PahiloPost

Oct 28, 2024 | १२ कात्तिक २०८१

बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख रुपैयाँ जरिवाना



रासस

बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख रुपैयाँ जरिवाना
Photo : Google Map

सुरुङ्गा : झापामा विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दूर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रुपैयाँ जरिवाना तिरेका छन्। 

मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो। वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दूर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो।

बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो। बेहुलाको हात नचलेपछि उनी शारीरिक अपांगता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलालाई चार लाख रुपैयाँ जरिवाना लिएका छन्। जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ।

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ। बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रुपैयाँ रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताए।

उनले भने, 'समाजमा बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन।'

विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ।
  
यस अघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो। विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख क्षतिपूर्ति समाजले दिलाएको थियो। जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell