PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ जना घाइते



रासस

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, १७ जना घाइते
फोटो : राजन बस्नेत।

मेलम्ची : दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेको हो।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ। दोलखा भीमेश्वरी नगरपालिका-४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको हो।

लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका-६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए। घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए।

दुर्घटनामा १७ यात्रु घाइते भएका छन्। घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। शनिवार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell