PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

बमैबमको हल्ला, प्रहरीले नचिन्दा स्थानीय झनै त्रसित [डायरी]



पहिलोपोस्ट

बमैबमको हल्ला, प्रहरीले नचिन्दा स्थानीय झनै त्रसित [डायरी]

  • सुमित मिश्र-

जनकपुरधाम : आइतवार रातीको करिब ९:३० बजेको थियो खाना खाएर सुत्नलाई ओछ्यानमा पसिसकेको थिएँ। त्यतिकैमा फोनमा आयो सहकर्मी कमलेश ठाकुरको।

उनले फोनमा प्रश्न गरे, ‘सुमितजी कता हुनुहुन्छ?’

'घरमै छु, खाना खाएर सुत्न लागेको,' जवाफमा मैले भनेँ।

यसो भन्दै गर्दा उनले भने, 'अहिले नसुत्नुस् र मेरो घर नजिकै आउनुस्।'

प्रश्न फर्काएँ, 'के छ र, यति राति?'

उनले फोनमा थोरै कुरा खोले, 'मेरो घर नजिकै बमको हल्ला छ।'

अनि फोन राखिदिए।

यति सुन्दा त कानमा कसैले झसंग भएँ। म ३ दिनअघि भएको महेन्द्रनगरको घटना सम्झिँदै हतारहतार लुगा लगाएर घरबाट निस्किन लागेँ।

घरबाट निस्किनै लाग्दा आमाले सोध्नुभयो, 'कहाँ जान लागेको यति राति?'

मैले भने, 'रामानन्दचोकको छेउमा बम भेटियो रे त्यहिँ जान लागेको, समाचारको लागि।'

'नजाँदा हुदैन?' आमाले रोक्न खोज्नुभयो।

मैले जवाफ फर्काउँदै भने, 'जानै पर्छ।'

त्यसपछि म घरबाट निस्केँ।

बम भेटिएको भन्ने ठाउँको बाटो छेउमा एउटा सेतो राइसकुकर देखियो। त्यही राइस कुकर शंकास्पद वस्तु थियो। त्यहाँ सिभिल ड्रेसमा खटिएका जिल्ला प्रहरी कार्यलय धनुषाका डिएसपी रामेश्वर कार्की पनि थिए। उनको अनुहारमा डर प्रष्ट देखिन्थ्यो। त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीहरु पनि डराएका थिए।

डर पनि  स्वभाविक नै थियो। अस्ति मात्रै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर मिलनचोकस्थित राजेश साहको घरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो।

विस्फोटमा महेन्द्रनगरका औषधि पसल सञ्चालक ५० वर्षीय राजेश साह, उनका जेठो छोरा आनन्द साह र प्रहरी निरिक्षक अमिर दाहालको मृत्यु भएको थियो।

त्यो घटनापछि धनुषा जिल्लानै शोकमा डुबेको थियो। त्यो घटना नसेलाउँदै यहाँको शंकास्पद वस्तुले सबैलाई त्रसित बनाएको थियो।

प्रहरीले सुरक्षाको लागि शंकास्पद वस्तु भएको बाटोलाई बन्द गर्‍यो र हामीलाई बम भोलि डिस्पोज गर्ने जानकारी भयो।

त्यसपछि म घरतिर लागेँ।

बिहानै उठेर त्यो ठाँउमा पुग्दा सेनाको टोलीले बम डिस्पोज गर्न तम्तयार थियो। र केहिबेरमै डिस्पोज गर्‍यो पनि।

पछि थाहा भयो त्यो त बम होइन रहेछ। आतंक फैलाउन त्यसो गरेका होलान् भन्ने लाग्यो।

त्यो कुरा सकिन नपाउँदै जनकपुरधामबाट फोन आयो। जनकपुरधाम उपमहानगरपालिका-९ को संकटमोचन देवदर्शन उच्च माविको छेउमा अर्को शंकास्पद बस्तु भेटियो भनेर फोन गर्नेले सुनाए।

म लगायत केही पत्रकार साथीहरु त्यतैतिर लाग्यौँ।

त्यहाँ एउटा हरियो रंगको बोरा बीच बाटोमै राखिएको थियो। उक्त स्थानलाई पनि प्रहरीले घेराबन्दी गरेर आवतजावतमा रोक लगाएको थियो।

केही बेरमै सेनाको डिस्पोजल टोली आइपुग्यो। अनि डिस्पोजलको काम शुरु भयो।

सेनाका एक कर्मचारी रोबोट जस्तो हरियो पोशाक लगाएर शंकास्पद वस्तुतिर गए।

त्यहाँ पनि एउटा ठूलो अवाजसहित बम भनिएको वस्तु डिस्पोज गरियो। तर त्यो पनि बम नभई फोहर र प्लास्टिकको झोला मात्रै रहेछ।

त्यो डिस्पोज गर्नुअघि हामीलाई अर्को खबर धनुषाधामबाट आएको थियो। त्यहाँ पनि बमको हल्ला थियो।

त्यसपछि सेनाको टोली जनकपुरबाट धनुषाधामको लागि निस्कियो। धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वत्तास्थित उच्च मावि पर्वत्ताको झ्यालमा कसैले बम जस्तो देखिने गरी एउटा पोको राखेर गएको रहेछ।

त्यसपछि सेनाको टोली त्यहाँ पुगेर सम्भावित बम डिस्पोज गर्‍यो। तर त्यहाँ पनि फोहरको पोको बाहेक केही पाइएन।

यसरी सेनालाई खबर गर्ने प्रहरीले बम नचिनेपछि स्थानीयमा झन त्रास बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell