडि बनाइएको छ घर जस्तै देखिने शौचालय। महिला र पुरुषका लागि छुट्टाछुट्टै। अहिले त्यसको रेखदेख गर्न नगरपालिकाले कर्मचारी खटाएको छ। सिद्धपोखरी पुग्ने धेरैलाई नगरपालिकाको यो 'कन्सेप्ट' मन परेको छ।

यता, भगवती स्थानमा पनि दुई तल्ले घरलाई शौचलयमा रुपान्तरण गरिएको छ। माथिल्लो तल्लामा स्थानीयका लागि शौचालय बनाइएको छ भने तल्लो तल्लामा पर्यटकका लागि। भक्तपुर दरबार क्षेत्र घुम्न आउने धेरै सिद्धपोखरी हुँदै टौमढी पुग्ने गर्छन्। स्थानीयहरुले पनि शौचालयको माग गरिरहेकै बेलामा टौमढीमा एकै घरमा दुईवटा सार्वजनिक शौचालय बनाइएको नगरपालिकाले जनाएको छ।

दत्तात्रय क्षेत्रमा पनि एउटा घर निर्माण हुँदैछ। पर्यटक सूचना केन्द्र रहने सो घरमा सार्वजनिक शौचालय बनाउने काम अन्तिम चरणमा पुगेको छ। तल्लो तल्लामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बन्दैछ भने माथिल्लो तल्लामा पर्यटक सूचना केन्द्र।

शौचालयको डिजाइन नगरपालिकाकै आर्टिटेक्ट र इन्जिनियरहरुको रेखदेखमा भएको हो। पर्यटकका साथै सर्वसाधरणका लागि मौलिक शैलीमा स्तरीय शौचालय बनाउने उद्देश्यका साथ निर्माणको काम भएको हो।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति नगर प्रवेश गर्ने सबैका लागि शौचालयको अभाव नहोस् भनेर नगरपालिका प्रवेश गर्नेका लागि तीन मिनेट भित्र शौचालयको व्यवस्था गर्ने योजना बनाइरहेको बताउँछन्।

भने, 'यहाँ विदेशीलाई मात्रै राम्रो शौचालय भनेर विरोध गर्नेहरु पनि छन्। तर, हामी त्यस्तो सोच्दैनौ। भक्तपुर आउने सबैका लागि स्तरीय सेवा दिनु हाम्रो दायित्व हो। हामी नेपालीहरु पनि स्तरीय शौचालय प्रयोग गर्न पाउनुपर्छ भन्ने हेतुका साथ पर्यटक काउन्टर देखि तीनदेखि चार मिनेट भित्रमा शौचालय पुग्ने वातावरण निर्माण गर्दैछौं। शौचालयका कारण कसैले दु:ख नपाओस् भनेर हामीले यो काम सुरु गरेका हौं।'

+++

सरकारले केही अघि नेपाललाई खुल्ला दिसा मुक्त देश घोषणा गर्‍यो। तर, कागज र बोलीमा मात्रै सीमित घोषणा कार्यान्वयन गर्न सरकारले प्रयास गरेको देखिँदैन। यसैबीच भक्तपुरमा सुरु भएको शौचालय निर्माणको प्रयासका बारेमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति भन्छन्, 'केन्द्र सरकारले पहिलो बन्ने होडमा नेपाललाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्‍यो। तर, उपत्यकामा नै शौचालयको अभावमा मानिसहरुले दु:ख भोग्न बाध्य रहेको कुरा यथार्थ हो।'

अहिले पनि सडकमा नै दिसा गर्ने प्रवृति कम नभएको भन्दै बोली र शब्दमा नभइ काम गर्न सरकार उद्दत हुनपर्ने बताउँछन् उनी। 'सरकारले गरेको काम नराम्रो होइन। तर, त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न पनि त पर्‍यो। जनतामा शौचालयको प्रयोगबारे चेतनास्तर वृद्धि गर्दै आवश्यकता अनुसार शौचालय बनाउने काम सरकारकै हो। त्यसपछि शौचालयको प्रयोग नगर्नेलाई जरिवाना गरौं। त्यसो नहुँदा जनताले प्रश्न उठाउनु स्वभाविक हो।'

स्थानीय सरकार आइसकेपछि स्थानीय तहमा आधारभूत सेवा सुविधा उपलब्ध गराउन नसक्दा जनता निराश भइरहेको बताउँदै भक्तपुरमा आफूहरुले कुरा नभइ काम गरेर देखाउन शौचालय निर्माणलाई प्राथमिकतामा राखेको प्रजापति बताउँछन्।

भक्तपुर नगरपालिका विदेशीको मात्रै नभइ आन्तरिक पर्यटकको हब बन्दै गएको छ। त्यसैले यहाँ आउने सबै पर्यटकहरुले शौचालय नभएको भन्ने गुनासो आएपछि स्थानीय सरकार बनेसँगै नगरपालिकाले पर्यटकहरुलाई सहज बनाउने भन्ने बारेमा नगरपालिकाले छलफल गर्दै सबै वडामा शौचालय निर्माण गर्नेका लागि स्थानहरु छनौट गरेको थियो। पहिलो चरणमा पयर्टकको धेरै आवतजावत हुने प्रमुख क्षेत्रका रुपमा टौमढी, दतात्रय र दरबार स्कवायर छनौट गरिएको हो। दरबार स्क्वायरमा भएको पुरानो शौचालयलाई व्यवस्थित गरिएको थियो। दरबार क्षेत्रमा विदाका बेला पर्यटकहरुको निकै नै भिड लाग्ने गर्छ। अझै जात्रापर्वका बेला सबै भन्दा धेरै मानिस आउने स्थान यही हो। पर्यटकहरुलाई भक्तपुरको मौलिक पहिचानसँग अवगत गराउन शौचालयलाई मौलिक शैलीमा ढालिएको हो।

प्रजापति भन्छन्, 'हाम्रो पहिचान भनेकै हाम्रो मौलिकता हो। हामीले यहाँ आउनेहरुलाई देखाउने भनेको हाम्रो संस्कृति हो। हामीले अहिले जस्तो शौचालय बनाएका छौं, त्यसो शैली हाम्रो आफ्नै हो। हामीले घरको शौचालयलाई जसरी सफा राख्छौं। सबैको स्वास्थ्यसँग सम्बन्धित भएकोले सार्वजनिक शौचालयलाई सफा राख्ने कर्तव्य हाम्रै हो।'

सार्वजनिक शौचालय बनाउने तर त्यसको रेखदेख नगर्ने कामले उपत्यकामा बनाइएका आधुनिक शौचालयको अवस्था सबैले देखेकै छ। स्मार्ट शौचालय बनाउने होडमा पुराना शौचालय व्यवस्थापन गर्न नसक्नु आफैमा चुनौती हो। अझै, ठूलठूला मलको शौचालयको अवस्था पनि दयनीय छ। कतै भक्तपुरमा यस्तै अवस्था त दोहोरिँदैन?

प्रमुख प्रजापति भन्छन्, 'पहिला यहाँ पनि त्यस्तै समस्या थियो। शौचालयमा फोहोर हुने, पानी नहुने कुरा नभएको होइन। अब यहाँ त्यस्तो हुँदैन। शौचालयहरुको संचालनका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको छ। केही समयपछि अरु स्तरीय शौचालय निर्माण हुनेछ। हामीले शौचालय संचालन गर्ने व्यक्तिलाई त्यसलाई सफा र दिगो प्रयोग हुने गरी व्यवस्थापन गर्न शर्त राखेर दिन्छौं। हामी ती स्थानमा नगरपालिकाबाट कर्मचारीहरु नै खटाउँछौं। शौचालय पनि हाम्रो सम्पत्ति हो। त्यसको संचालनमा लापरवाही गर्नेलाई हामी कारवाही गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell