PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

नेपालमा गुड्ने रेल भारतमा धमाधम एसेम्बल हुँदै, यसरी बन्दैछ 'तीन महिनापछि चल्ने' रेल



पहिलोपोस्ट

नेपालमा गुड्ने रेल भारतमा धमाधम एसेम्बल हुँदै, यसरी बन्दैछ 'तीन महिनापछि चल्ने' रेल

काठमाडौं : निर्माणाधीन जयनगर जनकपुर रेलमार्गमा सञ्चालन गर्ने भनिएको रेल भारतमा बनिरहेको छ।

रेल सेटको अर्डर पाएको भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशन लिमिटेडले चेन्नईस्थित आफ्नो सवारी डिब्बा कारखानामामा एसेम्बल गरिरहेको छ। आइतबार रेल विभागका महानिर्देशक बलराम मिश्र, सिनियर डिभिजन इन्जिनियरसहितका टोली एसेम्बल भैरहेको रेल सेट हेर्न चेन्नई पुगेका छन्।

कम्पनीकै निमन्त्रणामा निर्माण भइरहेको रेल सेट निरीक्षण गर्न रेल विभागको टोली चेन्नई पुगेको विभागका सिभिल इन्जिनियर किरण कार्कीले जानकारी दिए।

उनका अनुसार रेल विभागको टोलीले के-कति रेल तयार भयो भनेर निरीक्षण गर्नेछ। यसै साता टोली स्वदेश फिर्ता हुनेछ। विभागका अनुसार यो रेलसेटको कलर सकेर पार्टपूर्जा जोड्ने काम भइरहेको छ।

तीन महिना लाग्ने

नेपाली भूमिमा रेल सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ।

कर्मचारी व्यवस्थापन, पुर्वाधार निर्माण, रेल सेट एसेम्बलमा ढिलाई हुँदा अझै तीन महिना लाग्ने भएको हो। यसअघि दशैँ र पछिल्लो तालिका अनुसार विवाह पञ्चमीसम्ममा सञचालनमा ल्याउने दाबी गरिएको थियो। तर अझै समय लाग्ने भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार, कुनै समस्या नआए आगामी तीन महिनामा रेल सञ्चालनमा आउनेछ। रेल सञ्चालनका लागि पूर्वाधार तयार अवस्थामा छैन। बाढीका कारण केही खण्डमा रेलको लिक नै बगाएको छ। त्यसको मर्मतको काम सुरु हुन सकेको छैन।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको यो रेलमार्ग जयनगर जनकपुर करिब ३५ किमी गत बर्ष नै तयार पारेर परिक्षण गरिएको हो। तर नेपाल सरकारलाई हस्तान्तरण भने गरिएको छैन। जसका कारण भारतीय पक्षले नै मर्मत गरिदिनुपर्ने छ। करिब १० करोडको क्षति भएको रेल विभागले जनाएको छ।

भारतीय पक्षले रेल विभागसँग गत वर्ष नै उनीहरुको आफ्नै रेल सेट ल्याएर उद्घाटन गरिदिने प्रस्ताव गरेको थियो । तर नेपाली पक्षले एक दिन रेल ल्याएर उद्घाटन गरेर भोलिपल्टदेखि बन्द हुने र यसले सरकारको आलोचना हुने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको थियो। रेल नियमित सञ्चालन हुने व्यवस्था मिलाएर मात्रै उद्घाटन गर्ने नेपालले भारतलाई उक्त प्रस्तावमा प्रतिक्रिया दिएको थियो।

सरकारले सुरुमा भारतसँग वेट लिजमा रेल ल्याएर सञ्चालन गर्ने योजना बनायो। रेल सेट र जनशक्ति दुवै निश्चित समयका लागि लिने र नेपालको आफ्नै भएपछि फिर्ता गर्ने योजनामा रेल विभाग पुगेको थियो। रेल विभागका इन्जिनियरहरुको टोलीले अध्ययन गर्दै लिज लिएर सञ्चालन गर्नुभन्दा आफ्नै रेल सेट ल्याउनु फाइदा हुने निष्कर्ष निकालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell