PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाको राजनीतिक प्रतिवेदन : महाधिवेशनको प्रस्तावदेखि आत्मालोचनासम्म, १६ पृष्ठमा यी विषय पनि समावेश



कुञ्जरमणि भट्टराई

नेकपाको राजनीतिक प्रतिवेदन : महाधिवेशनको प्रस्तावदेखि आत्मालोचनासम्म, १६ पृष्ठमा यी विषय पनि समावेश

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ। ठ्याक्कै एक वर्षपछि पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदन पेश गरेका हुन्। बैठकमा भोलिबाट एजेन्डामाथि छलफल हुनेछ।

के छ राजनीतिक प्रतिवेदनमा ?

सीमा समस्या समाधानको पहल गरेका छौं

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा सीमा विवादबारे उल्लेख छ। प्रतिवेदनमा भारतसँग मिचिएको भूमि फिर्ता लिन पहल सुरु गरि सकिएको दाबी गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, 'हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कुटनैतिक सम्बादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल शुरु गरिसकेको छ। हाम्रो पार्टी र सरकारले सुगौली सन्धीअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ।'

 

उपनिर्वाचनको हारले पार्टीलाई विशेष धक्का पुग्यो, उत्साहित हुने ठाउँ छैन

प्रतिवेदनको ५ नम्बर उपशीर्षकमा उपनिर्वाचनको समीक्षा गरिएको छ। नेकपाले उपनिर्वाचनमा नेकपाले क्षति बेहोर्नुपरेको केही स्थानको समीक्षा गर्दै पार्टीलाई विशेष धक्का पुगेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, 'स्थानीय तहमध्ये धरान उपमहानगरपालिका पराजय र चितवन जिल्लामा मुख्यतः भरतपुर महानगरपालिकाको १६ नं. वडामा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ।'

संख्यात्मक रुपमा उपनिर्वाचनमा सफलता मिले पनि यथार्थमा उत्साहित हुने ठाउँ नभएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, '२०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) र तत्कालिन नेकपा (माओवाद केन्द्र) आपसमा प्रतिष्पर्धा गरेको अवस्था थियो। अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्न पर्ने थियो। त्यसमाथि प्रदेश सभाकै एक स्थान पनि हाम्रो हातबाट गुम्नले परिणामलाई गम्भीरतापूर्वक लिनपर्ने बनाएको छ। आमरुपमा यो परिणाम पार्टीका लागि उत्साहप्रद विल्कुल रहेन। बरु यो परिणामलाई पार्टी र 'सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी छ।'

२०७७ को अन्यसम्ममा पार्टी महाधिवेशन

अध्यक्षद्वयले आगामी माघको पहिलो साता केन्द्रीय कमिटीको आयोजना गर्न प्रस्ताव गरेका छन्। प्रतिवेदनमा पार्टीको आगामी योजनाको सन्दर्भमा केन्द्रीय समितिको बैठकबाट ३ महिने ठोस कार्यक्रम निधारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने उल्लेख छ।

आज प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।'२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने, प्रतिवेदनमा भनिएको छ।

स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने कुरामा पार्टीले नेतृत्वदायी भूमिका खेल्ने बताइएको छ।

'श्रम उत्पादन कार्य, र जन-सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न  हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना-ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ।'

अधिनायकवादीले झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी

राष्ट्रिय राजनीतिको विषयमा प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका उल्लेख गरिएको छ।

'लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरू आज पनि अन्यौल र अस्थिरता सिर्जना गर्न “कसरत" गरिनैरहेका छन्। देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट पार्टी माथि अधिनायकवादीको झुठो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन्। '

'निरंकुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तन बिरोधी यथास्थितिवादी शक्तिहरू विभिन्न रुप र रंगका साप्रदायिक एवम् अतिवादी तत्वहरूलाई, कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिल्कुल पचेको छैन। अतः यस्ता तत्वहरू आफ्नो वर्ग चरित्र अनुसार अँध्यारो कोठाहरूमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन्। उनीहरूका भ्रम र षडयन्त्रलाई सम्पूर्ण रुपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरू सजगता पूर्वक एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ,' प्रतिवेदनमा थप भनिएको छ, 'हामीले इतिहासको यो शिक्षालाई दह्रोसँग पक्डनु पर्दछ कि प्रत्येक क्रान्ति पछि पराजित वर्गले बषौसम्म प्रतिक्रान्तिको प्रयास गरिनैरहन्छन्। यसलाई अन्तिम रुपले परास्त गर्न परिवर्तनकारी शक्तिहरूले आफ्नो सजगता झन बढाएर लानु पर्ने हुन्छ।'

पार्टीको रणनैतिक लक्ष्य समाजवाद, तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख 'जनताको जनवाद'

पार्टी एकता सुदृढकरणको विषयमा पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनुपर्ने उल्लेख छ।

मार्क्सवाद-लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्माको ज्ञानका लागि आवश्यक परिक्षा प्रणाली समेत अपनाउनु जरुरी रहेको प्रतिवेदनमा भनिएको छ।

पार्टीको रणनीतिक लक्ष्य समाजवाद तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख 'जनताको जनवाद' हो भन्ने कुरा स्पष्ट गर्न जरुरी रहेको बताइएको छ।

भनिएको छ, 'पार्टीको राजनैतिक प्रतिवेदन र विधान बारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बझाईमा एकरुपता ल्याउन जरुरी छ। आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख 'जनताको जनवाद' हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ।'

सरकारको कामको प्रचार गर्न सकिएन

नेकपाको प्रतिवेदनमा सरकारका कामहरूको समिक्षा गरिएको छ। सरकारले गरेका कामको व्यवस्थित रुपले प्रचार गर्न नसकेको प्रतिवेदनमा लेखिएको छ।

'लामो समयसम्म पार्टी कमिटिहरूको अभावले गर्दा न सरकारले गरेको राम्रा कामहरूको व्यवस्थित रुपले जनतामा प्रचार हुन सक्यो न सरकारलाई कमिकमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका नै खेल्न सक्यो। ढिलै भएपनि अब पार्टी एकता प्रक्रियाले पूर्णता पाएको छ। विभिन्न स्तरमा पार्टी कमिटिहरू क्रमशः क्रियाशील हुन थालेका छन। आउँदा दिनमा पार्टी र सरकारका कामहरूका बीचमा आपसी समन्वयमा सुधार भई दुबैको प्रभावकारितामा बद्धि हुने अपेक्षा गरिएको छ। '

प्रतिवेदनमा सरकारले अनेकौं जटिलता, चुनौति र प्रतिकुलताका बाबजुद संविधान कार्यान्वयन, विकास, निर्माण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक वृद्धि र वैदेशिक सम्बन्ध विस्तार आदि जस्ता मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पनि बताइएको छ।

पार्टीमा गुट झांगियो, पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढे

पार्टी एकता प्रक्रियामा भएको ढिलाइ स्वीकार गर्दै पार्टीमा गुट झाँगिदै गएको बताइएको छ। पार्टी संस्थागत रुपमा चल्न नसकेको समेत प्रतिवेदनमा उल्लेख छ।

'पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको छ। पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन्। पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन्,' यसबारे प्रतिवेदनमा भनिएको छ, 'पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ। अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell