
काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको छ।
शुरुवाति ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। ११८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा सीमित भयो।
धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाउँदा श्रीमन्था विजेयेरात्नेले २५ बनाए। त्यस्तै रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२ रन तथा मञ्जित श्रेष्ठले ११ रन बनाए। यसबाहेक अरु ब्याट्सम्यानहरु चल्न सकेनन्।
विराटनगरका लागि सहाब आलमले ३ विकेट लिँदा नोमन खानले २ विकेट लिए। त्यस्तै किशोर महतो, पुनित मेहेरा र मोहम्मद आलमले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मोहम्मद आलम र दीलिप नाथ रन नजोड्दै पभेलियन फर्किएपछि विराटनगर शुरुमै दबाबमा आएको थियो।
विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाउँदा सुनिल धमलाले १८ रन, पुनित मेहेराले १५ रन तथा नोमन खानले ११ रन जोडे। त्यस्तै कप्तान प्रदीप ऐरीले १० रन जोड्दा त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बिराटनगरलाई सस्तैमा समेट्न धनगढीका कप्तान दीपेन्द्र सिहं ऐरीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै सागर ढकालले २ विकेट तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १/१ विकेट लिए।
आजै हुने दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियरले वुटवल ब्लास्टरको सामना गर्नेछ।
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहेको छ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारियर्स र धनगढी ब्लुज छन्।