PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुर्घटना बढेको राम्री केटी चालक छेउमा बसेर हैन, सिस्टम नबनेर हो, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो : इन्जिनियर गजुरेल [अन्तर्वार्ता]



पहिलोपोस्ट

दुर्घटना बढेको राम्री केटी चालक छेउमा बसेर हैन, सिस्टम नबनेर हो, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो : इन्जिनियर गजुरेल [अन्तर्वार्ता]

चालु आर्थिक वर्षको दुर्घटनाको प्रहरी तथ्यांक अनुसार देशभर दैनिक ३७ भन्दा बढी गम्भीर दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा हरेक दिन ८ जनाले ज्यान गुमाइरहेका छन्। मंसिर महिनामा मात्र ज्यान गुमाउनेको संख्या २४५ पुगेको छ। चार सयभन्दा बढी यात्रु गम्भीर घाइते भएका कारण उपचार गराइरहेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको समाचार पढेर आफू निदाउँन नसकेको दाबी गरे। उनले गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायतलाई राखेर दुर्घटना न्यूनीकरणको उपाय खोज्न निर्देशनसमेत दिए। योसँगै सरकारले दुर्घटनाको कारण पत्ता लगाउन तथा न्यूनीकरणका उपाय सिफारिस गर्न समिति समेत गठन गरेको छ। दुर्घटना सन्दर्भमा सडक सुरक्षालगायतका विषयमा पहिलोपोस्टकाका लागि प्रकाश भण्डारीले इन्जिनियर आशीष गजुरेलसँग गरेको कुराकानी:

दुर्घटनापछि गठन भएका छानबिन प्रतिवेदनले धेरैजसो दुर्घटना चालकको लापरबाहीले भन्ने देखाएका छन् यही कारणले हो दुर्घटना हुने?

अप्ठेरो बाटोमा हिँड्नु भो भने लड्ने चान्स धेरै हुन्छ। सजिलो बाटोमा लड्ने चान्स कम हुन्छ। त्यसैले अप्ठेरो बाटोमा हिँड्दा त्यही कारणले भन्न त मिल्यो। तर रियल तथ्य त्यो होइन। हाम्रोमा समस्या के हो त्यो नै पत्ता लागेको छैन। ८० प्रतिशत चालकको कारणले भन्ने गरिन्छ। त्यो सत्य होइन। त्यसरी भन्ने भए शतप्रतिशत नै भनिदिए भयो। उसैको हातमा स्टेरिङ हुन्छ। सडक दुर्घटनालाई सिस्टमको रूपमा हेर्नुपर्‍यो। कुनै न कुनै कम्बिनेसनले हुन्छ। चालक निदाएको बेला चालकको लापरपबाहीले भन्न बरु हुन्छ। मोड नपुगेर दुर्घटना हुँदा के चालकलाई मात्र दोष दिएर भयो।

प्रधानमन्त्रीले त चालकलाई प्रभाव पार्ने सामान तथा मानिसहरू नजिक राख्न नलाउनुस् भन्नुभएको छ यस्ता कारणले पनि हुँदो रहेछ नि दुर्घटना?

यी झिना मसिना कारण हुन्। चालकको नजिक राम्री केटी राखेर, गीत बजाएर लगायतका कारणले त एक प्रतिशत पनि छैन होला दुर्घटना भएको। यस्ता कारणका यकिन तथ्यांक त म भन्न सक्दिनँ। तर मुख्य कुरा हेर्नुपर्‍यो। मुख्य कुरा भनेको सडक सुरक्षा हो। अस्तिकै दुर्घटना भएको ठाउँमा पनि सुरक्षा बार भएको भए बस त्यति तल खस्दैन थियो होला।

त्यसो भने कहाँ-कहाँ बार लगाउने भनेर अध्ययन पनि गर्नु पर्ला नि?

केही अध्ययन नै गर्नु पर्दैन। जहाँ–जहाँ अप्ठेरो छ त्यहाँ सबै ठाउँमा सुरक्षा बार लगाइदिउँ, कानुनमै सबै सडकमा सुरक्षा बार हुनुपर्ने भन्ने छ। सिन्धुलीको विपी राजमार्गमा नै जानुभयो भने कतै छ कतै छैन, त्यो त अवैज्ञानिक भयो नि। चाहिन्छ भन्ने त थाहा रहेछ। अनि कतै बनाउने कतै नबनाउने भनेको के? पैसा यावत कारण देखाएर त भए न नि।

सिन्धुपाल्चोकमै धेरै सडक दुर्घटना भयो। के सडकको कारणले हो?

नेपालको प्रमुख समस्या नै सडक हो। उकालोओरालो बाटोमा अप्ठेरो हुन्छ। यही साइन्स प्रयोग हुने हो। त्यही भएर प्रधानमन्त्रीले समिति गठन गर्न भन्नुभयो त्यस्ता टालटुले काम गरेर भएन।  दीर्घकालीन काम गर्नुपर्‍यो। यातायात मन्त्रालयले रोड सेफ्टी हेर्‍यो। सक्कियो। सडक विभागले के गर्छ? त्यसैले सडक सुरक्षा परिषद् गठन गर्नुपर्‍यो। जसले २४ घण्टा सडक दुर्घटना, सडक सुरक्षा हेरोस्। छानबिन समिति गठन गरेर कसरी दुर्घटना कम हुन्छ? सडक सुरक्षा परिषद् गठन गरेर सम्पूर्ण जिम्मा उसैलाई दिनुपर्‍यो। सडक दुर्घटना त अहिले कसैको जिम्मेवारीमा पर्दैन। सडक विभागले हेर्दैन, ट्राफिक प्रहरीले पनि हेर्दैन, घाइतेको उद्धारको पनि केही व्यवस्था छैन। अनि कसरी न्यूनीकरण हुन्छ सडक दुर्घटना?

सडक सुरक्षा परिषद् कस्तो हुनुपर्छ त?

स्वायत्त निकाय हो। एकदमै शक्तिशाली निकाय बनाउनु पर्‍यो। २४सै घण्टा सडक सुरक्षाबारेमा हेर्ने अधिकार दिनुपर्‍यो। नियम कानुन कार्यान्वयन भएको छ कि छैन? सडक कस्तो छ? के कारण दुर्घटना भएको हो? कसरी न्यूनीकरण गर्ने? अध्ययन अनुसन्धान सबै काम यसैले गर्छ। अरू देशमा पनि छ भारत जानुभए पनि छ, जर्मनीमै छ, घानामा पनि छ। जहाँसुकै पनि यस्तो व्यवस्था छ।

ट्राफिक नियम पालना गरे पनि त सडक दुर्घटना कम हुन्थ्यो होला नि?

लेन अनुशासन पालन गर्नुपर्छ भन्ने छ। सडकमा खाल्डो हुन्छ अब तपाईँ खाल्डोबाट जानुहुन्छ कि अन्तबाट। यहाँ सबैलाई हतार हुन्छ। अनुशासन मान्न त त्यस्तै हो।  

गाडीको फिटनेस पनि बेलाबेला परीक्षण गर्नुपर्छ भन्छन् कतिले? तर यहाँ त एकपटक मात्र गाडीको फिटनेस परीक्षण हुन्छ। किन?  

नियममा त फिटनेस परीक्षण गर्ने भन्ने छैन। तर प्रदूषण जाँच गर्नुपर्छ भन्ने छ। निजी गाडीको वर्षमा चारपटक जति फिटनेस परीक्षण गर्ने चलन छ। तर खै सार्वजनिक सवारीसाधन फिट छ कि छैन भनेर परीक्षण गरेको? कम्तीमा तीन महिनामा एकपटक त गुर्नपर्‍यो। सकेसम्म सार्वजनिक सवारी त अझ बढी परीक्षण गर्नुपर्छ।

गाडी चलाउन नचलाउने भन्ने सबै कुरा त चालकको हातमा हुन्छ अनि गाडीको अवस्था पनि चालकलाई थाहा हुन्छ। यदि गाडी ठिक अवस्थामा छैन भने त चालकले नचलाए भयो। 

पहिलो कारण त चालकलाई जागिर जाला भन्ने डर हुन्छ जागिरको सेक्युरिटी छैन नि, छ त? पैसा बढी पाइन्छ भन्ने लोभ अर्को मजबुरी। २०/२० घण्टा अनिँदै चलाउँछ नि।

चालकलाई काउन्सिलिङ पनि जरुरी होला हैन त्यसो भए?

एकदम जरुरी छ। कानुनमा पनि यो व्यवस्था छ। तर यो व्यवस्था गरेर मात्र कहाँ भयो। बोध पनि गराउनु पर्‍यो। मुख्य त व्यवहारको समस्या हो। यो परिवर्तन गर्नुपर्छ।

प्रधानमन्त्रीले सडक निर्माणपछि सडक पास गर्ने बेला अब दुई लेन भन्दा कमका सडक पास नगर्नुस् भन्नुभएको छ। यो पनि समस्या रैछ नि।

एक लेनको सडकको पनि आफ्नै मापदण्ड छ। त्यसो भने सिन्धुलीको सडक बन्द गरिदिए भयो नि? सक्नुहुन्छ। त्यो त एउटा लेनको सडक हो नि यसको पनि आफ्नै डिजाइन छ। हाम्रो उद्देश्य नै चिल्ला सडकमात्रै भयो सुरक्षित भएन। सडक बनाउने मात्रै भनियो। तर सुरक्षित सडक कसैले भनेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell