PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

तरकारीमा विष राखेर परिवार सखाप पार्न खोज्ने आमाको मृत्यु, पाँच छोराछोरी बिरामी



राधेश्याम पटेल

तरकारीमा विष राखेर परिवार सखाप पार्न खोज्ने आमाको मृत्यु, पाँच छोराछोरी बिरामी

वीरगंज : घरायसी झगडाका कारण तरकारीमा विष मिसाई आफ्नै परिवार सखाप पार्ने एक महिलाको प्रयास असफल भएको छ। वीरगंज-२४ रामगढवा (बहुअरी)का जगदीश कुर्मीकी ३५ वर्षीया पत्नी राधिकादेवी कुर्मीले विष खुवाएर आफू र आफ्नो परिवारको हत्या गर्ने प्रयास गरेकी हुन्।

यस्तो प्रयास गर्ने राधिकाको उपचारका क्रममा मृत्यु भएको छ भने परिवारका ५ छोराछोरी बाँच्न सफल भएका छन्। उनीहरुको उपचार हाल वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

राधिकादेवी जगदीशकी दोस्रो पत्नी हुन्। डेढ दशक पहिले जेठी श्रीमतीको मृत्यु भएपछि जगदीशले राधिकासँग विवाह गरेका थिए।

खाना पकाउने विषयमा सोमवार विहान राधिका र छोरी मनीषाबीच झगडा भएको थियो। मनीषा जगदीशकी पहिलो पत्नीतर्फकी छोरी हुन्। रिसमा सोमवार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन्।

विष हालेको खाना खाएर राधिकाका छोरा ३ वर्षीय करिमन भन्ने विवेक कुमार, उनका सौतिनी छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल, १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनीषा पटेल बिरामी परेका थिए। उनीहरुको अवस्था सुधारोन्मुख रहेको र हाल अब्जरभेसनमा राखिएको अस्पतालले छ।

गएराति राधिकाका पति जगदीश कुर्मी काराखानामा काम गर्न परवानीपुरको एउटा कपडा उद्योगमा गएका थिए। प्रहरीले घटनामा परिवारजनलाई बोलाएर सोधपुछ गरेको छ।

परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदिश सोमवार राति घर नआई उद्योगमै बसेका थिए। खाना खाएलगत्तै गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि सोमवार राति वीरगंजको तराई हस्पिटलमा लगिएको थियो। उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको तराई हस्पिटलले जनाएको छ। अन्यलाई तराई हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

‘सोमवार बिहान खाना कसले पकाउने विषयमा राधिका र मनिषाबीच विवाद भएको रहेछ’, प्रहरी निरीक्षक साहले भने, ‘त्यसपछि आवेशमा आएर राधिकाले राति खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell