
- सुजिता ढकाल–
मलाई माया गर्ने र चिन्नेले आजकाल दिने उपनाम घुमन्ते। धेरैले फोनमा तर्स्याउने अर्को प्रश्न कहाँ छेस्?
एकठाउँमा स्थिर भएर बस्न नसक्ने पुरानै बानी। गोजी र समयले साथ नछोडेसम्म घुम्नुपर्छ भन्ने आफ्नै मान्यता। लाग्छ घुम्नु त करिब/करिब अब मेरो लत बन्यो। बुबाको प्रेरणा पनि छ, कितावले पढाउन नसकेको कुरा घुमेर सिकिन्छ। थप यति भएपछि झनै के चाहियो<
आखिरी विश्राम नलिएसम्म यात्रा न हो जीवन। सिलसिला जारी छ।
घरमा को हुनुहुन्छ होला? आजलाई बास पाइन्छ कि हजुर? हो पहिले÷पहिले यस्तै भनेर बास माग्नुपर्थ्यो। सडक सञ्जाल नभएको अवस्थामा।
आफैँ पनि धेरैपटक सानोमा पहाड घर जाँदा बास मागेर बसेको याद छ। एक झप्की निन्द्रा पु¥याएर घर जान हिँडिन्थ्यो।
ल है धन्यवाद हजुरलाई भन्दै उकाली चढेको सम्झना अझै ताजा छ। पहिले हामी बास बसेको घरमा चिनी, साबुनलगायत सामान दिएर धन्यवाद प्रकट गथ्यौँ। अहिले पैसा। समयले यत्ति फरक बनायो।
बास माग्ने र बस्ने प्रचलन करिब/करिब हाम्रो सस्कृति नै थियो। अहिले थोरै फरक भयो। यो व्यापार बन्यो।
घुम्न मन पराउने मलाई होटलभन्दा होमस्टे मन पर्छन्। स्थानीय परिकार चाख्ने लालसा भनौँ कि स्थानीय संस्कृति अवलोकन गर्ने लोभ होमस्टेले हरेकपल्ट आकर्षित गरिराख्यो। होटलको बसाईँ त एकदमै कृतिम।
मिलेसम्म र पाएसम्म खोजी/खोजी म होमस्टेमै बस्छु। भ्रमणका क्रममा धेरै घरमा बास बस्ने मौका पनि जुर्यो।
केही महिनाको बीचमा चारवटा होमस्टेमा बसियो। दुईटा पहाडका दुईटा तराई। लमजुङको घलेगाउँ र भुजुङ। नवलपुरको पिप्रहर र अमलटारी। केहीमा साह्रै मिठा र केही तीता अनुभव पनि छन्।
दशकअघिको राज्यको तथ्याङ्क अनुसार सबैखालका होटलहरु ६९६ मात्र थिए। सन् २०११ को भ्रमण वर्षको पूर्वसन्ध्यादेखि होटलको विकल्पमा होमस्टेले निकै प्रवर्द्धन पनि पाए। अवधारणाले नयाँ गति पनि लियो। होटलको क्षमता नपुग्दा भ्रमण वर्षलाई होमस्टेले आड दिए। स्याङ्जाको सिरुबारी र लमजुङको घलेगाउँबाट सुरु भएको होमस्टेको अवधारणा अहिले गोरखा, चितवन, मकवानपुर, नवलपुर, बर्दिया, काभ्रे तथा अन्य धेरै जिल्लामा विस्तारित भइरहेको छ। गाउँमा धेरै सकारात्मक परिणाम पनि देखिएका छन्।
शहरको धुँवाधुलो, प्रदुषणबाट केही राहत पर्यटकलाई मिलेको छ। स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्ने अवसर प्रदान गरेका छन्। अनेकन जीवनशैली, स्थानीय संस्कृति, कलाको प्रवर्द्धन पनि भएको छ। आर्थिक पाटो पनि छुट्टै छ।
यस प्रकारको बसाइले नेपाल भ्रमणको छवि अझ बढाउन मद्दत पु¥याउँछ।
होमस्टेको फरक अनुभव स्थानीय परिकार। कोदोको रोटी र टिमुरको अचारको अनुभव शहरको ‘ब्रेड’ले कहिल्यै पूरा गर्न सक्दैन। चिच्चर र हाँसको मासुले दिएको स्वाद मःम र चाउमिन कहाँ पाइन्छ?
होमस्टे सञ्चालनले ग्रामीण क्षेत्रमा परिवर्तन पनि ल्याएको छ। आर्थिक, सामाजिक, शैक्षिक र बौद्धिक पाटोमा पनि धेरै स्तरोन्नति भएको छ। अमलटारी होमस्टेका व्यवस्थापक अनुभव छ ‘गाउँमा पर्यटकहरूको आगमनले समुदायमा धेरै सकारात्मक परिवर्तन आएको छ। केही सिक्न केही सिकाउन पाइएको छ।’
होमस्टेले अन्य पेशालाई पनि सँगै अघि बढाएको पाइन्छ। गाउँमा रेस्टुरेन्टहरू, पसलहरू, फ्रेस हाउसहरू, इलेक्ट्रिक रिक्सा, लोकल गाइड तथा अन्य पेशा पनि मौलाएको छ। आर्थिक अवस्था सुधारका साथै विकासमा पनि होमस्टे साधक बन्दैछन्।
हिजो कमजोर आर्थिक अवस्थामा भएका परिवारलाई पनि सक्षमतातर्फ डोहोर्याएको छ। एक होमस्टे सञ्चालकको अनुभव छ, वार्षिक २७ लाख रुपैयाँसम्म कमाइको। तर, कमाइका मुख्य स्रोत उनको अनुभवमा आन्तरिक पर्यटक नै बढी हुन्। धेरै स्थानमा विदेश जाने समस्यालाई होमस्टेले न्यूनीकरण नै गरेको छ। कतिपय फर्किएका पनि मैले नै भेटेँ। कतिपय त महिलाबाटै सञ्चालित। आर्थिक सक्षमताका यी उदाहरणले मनै फुरुङ्ग हुनेगर्छ।
इको–टुरिजमको पक्षमा म एकदमै एक्स्ट्रिमिस्ट मान्छु आफूलाई। पर्यटनले कुनै पनि क्षेत्रलाई नकरात्मक असर पार्नुहुन्न। अक्सर वकालत नै रहन्छ।
तर नमिठो अनुभव म बसेका थुप्रै होमस्टेमा पश्चिमा संस्कृति हाबी भएको पाउँछु। मौलिकभन्दा नक्कल बढी अनुभव गर्छु। फोहोर व्यवस्थापन पनि समस्या देखिन्छ। स्वच्छ र सफा भएन भने त पाहुनाको मन कुँडिन्छ नै।
बास बसेका केही होमस्टेमा मेरा पनि नमिठा अनुभव पनि भए। क्षमताभन्दा बढी पाहुना राख्ने।, खाना अपुग, ओढ्ने–ओछ्याउने अपर्याप्त।
सायद यस्तै, समस्याले मलाई भुजुङको बसाइ सहज नै लागेन। घलेगाउँको आतिथ्य सत्कार, अर्गानिक खाना र बसाईँ अत्यन्तै रमाइलो। तर जब साँस्कृतिक कार्यक्रमको पालो आयो घलेगाउँ चुकेको अनुभूति भयो। लोकभाका र सांस्कृतिक नाच हेर्न नपाएर मनमा खल्लोपनले डेरा जगाइरह्यो।
पिप्रहरको अनुभव रमाइला छन्। खाना, बसाइ, सांस्कृतिक कार्यक्रम अनि आतिथ्य सबै सन्तोषजनक लागे। म दुई वर्षअघि अमलटारी होमस्टेमा जति खुशी भएको थिएँ यसपटक पिरोलिएँ। आतित्थ्य, व्यवस्थापन, खाना अनि व्यावहारिक पाटोमा एकदमै परिवर्तन भएको पाएँ। प्रायः सबै होमस्टेमा कंक्रिटको प्रयोग बढिरहेको छ। मौलिकता कमजोर हुँदैछ।
कतिपयमा आतित्थ्यमा समस्या तथा लोकल खानेकुरा छायाँमा परेको देखेर मन खिन्न हुन्छ। लाग्छ कतै होमस्टे होटलजस्तै भइरहेका छैनन्< सीमान्कृत समुदायलाई समेट्न नसकेको कुराले पनि होमस्टे समावेशी नरहेको अनुभूति गराइरहन्छ।
पर्यटन आयको मुख्य उद्यम मानिएको मुलुकमा राज्य नीति तथा नियमहरु संशोधनको आवश्यकता पनि मैले उत्तिकै गरेकी छु। स्थानीय समुदायको आर्थिक विकासका लागि अत्यन्तै राम्रो मानिएको होमस्टेलाई प्रवर्द्धन गर्न टड्कारो आवश्यकता छ।
बस् यत्ति होस् होमस्टेको मर्म नमरोस्। स्थानीय संस्कृति जस्ताकै तस्तै रहिरहोस्। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आहा! होमस्टे होस्।