PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आराम गरिरहेका ओली सचिवालय बैठकमा, 'स्वास्थ्यका कारण पुरा समय बस्नुभएन' : कस्तो छ प्रधानमन्त्रीलाई?



कुञ्जरमणि भट्टराई

आराम गरिरहेका ओली सचिवालय बैठकमा, 'स्वास्थ्यका कारण पुरा समय बस्नुभएन' : कस्तो छ प्रधानमन्त्रीलाई?
फोटो : रासस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि आज स्थायी कमिटी बैठक बस्दैछ। पार्टीको विधानअनुसार तीन महिनामा बैठक बस्नुपर्ने पनि भएपनि  एक वर्ष पछि बैठक बस्न लागेको हो। 

दुई अध्यक्षको कार्यविभाजन गर्दा कार्यकारी अधिकार पाएका पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंसिर २३ गते अध्यक्षतामा बसेको बैठकले आजका लागि स्थायी कमिटी बैठक डाकेको हो।

एपेन्डिसाइटिसको अप्रेसन गरेपछि आराम गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण पछिल्ला दुई सचिवालय बैठकमा सहभागी भएनन्। तर, ओली स्थायी कमिटी बैठकको एजेन्डा तय गर्नका लागि आज बिहान बसेको सचिवालय बैठकमा सहभागी भए।

२८ गते बस्ने तय भएको बैठक स्थायी कमिटीको कार्यसुचीको तयारी पूरा नभएको भन्दै आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

सचिवालय बैठक केन्द्रीय कार्यलयमा बस्ने तय भएपनि प्रधानमन्त्रीले बैठकमा सहभागी हुने इच्छा राखेपछि बालुवाटारमा बसेको बुझिएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केही बेर बैठकमा सहभागी भएको जानकारी दिए। वरिष्ठ नेता तथा सचिवालय सदस्य झलनाथ खनालका अनुसार प्रधानमन्त्री ओली १५ मिनेट बैठकमा सहभागी भएका थिए।

खनालले भने, 'बैठकमा हामी लगभग आधा घण्टा बस्यौं। प्रधानमन्त्री १५ मिनेटजति सहभागी हुनुभयो।'

सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको छ। जसमा प्रधानमन्त्री ओलीको सल्लाहमा प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन रहेको छ। त्यस्तै नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनका लागि विधान संशोधनको प्रस्ताव गर्ने तयारी छ। उता बैठकमा एकपटक पनि बस्न नसकेको केन्द्रीय कमिटीको बैठकका विषयमा छलफल गर्ने तथा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्याको विषयमा छलफलको तयारी गरेको छ नेकपाले। अन्य केही बिषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री नजाने

एक वर्षपछि बस्न लागेको बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहभागी भएका प्रधानमन्त्री ओली बैठकमा भने सहभागी नहुने भएका छन्।  प्रधानमन्त्री बैठकमा सहभागी नहुने नेता खनालले जानकारी दिए। दुइ दिन चल्ने बैठक प्रचण्डले चलाउनेछन्।

एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर प्रधानमन्त्री मंसिर १९ गते बालुवाटार फर्किए। यता मंसिर २३ गते मन्त्रिपरिषद् बैठक बोलाएका थिए। त्यसयता प्रधानमन्त्री आराम गरिरहेका छन्।

प्रधानमन्त्रीको ब्रिफिङ : स्वास्थ्यमा तीव्र सुधार

आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका थिए। बैठकको निर्णय सुनाउने क्रममा पार्टी प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको भन्दै शीघ्र स्वाथ्य लाभको कामना गरिएको जानकारी दिए।

उनले भने, 'अध्यक्ष कमरेडले आफ्नो स्वास्थ्य स्थिति तीव्र रुपमा सुधार हुँदै गएको जानकारी गराउनुभयो। बैठकले उहाँको स्वास्थ्य स्थिति तीव्र रुपमा सुधार हुँदै गएकोमा खुसी प्रकट गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ। पूरै समय बैठकमा बस्नुभएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell