PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ग्रामीण भेगका शिक्षकलाई शहर मोह : वीरगंजमा मात्रै थुप्रिए ४० प्रतिशत शिक्षक



राधेश्याम पटेल

ग्रामीण भेगका शिक्षकलाई शहर मोह : वीरगंजमा मात्रै थुप्रिए ४० प्रतिशत शिक्षक

वीरगंज : पर्साको ग्रामीण भेगका लागि नियुक्त भएका सरकारी शिक्षकहरु शहरतिर सर्ने क्रम बढेको छ। गाउँभन्दा शहरमा सुविधा पाउने लोभमा अधिकांश ग्रामीण भेगमा नियुक्ति पाएका शिक्षक पनि बिस्तारै शहरमा सरुवा गराइ आउने गरेको पाइएको छ।

पर्साको ग्रामीण भेगका कैयौँ विद्यालयमा अहिले सरकारी शिक्षकको अभाव छ। विषयगत शिक्षककै अभावमा केही दिनअघि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका विद्यार्थीहरूले विरोध प्रदर्शन गरी धोबिनी गाउँपालिका तोडफोडसमेत गरेका थिए।

भिखमपुर विद्यालयका निमित्त प्रधानाध्यापक अशोक साहले बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा अहिले १ हजार १ सय विद्यार्थी रहेको बताउँछन्। तर विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी नरहेको उनले दुखेसो पोखे।

सरकारको नियम अनुसार ५० जना विद्यार्थीलाई पढाउन एकजना शिक्षक हुुनुपर्छ। तर भिखमपुर माविमा अहिले ११ जना शिक्षकले अध्यापन गरिरहेका छन्। मावि तहमा विषयगत शिक्षक नहुँदा प्रावि र निमावि तहका शिक्षकबाट जेनतेन पठनपाठन गराउनुपरेको उनले गुनासो गरे। जिल्ला समन्वय समिति तथा धोबिनी गाउँपालिकाका शैक्षिक शाखामा पटकपटक शिक्षक माग गर्दासमेत शिक्षक पदपूर्ति हुन नसकेको उनले बताए।

धोबिनी गाउँपालिकाकै वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोडदौड पिपराको अवस्था पनि शिक्षक अभावमा दयनीय बनेको छ।

कक्षा ५ सम्म अध्यापन हुने विद्यालयमा एक प्रधानाध्यापक र बालविकास शिक्षिकाको भरमा विद्यालय चलिरहेको अभिभावकहरूले बताएका छन्। बहुदरमाई नगरपालिकाको देवराज देवनन्दन मावि पनि नगरपालिकाको एकमात्र प्लस टुसम्म चल्ने नमूना विद्यालय हो। तर त्यहाँ पनि पर्याप्त मात्रामा शिक्षक नहुँदा पठनपाठनमा निकै समस्या हुने गरेको प्रधानाध्यपाक मनोज श्रीवास्तवले बताए।

उनले मावि तहमा एकजना मात्र शिक्षक रहेकोले तल्लो तहका शिक्षकबाट जसोतसो काम चलाइरहेको बताए। वीरगंज महानगरको ३१ नम्बर वडा बेल्वास्थित कोन्हिया माविका प्रधानाध्यापक देवशरण यादवका अनुसार कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा साढे ५ सय विद्यार्थी अध्ययनरत रहेकामा २२ जना शिक्षक आवश्यक रहेकोमा जम्मा ९ जना शिक्षक मात्र छन्।

जिल्लाका ४० प्रतिशत शिक्षक वीरगंजमा थुप्रिएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव बताउँछन्। उनका अनुसार जिल्लामा मावि ५६ र प्रावि/निमावि २४३ गरी ३५८ वटा विद्यालयमा बालविकास सहजकर्तासहित जम्मा २ हजार २ सय शिक्षक कार्यरत थिए। जसमध्ये २०० जना अस्थायी शिक्षकले अवकाश पाएपछि शिक्षक सेवा आयोगबाट ५५ जनाले नयाँ नियुक्ति लिएर आए पनि डेढ सय सिटको दरबन्दी अहिले पनि रिक्त रहेको अध्यक्ष यादवले बताए। साथै पर्साका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीको संख्यामा करिब डेढ सय शिक्षक आवश्यक रहेको उनले बताए।

उनले शिक्षा विकास तथा समन्वय एकाइ पर्साले तत्काल शिक्षक दरबन्दी मिलान गरी १४ वटा स्थानीय तहमा विद्यार्थी संख्याको तुलनामा शिक्षक दरबन्दी कायम गर्न भूमिका निर्वाह गर्नेतर्फ पहल गर्न आग्रह गरे।

शहरभन्दा बढी गाउँमा विद्यार्थी भए तापनि गाउँमा शिक्षकको आकर्षण नभएकोले ग्रामीण भेगका बालबालिकाको भविष्यसँग खेलवाड भइरहेको उनले आरोप लगाए। वीरगंजको सिद्धार्थ, त्रिजुद्ध, नृसिंह, सुरजीदेवी, माईस्थान विद्यापीठ, श्रीपुर मावि, पन्नालाल मावि, रेलवे मावि, नगवा माविलगायतका विद्यालयमा शिक्षकको संख्या आवश्यकताभन्दा बढी रहेको छ।

प्रावि तहमा शहरमा विद्यार्थी कम भए तापनि अत्यधिक शिक्षक थुपरिएको गुनासो छ। सिद्धार्थ मावि चिनीमिलका प्रधानाध्यापक राजेश पाण्डेका अनुसार शहर अथवा गाउँका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक पदपूर्ति हुन नसकेकोले जताततै शिक्षक अभाव छ। सिद्धार्थ माविमा १ हजार ९ सय विद्यार्थी अध्ययनरत रहे तापनि जम्मा ४२ जना मात्र शिक्षकबाट पठनपाठन भइरहेको उनले बताए।

त्यहाँ मावि तहमा प्रत्येक कक्षाका चारवटा सेक्सन छन्। शिक्षक महासंघले ग्रामीण भेगमा शिक्षक संख्या बढाउन स्थानीय तहले शिक्षकको सेवा सुविधाको बारेमा विचार गरी आकर्षण बढाउनुपर्ने सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell