PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने सरकारको तयारी



रासस

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने सरकारको तयारी
फोटो : रासस।

कास्की : सरकारले सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने भएको छ। सरकारले देशका सात प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला तथा ७५३ पालिकामा एक/एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए।

संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर्ट्स मिट-२०७६’ को उद्घाटन कार्यक्रममा आज पोखरामा उनले देशको समृद्धिका लागि खेल क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भएकाले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे।

हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) सभ्य र भव्य तरिकाले सम्पन्न भएको चर्चा गर्दै मन्त्री विश्वकर्माले सागमा प्राप्त उपलब्धिले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आएको उल्लेख गरे। विद्यालयतहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि शिक्षण संस्थाहरुले शिक्षासँगै खेलकूदलाई समेत महत्व दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो।

शारीरिक र मानसिक स्वास्थ्यसँगै खेलबाट इतिहास रचेर भविष्य स्थापित गर्न सकिने चर्चा गर्दै उनले भने, 'खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य छैन भनेर पछुतो मान्ने दिन समाप्त भयो। अब खेलकूदमा नाम र दाम दुवै छ। खेलाडीको भविष्य उज्ज्वल छ।'

पोखरा रंगशालामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशालाको काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले आगामी वर्ष पोखरामा नै आयोजना तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक पौडी पोखरी लगायतका पूर्वाधार निर्माणका कामसमेत यसै वर्ष शुरु गरिने जानकारी दिए।

स्पोर्ट्स मिट उद्घाटनका अवसरमा सम्पन्न मार्चपासमा रेन्बो एकेडेमी प्रथम, नोबेल एकेडेमी द्वितीय, ढुङ्गेसाँघु बोर्डिङ स्कुल तृतीय तथा कञ्चनजङ्घा बोर्डिङ स्कुल, पोखरा लर्नस, सोसियल पब्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थान प्राप्त गरे। विजयी विद्यालय तथा विद्यार्थीहरुलाई मन्त्री विश्वकर्माले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।

शिक्षासँगै विद्यार्थीहरुलाई खेलकूदमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको स्पोर्ट्स मिटमा प्याब्सनअन्तर्गतका ९६ विद्यालयका पाँच हजार एक सय विद्यार्थीले  विभिन्न स्पर्धामा सहभागिता जनाएको प्याब्सन कास्कीका अध्यक्ष पदमप्रसाद शर्माले जानकारी दिए। स्पोर्ट्स मिट पुस ५ गतेसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell