PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पूर्वपश्चिम रेलमार्गको इआइए प्रतिवेदनमाथि गरियो सार्वजनिक सुनुवाइ



रासस

पूर्वपश्चिम रेलमार्गको इआइए प्रतिवेदनमाथि गरियो सार्वजनिक सुनुवाइ
प्रतीकात्मक तस्विर।

इटहरी : पूर्वपश्चिम रेलमार्गअन्तर्गत निर्माण हुन लागेको इनरुवा-काकडभिट्टा रेल लाइन र इटहरी-विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि आज इटहरीमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभागले आयोजना गरेको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रेलमार्ग निर्माण सम्पन्न गर्न ९० अर्ब रकम लाग्ने रेल विभागका इञ्जिनियर सुुमोद पोखरेलले जानकारी दिए।

दुई सय किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने प्रस्तावित रेलमार्गको करीब १०६.५९ किमी लम्बाइ र ७.५ मिटर चौडाइ हुनेछ। मार्गरेखासँगै सानो ठूलो पुलको संख्या ३४ रहेका छन्। सो रेलमार्ग निर्माण गर्दा १० देखि १२ मिटरको उचाइमा निर्माण गरिने छन्। रेलवे सञ्जाल विस्तारमा यस क्षेत्रमा ११ रेल स्टेशन बनाउने लक्ष्यसमेत रहेको छ।

पूर्वपश्चिम राजमार्ग भन्दा सो रेलमार्ग दुईदेखि अढाइ किलोमिटर दक्षिणबाट निर्माण हुने भएकाले रेल लाइन स्टेसन निर्माण गर्दा मानव बस्ती, उत्पादनमूलक जग्गा जमीन पर्नेबारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो। वातावरण विज्ञद्वय रिकेश चित्रकार तथा अभिषेक विसीले आयोजना सम्पन्न गर्न सो क्षेत्रमा खेतीयोग्य जमीन करीब ५१२ हेक्टर, जलकोे क्षेत्र ५३.६१ हेक्टर र बस्तीको जग्गा तीन हजार ३०० हेक्टर जमीन प्रयोग हुने बताए।

इनरुवा-काँकडभिट्टा खण्ड र इटहरी-विराटनगर रेलवे विस्तार गर्दा सुनसरीका भोक्राहा गाउँपालिकाका ५ र ७, इनरुवा नगरपालिकाका २, ४, ५, ७ र ९ र इटहरी उपमहानगरपालिकाका ७, १०, ११, १२, १४, १५ र १६ नम्बर वडा प्रभावित हुने बताइएको छ। सो क्षेत्रमा पर्ने सम्पूर्ण जग्गा जमीनको नेपाल सरकारले मुआब्जा उपलब्ध गराउनेसमेत सो अवसरमा जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell