PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रहरै रहरमा पोखराको व्यवसायिक नाट्ययात्रा : 'उ मरेकी छैन' ले मार्ला त छलाङ?



विष्णु गौतम

रहरै रहरमा पोखराको व्यवसायिक नाट्ययात्रा : 'उ मरेकी छैन' ले मार्ला त छलाङ?

पोखरा : कुनै समयमा नाटक भन्ने वित्तिकै पोखराको नाम आउथ्यो सबैभन्दा पहिले। विशेषगरी चालीसको दशकलाई पोखराको नाट्य कर्मको आधारले स्वर्ण युगका रुपमा परिभाषित गरिथ्यो। यो समयमा सरुभक्त, अनुप बराल, प्रकाश घिमिरे, तीर्थ श्रेष्ठलगायतका कलाकारहरुले पोखराको नाट्य कर्मलाई निकै उचाईमा पुर्‍याए। त्यसपछिका समय त्यो उचाईले निरन्तरता पाउन सकेन। फलस्वरुप पछिल्लो समयमा रहरै रहरमा लागेका युवा पुस्ताले पोखराको नाट्य कर्मलाई धान्दै आएको छ।

यही रहरबाटै पोखरामा पहिलो व्यवसायिक नाटक घर “पोखरा थिएटर” पनि संचालनमा आएको छ। नाटक घर संचालनपछि पोखरामा नियमित र व्यवसायिक नाटक संचालन पनि भइरहेका छन्। नाट्यकर्मी अनुप बराल पनि अहिले पोखरा फर्किएका छन्। उनी भन्छन्, 'मलाई जुन माटोले नाट्य कर्ममा लाग्न प्रेरणा दियो यही भुल्न सकिन अनि पोखरामै केही गर्ने सोचका साथ फर्किएको हुँ।' पहिलाको अनुभव सम्झँदै बराल भन्छन्, 'पहिले रहरमा लागियो। त्यसपछि व्यवसायिक बन्नुपर्छ भनेर सिक्न गइयो अब पोखरामै बसेर केही गर्न सकिन्छ भन्ने उदारहण पनि त दिनु छ।

पछिल्लो समयमा रहरैरहरमा लागेका केही समूहहरुले पोखरामा नियमित नाट्य कार्यशाला र मञ्चनमा काम पनि गररहेका छन्। पोखरा थिएटरबाटै नियमित नाटक गरिरहेका र प्रशिक्षित रेवन राई र अन्य केही नाट्य हुटहुटी बोकेका युवा नाट्यकर्मीहरुले न्यारेटर ए ग्रुप अफ स्टोरी टेलरको नाट्य सम्राट बालकृष्ण समको नाटक 'उ मरेकी छैन'लाई मञ्चन गर्ने तयारी गरिरहेका छन्। पुस ४ गतेदेखि १४ गतेसम्म नियमित मञ्चन हुने नाटक समूहका पहिलो व्याचको विद्यार्थीबाटै प्रस्तुत हुँदै छ।  तीन महिनाको कार्यशालापछि मञ्चन हुन लागेको सो नाटकका कलाकार यतिबेला रिहर्सलमा व्यस्त छन्। यो नाटकलाई न्यारेटर समूहले मञ्चन गर्न लागेको हो।

नाट्य सम्राट बालकृष्ण समले लेखेको यो नाटकलाई नाट्य रुपान्तरण, डिजाइन तथा निर्देशन युवा रंगकर्मी चे शंकरले गर्दैछन्। यो धार्मिक नाटक हो। नाटकमा बाल मनोविज्ञानलाई कलात्मक ढंगबाट प्रस्तुत गर्न खोजेका छन् निर्देशक चे ले। चे शंकरले कार्यशालामा पनि सहजीकरण गरेका थिए। यो नाटकमञ्चन पश्चात पोखरेली रंगमञ्चमा नाट्य क्षेत्रमा अगाडि बढ्ने नयाँ समूह स्थापित हुनेमा उनको विश्वास छ। यसअघि तिर्खा नाटक उनको परिकल्पना र निर्देशनमा पोखरामा मञ्चन भएको थियो।

पोखरेली नाट्य क्षेत्रकै चर्चित कलाकार रेवन राईले सो नाटकमा सह निर्देशन र व्यवस्थापकको रुपमा काम गरिरहेका छन्। उनले पोखराको नाटकलाई व्यवसायिक बनाउने अभियान स्वरुप संस्था स्थापान गरी कार्यशाला सहित नाटक मञ्चन गर्न लागेको धारणा राखे। उनले भने, 'सफलता भनेको निरन्तरता हो, म यही क्षेत्रको लागि जन्मेको हो जस्तो लाग्छ त्यसैले मैले निरन्तरता दिन मात्रै खोजेको हुँ।'

नाटकमा रेवन राई, विनोद रसाइली, सन्दिप पाण्डे, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, ज्योती हमाल, टिकाराम पौडेल, उज्वलराज ढकाल, गौरव ढकाल, रोसन ज्ञवाली आदि कलाकारले अभिनय गर्दैछन्। उनीहरु सबैले रंगकर्ममा लामो यात्रा तय गर्ने परिक्षाको रुपमा यो नाटकमा मेहनत गर्दैछन्।

नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ। पुस १४ गतेसम्म मञ्चन गरिने नाटक एक घण्टा १० मिनेट अवधिको छ। नाटक दैनिक बेलुकी ४:१५ बजे र शनिवार दिउँसो एक बजेसमेत गरी दूई सो मञ्चन हुनेछ।

नाटक मञ्चनको आयोजक न्यारेटर समुह कला र साहित्य सम्बन्धी गतिविधि गर्दै विद्यार्थी र युवालाई यसतर्फ आकर्षित गर्न क्रियाशिल बन्न खोजेको समुह हो। पछिल्लो समयमा नाटक सम्बन्धि गतिविधि पोखरामा बढिरहेको छ। पोखरामा थिएटर सञ्चालनमा आएपछि गतिविधि ह्वात्तै बढेको हो। त्यतिमात्र नभएर पुराना रंगकर्मीहरु पोखरा फर्किएर काम गर्न थालेका छन्। यसले नयाँ कलाकारसहित पुराना रंगकर्मीसमेत उर्जा थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell