
वीरगंज : शहरी विकास डिभिजन कार्यालयको एक अर्ब ७० करोडको बजेटमा वीरगंज महानगरपालिकाभित्र निर्माण भइरहेको सडक आयोजनाको काम कछुवाको गतिमा भइरहेको छ। महानगरका विभिन्न वडालाई जोड्ने सडक योजना डेढ वर्षअघि सुरु भएको थियो। सडक ५४ किलोमिटर लम्बाइको छ।
२४ महिना समयावधि रहेको सडक सञ्जाल आयोजना आगामी असार मसान्तभित्र पूरा गर्नुपर्नेछ। ५४ किलोमिटरमध्ये २७ किलोमिटर वीरगंजको पप्पु कन्सट्रक्सनलाई परेको थियो। २७ किलोमिटर महावीर कन्सट्रक्सनलाई परेको थियो। दुबै ठेक्का ८५/८५ करोड रुपैयाँको थियो।
आयोजना अन्तर्गत पप्पुले ३५ र महावीरले ३० प्रतिशतको हाराहारीमा मात्र काम पूरा गरेका छन्। पप्पुका प्रबन्ध निर्देशक सुमित रौनियारले विभिन्न कारणले सडकको काम सोचेअनुरुप अगाडि बढन नसकेको बताए। उनले बस्ती खाली नगराउँदा तथा विद्युतका पोल नसार्दा काम समयमा हुन नकसको बताए।
स्थानीय जनप्रतिनिधिले बस्ती खाली गर्न सहयोग नगरेको ठेकदारको आरोप छ।
वीरगंज महानगरले दुई पटक बैठक बसेर सडक निर्माण कार्य सहज पार्ने प्रतिवद्धता गरेको थियो। तर, प्रतिवद्धता अनुसार काम भएको छैन।