PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्, 'नेपाल पृथ्वीको स्वर्गजस्तो'



रासस

प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्, 'नेपाल पृथ्वीको स्वर्गजस्तो'
फोटो रासस।

'पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पु¥याइदिउँला भनेका थिए।'

गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा हल सुनशान भयो। उनी हिमाल चढेको ‘डकुमेन्ट्री’ हेर्न दूतावास हलमा उपस्थित सबैले घरिघरि उनको मुहार पढिरहेका थिए। उनको साहसिक आरोहणको यात्रा समेटिएको सो ‘डकुमेन्ट्री’ बडो चाखसित चियाइरहेका थिए।

आरोही ताकेउचीले आफ्नो संघर्षले भरिएको जीवनगाथा सुनाए। आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल चढेका उनी पहिलो जापानी हुन्। उनले त्यहाँ आफ्नो अनुभव सुनाउँदा कुनै बेला उनको मुहार चम्किन्थ्यो र उत्साहित देखिन्थे। अनि बेला बेलामा उनको मुहारमा दुःखको विराट तस्वीर झल्किन्थ्यो तर उनको अभिव्यक्तिमा अदम्य साहस देखिन्थ्यो। यसबाट बुझ्न सकिन्थ्यो, उनी थाकेका छैनन्, अझै धेरै गर्न बाँकी छ।

सामान्य मानिसलाई त सानातिना पहाड चढ्नु पनि कल्पना बाहिरको कुरा हो। अझ आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नु झन् सानो कुरा भएन। नेपाल हिमालै हिमालको देश हो, तर पनि एकाध सय नेपाली मात्रै हिमालको टाकुरामा पुगेका होलान्। अनि सगरमाथा चढ्ने नागरिक त धेरै कम। त्यसमा अझै आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने त औँलामा गन्न सकिन्छ।

पातलो ज्यानका हिरोताका आफूले पाएको दुःख र पीडाको मात्रै नभई रोमाञ्चक अनुभव सुनाउन उभिएका थिए। 

शुरुमै उनले भने, 'तपाईहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेको मान्छे देख्नुभएको छ? छैन भने आजै देख्दै हुनुहुन्छ, त्यो म नै हुँ। अचम्म नमान्नुहोला यस्तो मानिसले कसरी चढ्यो होला भनेर। किन भने शुरुमा त मलाई नै पत्याउन गाह्रो भएको थियो तर यो सब मेरो आँट र इच्छाले सम्भव बनाइदियो।'

उनले भनेझैँ हिरोताकालाई हेरेर उनको यो सफलता पत्याउन आम मानिसलाई कठिन नै हुन्छ। हिमाल चढ्दाका अप्ठेराहरु समेटिएको उनको वृत्तचित्र हेर्दा त झन आङ जिरिङ्ग हुन्छ। उनले चरा उडेर पुग्ने ठाउँमा आफू हिँडेर पुगेको साहसिक कथा सुनाएका थिए। नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत आश्चर्य भावमा हिरोताकाका कुरा सुनिरहेका थिए। बेला बेलामा जिब्रो काड्थे र अघिल्लो सिटमा बसेका उनी कुनै बेला पछि फर्किएर अरुको मुहार हेर्थे।

विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्। तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोहोत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन्।

यसबाहेकका विदेशमा रहेका अरु हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङ्मा हुन्। उनले यी सबै हिमाल आरोहण गरेका छन्। यी हिमालको शिखरमा पुगेर उनले आफ्नो मात्रै नाम चम्काएनन्, संसारभर नै नेपालको र आफ्नो देश जापानको पनि चम्काए।

'आरोहण गर्दै थिएँ, मैले च्यालेन्ज नै गरेर त्यहाँ पुगेको थिएँ, किनकी मलाई हिमालले मोहनी लगाएको थियो। एक्कासि हिम पहिरो आयो, मलाई त्यो पहिरोले ३०० मिटर तल बगायो,' उनले आफ्नो आरोहणको कथा सुनाए।

उनको ढाडको हड्डी भाँच्चिएको थियो। शरीर पूरै हिउँजस्तै चिसो, कता दुखेको थियो उनलाई थाहै थिएन। बोल्न नसक्ने अवस्थामा भएपनि उनले आरोहण दलका साथीलाई भने चिन्थे। यो गासेरब्रुम चढ्दाको पीडाको कथा हो।

'मलाई यति दुख्यो कि त्यो दुखाइ साँच्चै पीडादायी थियो। मेरा सहयोगीले खुट्टामा समातेर ताने, खासमा त्यसो गर्नु नहुने रहेछ। मलाई बचाउन उनीहरुले त्यसो गरेका रहेछन्। आरोहण टोलीमा एक चिकित्सकसमेत रहेछन्, उनले मलाई दुखाइ कम हुने औषधि दिए र भने तिमी भोलिसम्म त मर्छौं होला,' उनले पीडा सुनाए।

असह्य पीडाले होस् गुमाएका उनी होस् आउँदा आफूलाई वरिपरि प्लाष्टिकले बेरेर राखेको सामानजस्तो थुप्रोमा पाए। उनले आफ्नो मुखमा अक्सिजन मास्क थियो, उनकै सहयोगीले नै त्यो लगाइदिएका रहेछन्, पछि मात्रै थाहा पाए तर। उनलाई अक्सिजन लगाइदिने साथी भने बितीसकेको थिए।

'यसो हेरेँ प्लाष्टिकले बेरेर राखेको सामानजस्तो लाग्ने थुप्रो देखियो त्यो आरोहीको रहेछ, तर सबैले हिमालमै जीवन सुम्पिसकेका,' उनले अनुभव सुनाए।

हिमाल चढ्दै गर्दा हिरोताका साथीहरुसँग भन्दै थिए, हिमाल चढेर आफ्नो र देशको नाम राख्नुपर्छ। उनीहरुको भौतिक शरीर हेर्दा पनि त्यति मात्र सम्झिए उनले। अनि उनको कानमा गुन्जियो– हितोताका तँ अझै हिमाल चढ् र नाम लेखा है। वास्तवमा आजका दिनसम्म पनि उनलाई हिमाल चढ्न प्रेरित गर्ने घटना त्यही हो। त्यो घटना सन् २००७ को हो।

उनलाई त हिमालसँग जोरी खोज्नु उनको रहरजस्तै भइसकेको छ। किनभने उनका साथ टुटेका आरोहीहरुले हिमालसँग नहारेस् है भनेका छन्।

'मेरो एक जर्मनी साथी राल्फ साइमन र मैले संसारका आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने अठोट गरेका थियौँ। त्यो क्रम मेरो बालककालदेखि नै शुरु भएर सन् २०१२ मा पूरा भएको हो,' किन हिमाल चढ्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो।

उनको यो कीर्तिमान सन् २०१२ मा पूरा भएको हो।

उनलाई उनका पिताले बाल्यकालमा नै जापानका पहाड चढाउन लान्थे। त्यही बेलादेखि नै हिमाल हेर्ने रहर उनको मनमा भरिएर आउँथ्यो।

उपस्थित जिज्ञासु मुहारको उत्सुकता मेटाउन उनले भने, 'जापानमा आन्तरिक उडानमा उड्ने जहाज आठ हजार मिटरको हाराहारीमा उड्छन्। जहाजमा रहेका बेला हामी आठ हजार मिटर उचाइमा पुगेका छौँ भनेर सूचना देख्नुभयो भने यसो जहाजबाट बाहिर हेर्नुहोला, तपाईंहरुलाई पनि म यति उचाइमा छु भन्ने भावना आउँछ।'

'हिमालमा त हामी जोखिम लिएरै जाने हो। मर्ने नमर्ने भन्ने त भाग्यमा पनि भर पर्छ। किन भने कुनबेला पहिरो आउँछ भन्ने त के थाहा हुन्छ र?,' हिमाल आरोहणको खतराबारे सनाउँदै उनले भने।

हिमालको शिखरमा पुग्दा के देखिन्छ? उनले चढ्नुपर्ने त्यसपछिको अर्को हिमालको टुप्पो मात्र देख्छन्। र त्यसैबाट लोभिन्छन्। अनि ओर्लिएपछि त्यसतर्फको यात्राको तयारीमा लाग्छन् उनी।

सन् १९७१ मा जन्मिएका हिरोताकाजस्तै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने मानिस विश्वमा निकै थोरै छन्। ४८ वर्षीय उनको जाँगर अहिले पनि उस्तै छ। भन्छन्, मेरो अबको लक्ष्य पनि हिमाल नै चढ्ने हो, कसैले नचढेका हिमाल चढेर नयाँ नयाँ गन्तव्य भेटाउने।

तर अब हिमाल चढ्न गाह्रो हुँदै गएको उनको अनुभव छ। यो उनको उमेरले मात्र नभएर जलवायु परिवर्तन पनि एक कारण हो।

'विगतमा आफूले चढेका हिमालका शिखरहरु हेर्दा काला हुँदै गएको देखिन्छ। हिउँ पग्लिएर पत्थर देखिन थालेको छ, यस्तोमा चढ्न झनै गाह्रो हुन्छ,' उनको अनुभव छ। 

सन् १९९६ मा २५ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेपछि हिमाल आरोहणलाई निरन्तरता दिएका उनले बताए।

नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ उनलाई। नेपाललाई जापानीहरु हिमालको देश भनेर बढी चिन्छन्। नेपाल संस्कृति, प्राकृतिक सम्पदा, विश्व सम्पदालगायत धेरै कुराले नेपाल धनी छ भन्ने कुरा पनि थाहा दिए जापानीलाई आकर्षित गर्न सजिलो पर्ने उनी सुझाउँछन्। नेपालको सुन्दरता विश्वमा चिनाउन सकिएमा त्यसैमा नेपालको समृद्धि छ भन्छन् उनी।

नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। हिमाल मात्रै नभई नेपालका अन्य प्राकृतिक स्रोत तथा साधनको समेत प्रचार गर्नुपर्ने सुझाव छ उनको। जापानी नागरिकले सगरमाथा आरोहरणको ५० वर्ष पुगेको अवसरमा सन् २०२० मा नेपाल र जापानमा समेत संयुक्तरुपमा कार्यक्रम आयोजना गर्ने समेत उनले जनाए। त्यस कार्यक्रममार्फत विशेष गरी हिमाल र हिमाल आरोहणसम्बन्धी सूचना र सन्देश विश्वमा नै दिन चाहेको उनले बताए।

उनको अनुभवमा हिमाल चढ्ने काम एक प्रकारको कुशल अभ्यास पनि हो। यो एउटा ठूलो जोखिमको काम हो। जोखिम नलिँदासम्म सफलता पाउन पनि मुस्किल छ। यसोभन्दा उनमा थोरैमात्र डर र धेरै उत्साह देखिन्थ्यो। आफूलाई व्यावसायिक हिमाल आरोही बताउने उनले आफ्नो जीवनभर नै हिमाल चढ्ने बताए।

'जीवन रहेसम्म हिमाल चढ्छु, अबको योजना कोही नपुगेको शिखरमा पुग्ने छ। खोज्दैछु, अब कोही नपुगेको हिमाल चढ्ने हो,' भावी योजना सुनाउँदा उनी उत्साहित देखिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell