
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग शनिवारबाट शुरु भयो। सबै कुरा योजनाअनुसार नै भयो सिवाय ‘लोकेसन’। लिगको उद्घाटन नै दशरथ रंगशालामा गर्ने तयारीमा थियो एन्फा। तर, उद्घाटन हुने दिन बिहान एउटा सूचना निकाल्दै ‘अनप्लेएबल फिल्ड कन्डिसन’ भएकाले दशरथ रंगशालाबाट लिग पोहोरकै ठाउँमा पुगेको सूचना थियो त्यो।
बल्ल बल्ल बनेको दशरथ रंगशालामा कसरी ‘अनप्लेएबल फिल्ड कन्डिसन’ भयो? यसलाई बुझ्न शुक्रवारको रंगशालाको गतिविधिमा फर्कनु पर्ने हुन्छ। शुक्रवार दशरथ रंगशालामा नेपाल निलो र जापानी लिगका खेलाडीहरुबीच मैत्रीपूर्ण खेल थियो। मौसम त्यसदिन काठमाडौं लगायत देशभर बिग्रएको थियो। एकदमै चिसो थियो। पानी परिरहेको थियो।
यतिकैमा खेल शुरु भयो। वर्षाले हो या अन्य कुनै कारणले दर्शकहरुको उपस्थिति शुन्यप्राय थियो। पानी अझ ठूलो पर्न थाल्यो। रंगशालामा बसेर खेल हेर्न सक्ने अवस्था लगभग थिएन। भिआइपी तर्फको प्यारापिटमा माथिबाट पानीको भल त्यहाँको सिँडी हुँदै तलसम्म बगिरहेको थियो। खोल्सोमा झै। माथि बसेका पत्रकारहरुसमेत ओर्लिएका थिए। खेलसकिँदासम्म त्यहाँ एकदमै थोरैको मात्र उपस्थिति थियो।
खेल मैदानको अवस्था पनि उस्तै थियो। तर पानी पर्दा खेल मैदान हिलो हुनु सामान्य मान्न सकिए पनि विशेषगरी भिआइपी पट्टीको प्यारापिटमा ओत लाग्ने अवस्था नहुनु र सिँडीबाटै यसरी पानी बग्ने अव्यवस्थित प्रणाली हुनुले भने प्रश्न उब्जाएको छ।
दक्षिण एसियाली खेलकुद आयोजना हुनुभन्दा अगाडिसम्म भिआइपी पट्टीको छानो धेरै चर्चामा रहेको थियो। त्यतिबेला सदस्य सचिवलाई सोधिने मुख्य प्रश्न नै ‘भिआइपी प्यारापिटमा छानो कहिले हाल्ने?’ र ‘हिटिङ स्विमिङ पुल कहिलेसम्म बनिसक्ला?’ भन्ने थियो। साग शुरु हुनुअघि अन्तिम समयमा बनेका पूर्वाधार नै यिनै थिए।
भिआइपी प्यारापिटको छानो चीनबाट ल्याउनु पर्ने थियो। सामान्य प्रकृयाबाट ल्याउन समय लाग्ने भएकाले महँगो भए पनि हवाइमार्गबाट ल्याइएको थियो। तर, शुक्रवारको झरीलाईसमेत त्यो छानोले थेगेन। त्यो दिन न हावा चलेको थियो, न त ठूलो झरी नै थियो।
शनिबार शहीद स्मारक ए डिभिजन लिगको उद्घाटनमा बोल्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले दशरथ रंगशालालाई विश्वकप छनोटको दोस्रो चरणको ‘होम गेम’ का लागि तयार गर्नु पर्ने भएकाले खेलस्थल सारेको बताए। विश्वकप छनोटका लागि अन्तर्राष्ट्रिय मापदन्डको मैदान चाहिने भएकाले खेल एन्फा कम्पलेक्समै सारिएको उनको तर्क थियो।
हुन पनि यसअघि कुवेतसँगको होमगेम दशरथ रंगशालामा मापदन्ड नपुगेकै कारण भुटान सरेको थियो। सबै अवे गेम खेलिसकेको नेपालले अब ‘होम गेम’ मात्र खेल्न बाँकी छ। त्यसका लागि पनि मापदन्ड पुर्याउन सकस त छ नै एन्फालाई। रंगशाला बनेपछि पनि फेरि एएफसीले मानिदिएन भने भुटान गुहार्ने अवस्थामा पक्कै जान चाहँदैन नेपाल। तर, बिहानै एन्फाको अधिकारिक पेजमा ‘अनप्लेएबल फिल्ड कन्डिसन’ भएकाले खेल सारिएको नोटिस आउनु, शुक्रबारको खेल चलिरहँदा प्यारापिट र मैदानको त्यो अवस्था हुनु र विश्वकप छनोटको प्रसङ्ग आउनु कतै न कतै विरोधाभास पूर्ण भने देखिन्छन्।
चाहे जे होस, काठमाडौंको मौसम पनि धन्न साग सकिएर मात्र विग्रिएछ भन्ने अवस्था देखिएको छ। सागको फाइनलका दिनको त्यो पाइला राख्ने ठाउँसमेत रंगशालामा पानी परेको भए के हुने रहेछ भन्ने नेपाल निलो र जापानी लिग टिमको खेलकै दिन देखिइसकेको छ। त्यही भएर होला दशरथ रंगशालामै हुने भनिएको जापानी टिम र शहीदस्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याडदी क्लवबीचको खेल पनि एन्फा कम्पेक्समै सारिएको छ - आइतवारलाई।
चीनबाट हवाइमार्गबाट सकस गरेर ल्याएको छानोले त छानोको काम गर्नु पर्ने हो नी? सोझो हिसाबले हेर्दा पनि। तर त्यसो भएन। लिग पनि सरेको छ, अब रंगशालामा हुने ठूला खेलको तयारीलाई देखाउँदै। तर, नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेइ जस्ता टिमसँग खेल खेल्दा दर्शको उपस्थिति त सागमा भन्दा कम पक्कै नहोला। त्यतिबेला पानी पर्यो भने के होला? बल्लबल्ल पुनर्निर्माण भएको रंगशाला कति दीर्घकालिन सोचले बनाइएको छ त?