PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}



नेत्र तामाङ

दुबईमा मिङ्मार लामा, कुलमान घिसिङ र राष्ट्रपति भण्डारीको खोजी {दुबई डायरी २}

२८ नोभेम्बर।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी छन्। के कस्तो भइरहेको छ उनलाई? दुबई पुग्नसाथ सोधेका थिए - नेपाली साथीभाइले। बिहानै अपडेट भएँ - राम्रो हुँदै रहेछ।

बिहान ७ बजे नै होटल बाहिर निस्कँदैछु।

सडक क्रस गर्न जेब्राक्रस नजिकै छु। दुई तल्ले बस दाहिनेतिरबाट आएर रोकियो। चालकसँग नजर जुध्यो। हातको इशाराबाटै उसले भन्यो - जाउ। पहिले तिमी।

मैले बाटो काटेँ। त्यसपछि फर्केर हेरेँ। बल्ल गयो त्यो बस। पछि थाह पाएँ - तिनले पैदलयात्रीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने रहेछ। नत्र, ५०० दिराम जरीवाना। लाइसेन्स लिनुपूर्व नै चालकलाई सिकाइदो रहेछ : पैदलयात्री सबैभन्दा असुरक्षित हुन्छन्। पहिलो प्राथमिकता उनीहरुलाई नै दिनु।

झलक्क काठमाडौं सम्झिएँ- जेब्रा क्रसमा पनि एकछिन पर्खन नसक्ने चालकहरुको भयानक अनुहार झलझली याद आयो। अनि बाइकर र स्कुटरवालीहरुको शान। हानौला झै गरी बतासिन्छन्, चर्को हर्न बजाएर। आफूले पनि कतिलाई आतंकित गराएको हुँला, सडकमा यसरी सवारी कुदाउनेलाई अरुलाई असर पारेको किन सोच्छन् र?

ट्राफिक प्रहरी कतै पनि देखिनँ यहाँ। अहँ! चिट काटेर नियम सिकाउने ट्राफिक छैन त। कस्तो अटो सिस्टम! लाइट सिस्टम भएको ठाउँमा पैदलयात्रीले नियम मिचेमा ४०० दिराम जरीवाना। ती जरीवाना ठाउँका ठाउँ चाहिँ तिर्नु नपर्ने।

फुर्सदमा गएर सम्बन्धित कार्यालयमा तिरे हुने। समयमा नतिरे अझै कडा कारबाही।

'पैदल यात्रीलाई कडा नियम छ, ध्यान दिएर बाटो काट्नु,' बेलुका नै भीम भाइले सतर्क गराएका थिए। यहाँ आइपुगेपछि काठमाडौंमा कुनै बेला जथाभावी बाटो काट्ने पैदलयात्रीलाई जरीवाना गराउने नियम बसालेका ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामालाई सम्झेँ। खै अचेल कता छन् उनी? पैदलयात्रीको यो नियम पनि उनको नाम नचले झै लागू छैन, काठमाडौंमा।

बिहानी बाटोमा सिरिरी तातो हावा चलेको छ। सडक सफा। बाटोमा मानिसहरु कोही नेपाली मुलका जस्तै, कोही फिलिपिन्स अनि कोही अमेरिकी त कोही चाहिँ आफ्रिकन जस्तै। दायाँबायाँ आकाशे भवन बन्दै छन्। तर, तिनबाट चर्को आवाज आइरहेको छैन। न कतै धुलो, धुवाँ नै।

बिस्तारै फर्केँ सिटी म्याक्सतिरै। अलिकति अगाडि इमिरेट्स मल। मलभित्र पस्ने गाडीको लस्कर देखेर अचम्मै लाग्यो। सायद न्युरोड असन र ठमेलतिर एकैचोटी पनि त्यति गाडी पस्दैन जस्तो लाग्यो।

फराकिला र सफा सडक हेरेरै मन अघाइरहेको छ। मन अघाए पनि शरीरलाई त केही खुवाउनु नै छ। होटलको खान अलि महँगै देखेर बाहिर क्याफे खोज्दै छु।

हिजो विमानस्थलबाट सिटी म्याक्समा आउँदा एकतर्फी सडक नै ६ लेनको देखेको थिएँ। अनि दोहोरो १२ लेन। त्यसपछि पनि उता कति चौडा!

सडकका पेटीमा रेस्टुरेन्ट थिए। तिनमा बिहानैबाट प्रशस्त ग्राहकहरु।

अनि लागेँ छेवैको क्याफे - अल अमोर एक्स्प्रेसमा। मेनु हेरेँ, यहाँ पनि त महँगै रहेछ। दिराम त मसँगै थोरै थियो। उही काठमाडौंको विमानस्थलमा साटेको। अनि सोधे, 'डलर चल्छ?' वेटरले मेनेजरलाई सोध्नुपर्छ रे! जवाफ आयो - डलर त चल्दैन। तर साटेर ल्याउन सक्छु। भएकै दिरामले काम चलाउने आँट गरेँ, अनि भने 'नो प्रब्लम।'

बिफ लिभर स्यान्डविच, फ्रेन्चफ्राइ र एउटा चिया मगाएँ। १७ दिराम पर्ने रहेछ सबैको। हाम्रो तिर त रेस्टुरेन्टमा ग्राहकलाई सबैभन्दा पहिले पानी सर्भ गरिन्छ सित्तैमा। यहाँ त सानो बोतलको पानीलाई पनि २ दिराम। कालो चियाको ४ दिराम। कठै! कस्तो महँगो शहर।

त्यही बेला भीम भाइको कल आयो। ऊ मिडिया प्रडक्सन सिटीमा मलाई पर्खिरहेको रहेछ।

खाना खाएर ट्याक्सीमा आउन भन्दै थिए।

अब जानु छ, जहाँ भीम भाइ मलाई पर्खिरहेका छन्। मैले उबरको मूल्य हेरेँ त्यहाँसम्म। ३६ देखि ५० दिरामसम्म पर्न आउने रहेछ। उबर तान्न खोजेको क्रेडिट कार्ड खोज्यो। कार्ड थिएन।

हिँडेर जाउँ कि भन्ने तयारी पनि थालेको तर ४ घन्टा लाग्ने पो देखायो।

होटल पुगेर तल ट्याक्सी पार्कमा ओर्लेँ। मैले जानुपर्ने ठाउँ देखाएँ। कति पर्छ - सोधेँ। ती चालक पाकिस्तानी हुनुपर्छ। किनकि मलाई हिजै भीमले भनेका थिए धेरै चालक पाकिस्तानी हुन्छन्। अनि भन्दै थिए- यिनीहरुले फनफनी घुमाएर मिटरमा पैसा चढाउन पनि सक्छन्।

चालकले मिटरमा जाउँ भने। २/४ दिराम त फरक हुन्छ है भने उनले। मैले हुन्छ भनेँ। गुगल म्याप अन गरेर जाने ठाउँको डाइरेक्सन सेट गरेँ, उसले फनफनी घुमाइदेला भन्ने डरले।

ट्याक्सी गुड्यो। गुगलले भनेजस्तै गरी पुर्‍यायो। अनि पैसा पनि कम आयो - ३५ दिराम। मसँग अघि खाजा खाएकाले दिराम सकिएको थियो। भीम भाइले पैसा तिरिदिए।

हामी त्यसपछि लाग्यौ लगोभिस्ता टावर ‘डी’ मा। तीनवटा लिफ्ट रहेछन्। हामीले एउटा रोज्यौ। १० नम्बर थिचे भाइले। अनि पुगियो १०१० नम्बरको कोठामा।

भित्र पसेँ। भित्र दुई तल्ले बेड, तीनवडा बेड रहेछन्। कोही सुतिरहेका थिए भने कोही काम गर्न जाने तयारीमा। मलाई देखेर कसैले नमस्कार गरे। कसैले हात मिलाए।

यही फेरि खाना खाने तयारी भयो। खाना पकाउने ग्यास प्रधानमन्त्री ओलीले भनेजस्तै पाइपबाट आउनेरहेछ यहाँ। पानीको व्यवस्था त्यतिकै राम्रो।

खानापछि केही पर क्यालिफोर सुपरमार्केट रहेको ठाउँतिर लाग्यौं। त्यहीँ रहेछ म्याक्स फेसन, भाइ त्यही सुपरभाइजर छन्।

त्यहाँ उनले मेरा लागि कपडा छानिदिए। जुत्ता छानिदिए।

अनि हामी फेरि उही लगोभिस्ता टावर डीमा फर्क्यौ। रातिको ड्युटी परेकाले भीम भाइ सुत्न पाएका थिएनन्। मलाई भने घुम्नुको चमचम थियो।

त्यसैले हामी दुबई मल जाँदै छौं। तल ओर्लेँ। यहाँ त बस चढ्न रेल चढ्न पनि कार्ड चाहिने।

रिचार्ज गर्न मिल्ने। मेरो लागि भाइले नै कार्डको व्यवस्था गरे। बसमा ३० मिनेट जतिको यात्रापछि पुगियो दुबई इन्टरनेट सिटी। त्यसपछि हामी मेट्रो रेलको यात्रामा लाग्यौं। विशाल सजावट। मेट्रो रेल १० वर्ष अघि नयाँ दिल्लीमा चढेको थिएँ। तर, त्यति स्वादिलो लागेको थिएन। यसपटकको मेट्रो रेल प्रवेशद्वार नै अजीवको लाग्यो।

मान्छे जानसाथ आफै खुल्ने ढोका, आफै बन्द हुने। भित्र पस्नसाथ कुन बेला रेल आइपुग्ने जानकारी सुन्न पाइने। भित्रको सफाइ पनि उस्तै। कार्ड शो गरेपछि इन्ट्री मानिँदो रहेछ।

कति व्यवस्थित। नेपालमा मेट्रो रेलको परिकल्पना भर्खरै गर्दैछौं। प्रधानमन्त्री ओलीले नेपालमा रेल र पानी जहाज आउँछ भन्दा हामी कागजको सानो डुंगा बनाएर उनको सपना उडाउने हैसियतमै छौं। किनकि नेपालमा कुनै परियोजना तोकिएको समयमा पूरा हुँदैन। दुई वर्षे परियोजना २० वर्षमा नसकिएका धेरै छन्। के हाम्रो हैसियत नै छैन विकासका लागि? यहाँ आइपुगेपछि मलाई लाग्यो- हामीसँग सपना नै छैन। मागेर खाने बानी परेको छ। हामीलाई आफ्नो खल्तीको त जोगाउनै मजा हुन्छ। कुहियोस बरु। कसैले चोरोस् वा कसैले ठगोस्, त्यतिमै रहेछौं हामी।

सोच्दासोच्दै हामी चढेको रेल दुबई मल अगाडि रोकियो। अनि हामी लाग्यौं दुबई मल। ठूलो अक्वेरियम हेरेँ। भित्र पस्ने मन थियो। तर, आज पहिलोपटक वाटर फाउन्टेन नै हेर्न सुझाए भीमले।

त्यसै गर्‍यौं।

वाटर फाउन्टेन अगाडि बुर्ज खलिफाको ठूलो टावर। त्यहाँ प्रकाशको अद्भूत कलाहरु देखाइरहने रहेछ। त्यही लाइट तल तालमा पनि चम्किने रहेछ। वरपर - इमार चेन होटल। त्यही होटलका लगानीकर्ताले बनाएका रहेछन् विश्वकै अग्लो टावर बुर्ज खलिफा।

गीतको तालमा प्रकाश!

अरु बाँकी के होला त? तुरुन्तै जवाफ आयो, 'यहाँ पानी नाच्छ दाइ।'

त्यही बेला भाइले भने, 'हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारी पनि यहाँको १५२ औँ तल्लासम्म पुग्नुभएको थियो। अनि नेपालको संविधान दिवसमा यहाँ नेपाली झन्डा फहराएको थियो।'

यही बेला इमार होटलको ठीक अगाडि रहेको तालको पानी आकाशतिर उछालियो, पाइप धाराले माथि फालिएजस्तै गरी। ती गीतका धुनमा मर्काइ मर्काई आकाशतिर फालिएको थियो।

पानीको नाच, बुर्ज खलिफामा प्रदर्शन भएको प्रकाश देखेर राष्ट्रपति विद्यादेवी भण्डारी सम्झेँ- राष्ट्रपति कात्तिकको अन्तिम सातामात्र यहाँ आइपुगेकी रहिछिन्।

अनि भन्न मन लाग्यो - विदेशमा यस्तो प्रगति हेर्नुहुन्छ। आफ्नो देशमा विकास नहुँदा कस्तो लाग्छ तपाईँलाई?

रानी पोखरी बन्न सकेको छैन। धरहराको हालत उस्तै छ। साँस्कृतिक क्षेत्रहरुको अवस्था त्यस्तै छ।

केही समय अघिसम्म विदेशमा रहेका नेपालीहरुको सामाजिक सञ्जालका स्टाटस देशका नेताहरुप्रति वितृष्णाले भरिएका हुन्थे। त्यतिबेला लाग्थ्यो - विदेशिएकाहरु अबुझ हुन्। तर, जब दुबईको विकासको रफ्तार देखेँ। सपनाको बाटोमा तिनका पाइला देखेँ। अनि लाग्यो तिनका स्टाटस सहि छन्। ती त सकारात्मक सुझाव रहेछन्। शासकहरु सुध्रियुन भनेर आलोचनात्मक सुझाव दिएका रहेछन्। मैले यही सम्झेँ। तर, तिनै सुझावलाई देखाउँदै सरकारका मन्त्रीहरु भन्छन् – दुई तिहाईलाई हेप्नी काम भइरहेको छ।

यही वाटर फाउन्टेन हेर्न अमेरिका, बेलायत, जर्मनी, फ्रान्सदेखि विश्वका शक्तिशाली मुलुकका नागरिकहरु आउने रहेछन्।

त्यो वाटर डान्स हेर्नेको भिड देखेर मन त्यसै त्यसै उद्वेलित भयो। हाम्रो त सरकारले के गरेको छ? भिजिट नेपालको बाजा बजाएर नेपाल आउ भन्छ। के हेर्न आउने? काठमाडौंको धुलो? भत्केका सडक? जीर्ण सम्पदा?

धेरै बेर 'वाटर डान्स' हेर्‍यौं। यो कल्पनाको दुनियाँ। 'ड्रिम्स कम ट्रू' भन्ने कुरा। पहिले हाम्रा पूर्खा कति कल्पनशील थिए। तिनले ब्रम्हाका चार टाउका देख्दे, रावणका दश। अर्जुन एक्लैले युद्ध लडेर कौरवहरुलाई सकाउँथे। पछिल्लो समय यथार्थवादी कुरा आयो। आन्दोलन भयो। संसार यथार्थ हो भनी सिकायो। कल्पनशील कुरालाई उनीहरुले बिर्को लगाउने कोसिस गरे। तर, आज हेर त कल्पना गरेकाहरुले कसरी खलिफा टावर बनाए? कसरी मध्यरातमा पानीलाई नचाइरहेका छन्? हाम्रो देशमा कति झरना छन्। तिनलाई हाम्रो कसैको खर्चमा नचाइरहनु पर्दैन ती आफै आफ्नै धुनमा नाच्छन्। तिनमा अलिकति सुगन्ध मिसाइदिए कति स्वादिलो ठाउँ हुने थियो। तर, तिनका कम्मरमात्र हैन ढाडै भाँच्ने तयार हुन्छन् हाम्रा विकासे शासक।

अहिले हामी अब विस्तारै खलिफाको भवन पछाडि भएर आउँदै छौं। पछाडि त्यस्तै झिलिमिली। सडकमा कतै पनि तार जोडिएका खम्बा छैनन्। तर, बत्तीहरु झलमल। भित्रैभित्रैबाट बिजुलीको पास। अनि हाम्रो देश सम्झेँ। लक्ष्मी पूजाका दिन बत्ती बाल्न पाउँदा हामी अब कुलमान घिसिङलाई भगवान मान्ने भएका छौं। अहिले त लक्ष्मीपछि कुलमान नै हुन् लक्ष्मी पूजामा पूजिने।

तर, यहाँ झिलिमिलि हुन कुनै लक्ष्मी पूजा कुर्नु नपर्ने रहेछ। प्रधिकरणका हाकिम बत्ती बाल्न स्टेसन धाइरहनु नपर्ने रहेछ। बिहानको १ बज्दै थियो।

यो यात्रामा हामी केही बेर हिँड्यौं। कति उज्यालो रातै नपर्ने शहर। कोही भर्खरै उठेर कामतिर हिँडिरहेका। कोही भर्खरै काम सकेर सुत्न हिँडिरहेका। कोही सडक सफा गरिरहेका। हामीले २ बजेतिर रेल समात्यौ। शुक्रबार भएकोले २ बजे बिहानसम्म रेल चलेको रहेछ। उही दुबई इन्टरनेट सिटी पुगेर बस समात्यौं। तीन बजेतिर १०१० रुममा आइपुगियो र नेपाली खान खाएर बिहानै ‘गुड नाइट’ भनियो।

सम्बन्धित समाचार

दैनिक १६ सय युवाले देश छोड्छन्, भिजिट नेपाल २०२० मा पर्यटकलाई कसले गर्ने स्वागत? {दुबई डायरी १}



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell