काठमाडौः प्रहरीले अवैध लागू औषध कोकिन सहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।
लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलवार तीन केजी कोकिन सहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको हो।
उनको राहदानी नम्बर सी ई २८०७२ हो। उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन्।
'हामीले विशेष सुचनाका आधारमा नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी वीरेन्द्र बस्यालले भने।
उनको सुटकेशभित्र उक्त परिमाणको लागू औषध फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि पनि प्रहरीले आइभेरिकोष्टका एक नागरिकलाई १ किलो ६ सय ग्राम कोकिन सहित नियन्त्रणमा लिएको छ।
प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय मूल्य १० करोड भन्दा बढी हुन आउँछ। तर, कोकिनको बजार मूल्य भने त्यसको गुणस्तर अनुसार विभिन्न देशमा फरक पर्ने गर्दछ।