1.jpg)
डोटी : हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ। डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क स्थापित भएको जानकारी दिए।
शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोबार ठप्प भएको थियो।
हिमपातका कारण यहाँको जनजीवन भने प्रभावित नै बनेको छ। हिमपातसँगै बढेको चिसोले ससाना बालबालिका तथा वृद्धवृद्धमा निमोनिया, रुघाखोकी, दम, ज्वरोलगायतका विभिन्न रोगले सताउन थालेको जोरायल गाउँपालिका ५ का प्रकाश रावलले जानकारी दिए। रासस