PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

आज कुनै दुर्घटना भएन र मानिस मारिएनन् भने मंसिरमा दुर्घटनाबाट मर्नेको संख्या २४५



सविन ढकाल

आज कुनै दुर्घटना भएन र मानिस मारिएनन् भने मंसिरमा दुर्घटनाबाट मर्नेको संख्या २४५

काठमाडौं : आज मंसिरको अन्तिम दिन। आज कुनै दुर्घटना भएन र एक जनाले पनि अकालमा ज्यान गुमाउन परेन भने यस महिना २ सय ४५ जना सूचीकृत हुनेछन् - सडक दुर्घटनामा मर्नेहरुमा।

यो संख्याले तपाईँलाई अत्याउन सक्छ। मंसिरमा दैनिक ८ जनाको दरले अकालमा ज्यान गुमाउन वाध्य रहे, सडक दुर्घटनाका कारण। मानिसहरुले यसरी अकालमा ज्यान गुमाइरहँदा किन यतातिर बहस गर्नेहरु जुटेका छैनन्?

'लामो दुरीको यात्रामा रहेका सवारी गुड्ने समयमा एकचोटी ट्राफिक प्रहरीले चेक गर्नुपर्‍यो नि,' आइतवार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बाहिर आफ्ना घाइते विरामी कुर्दै गरेका बौतहरि लामा भन्दै थिए। उनको कुरा सुनोस् कसले?

आइतवार बिहानमात्र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलोमा बस दुर्घटनामा पर्‍यो। कालिञ्चोक दर्शन गरी फर्केका यात्रु रहेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो भने १७ जनाभन्दा बढी घाइते भए। लामाका ज्वाइँ पनि बसमा नै सवार थिए। अहिले उनको पनि उपचार भइरहेको छ।

बसका चालक भने अझै फरार छन्। चालकलाई नियन्त्रणमा लिन नसक्दा र घाइतेसँगको बयानले मात्र दुर्घटनाको कारण खुलिसकेको छैन। धेरै घाइतेले बसका चालक सुमन तामाङ भएको प्रहरीलाई जानकारी दिएका छन्। तर, पुष्टि भइसकेको छैन। त्यस्तै दुर्घटनाको कारण पनि खुलेको छैन।

'यान्त्रिक र मानवीय त्रुटि नै देखिन्छ। तर, समिति गठन गरेर प्रतिवेदन नबुझाएसम्म यही हो भन्ने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनालले भने।

दोलखाको बाटो बढाउने नाममा भत्काउने काम भए पनि निर्माणको प्रकृया भने अघि बढेन। दुर्घटना हुनुमा सडकलाई दोष दिनेहरु कम छैनन्। दोष सडकको किन हुन्थ्यो? दोष त सडकको दुरावस्था बनाउनेहरुको हुनुपर्ने हो जसलाई कारवाही गर्न सरकार असफल छ।

त्यसमाथि दुर्घटनामा परेको बस त्यही रुटमा चल्ने गाडी भने होइन। चालु आर्थिक वर्षको दुर्घटनाको प्रहरी तथ्याङ्क केलाउने हो भने दैनिक देशभर ३७ वटा भन्दाबढी गम्भीर दुर्घटना हुने गरेको छ। यस्ता दुर्घटनामा हरेक दिन ८ जना मानिसले ज्यान गुमाइरहेका छन्।

एक महिना अघिमात्रै सिन्धुपाल्चोको सुकुटेमा १७ जना भन्दा बढीको ज्यान जानेगरी दुर्घटना भयो। दोलखाको मुडे देउरालीबाट काठमाडौं आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुन पुगेको थियो। बस सडकबाट सुनकोसी नदीमा खसेको थियो। त्यसमा भने दुर्घटनाको कारण चालकको लापरबाही नै देखिएको थियो। गल्ती चालकले गर्दा त्यसको भागिदार भने सर्वसाधारण हुनु पर्‍यो, अकालमा ज्यान गुमाएर।

मंसिर महिनामा मात्र देशभर भएका दुर्घटनामा ज्यान गुमाउनेको सङख्या २ सय ४५ पुगेको छ। चार सय भन्दा बढी यात्रु गम्भीर घाइते भएका कारण उपचार गराइरहेका छन्। त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङक हेर्ने हो भने दुर्घटनाबाट मृत्यु हुने मानिसको संख्या झनै अत्यास लाग्दो देखिन्छ। गत साउन महिनादेखि मंसिरसम्म १ हजार ४६ जनाले ज्यान गुमाइसकेका छन्, दुर्घटनामा। त्यस्तै २ हजार ९९ जना गम्भीर घाइते भएका छन्।

पछिल्लो समय ठूला बस दुर्घटना बढेको देखिन्छ। जनचेताको कमी र सडक अनुसाशन पालना नगर्दा पनि दुर्घटना बढेको पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन्।

'जति पनि जनचेतना र प्रहरीको कक्षा दुई पाङग्रे र शहर केन्द्रित चालकमा मात्र सीमित देखिन्छ,' हाछेथुले भने, 'तर ठूला गाडी चालकका कारण धेरैको ज्यान गइरहेको देखिन्छ।'

गएको साउन महिनामा १ सय ७९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। भदौमा १ सय ५५ जनाले दुर्घटनामा परी ज्यान गुमाए। अशोज महिनामा २ सय १० जनाको दुर्घटनामा मृत्यु हुन पुगे। कार्तिक महिना झनै बढेर २ सय ५६ पुगे दुर्घटनामा ज्यान गुमाउनेहरु।

प्रहरीको प्रतिवेदन अनुसार सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीले नै भएको देखिएको छ। उपत्यकाभित्रको दुर्घटनाको तथ्याङ्कले पनि चालक नै दुर्घटनाको दोषी देखाएको छ।

आर्थिक वर्ष २०६९/७० उपत्यकाभित्र ८ सय ७२ वटा बस दुर्घटनामा परे। त्यस वर्ष ४ हजार ७७० वटा सवारी दुर्घटना भएका थिए। जसमा ३ हजार ७ सय ७० वटा दुर्घटनामा चालकको लापरबाही भएको निष्कर्ष प्रहरी निकाल्यो। आर्थिक वर्ष २०७०/७१ मा चालकको लापरबाहीको कारण ४ हजार ५६ वटा सवारी दुर्घटना भए। दुर्घटनामा परी १ सय ४३ जनाले ज्यान गुमाए।

गत आर्थिक वर्षमा ८ हजार ५ सय ११ वटा सवारी दुर्घटना भएकोमा ७ हजार ५ सय २९ वटा दुर्घटना लापरबाहीकै कारण भएको देखिन्छ। जसमा सडकको अवस्थाको कारण तीन वटा मात्र दुर्घटना भएको प्रहरीको तथ्याङकले देखाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ३ सय ८१ वटा दुर्घटना भए जसमा ५ हजार ९ सय ६१ वटा दुर्घटना चालकको लापरबाहीको कारण भएको छ।

प्रत्येक वर्ष २ हजार भन्दाबढी यात्रु मारिन्छन्

देशमा प्रत्येक वर्ष सवारीको सङख्या थपिएसँगै दुर्घटनाको दर पनि उकालो लाग्दो छ। विगत पाँच वर्षको तथ्याङकले देशमा प्रत्येक वर्ष दुई हजारभन्दा बढी मानिसले दुर्घटनामा ज्यान गुमाउनुपरेको देखाउँछ। प्रत्येक वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउने मानिसको सङख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। तर पाँच वर्षको अन्तरालमा यो सङख्या बढेर २७ सयमा पुगेको छ। गएको आर्थिक वर्षमा देशभर सवारी दुर्घटनामा २ हजार ७ सय ८९ जनाले अकालमा नै ज्यान गुमाउनु पर्‍यो।

आर्थिक वर्ष २०७२/७३ मा २ हजार ६ जना, आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाए। यसरी ज्यान गुमाउनेमा महिलाको भन्दा पुरुषको सङख्या तीन गुणाभन्दा बढी देखिन्छ। त्यस्तै आर्थिक वर्ष २०७४/ ७५ मा २ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका थिए।

बढ्दो सवारी साधन, सडको भौगोलिक अवस्था, चालकको सडक अनुशासन र राज्यको ध्यान यसतर्फ नजाने हो भने प्रत्येक वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङख्या बीसबाट उन्नाइस हुने देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell