कतारको दोहामा जारी कतार टी १० लिगमा फिक्सिङलाई लिएर आइसिसीले अनुसन्धान गरिरहेको जनाएको छ। आइसिसीको एन्टी करप्सन युनिट ( एसियू) ले यस विषयमा अनुसन्धान थालेको आइसिसीले मंगलबार सार्वजनिक गरेको हो।
आइसिसी इन्टिग्रिटी म्यानेजर एलेक्स मार्सलले प्रतियोगिता शुरु हुनु भन्दा अगाडिबाटै टिम मालिक र आयोजक कमिटीमा गरिएको बदलावले शंका उब्जाएको बताए।
'आयोजकले दिएको जानकारीका आधारमा हामीले १२ महिना अघि लिग आयोजना गर्न स्वीकृति दिएका थियौं। यद्यपि टिमको स्वामित्व र आयोजकमा पनि परिवर्तन भएकाले हाम्रो लागि खतराको 'अर्लाम' बजेको हो। हामीले यसका लागि अतिरिक्त अनुसन्धान श्रोतहरु परिचालित गरेका छौं' मार्सलले भनेका छन्।
मार्सलले यसका लागि सम्भावित 'करप्टर' का गतिविधि नियालिरहेको बताएका छन्।
'यसले नयाँ अनुसन्धानको आवश्यकताहरु पनि सिर्जना गरिदिएको छ। आइसिसी र एसियु क्रिकेटलाई भ्रष्टचारविहीन बनाउन हामी लागि परेका छौं। उनले भने।