PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

एल क्लासिको : तनावका बीच सरेको खेल आज राति



पहिलोपोस्ट

एल क्लासिको : तनावका बीच सरेको खेल आज राति
Photo : Gabriel Bouys/AFP/Getty Images

आज राति स्पेनिस फुटबलका महारथी रियल मड्रिड र बार्सिलोना बीच खेल हुँदैछ। स्पेनमा लामो समयको तनाव र राजनीतिक 'मुभमेन्ट'हरु बीच पछि सरेको एल क्लासिको अर्थात महाभिडन्त आज बेलुकी हुँदैछ।

क्लव फुटबलमा हुने यो खेलले विश्वकप भन्दा कम चर्चा पाउँदैन। जारी सिजनमा ला लिगा अंक तालिकाको शीर्ष २ मा समेत रहेका स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल मड्रिड भिड्दैछन् आज राति।

अंक तालिकामा दुवै टिम ३५ अंकसहित शीर्ष दुई भित्र छन्। आजको खेल जित्ने टोली ला लिगाको शीर्ष स्थानमा पुग्ने छन्। अहिले गोल अन्तरको आधारले मात्र बार्सिलोना अगाडि छ।

यी दुई टिमको प्रतिस्पर्धामा खेलाडी, क्षेत्र या शहरको मात्र प्रतिनिधित्व हुँदैन राजनीतिक धारको पनि प्रतिनिधित्व छ। स्पेनमा बार्सिलोनाको जितमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा लागिरहेकाहरुको उत्सव नै मनाउँछन् भने मड्रिडको पक्षमा एकिकृत स्पेनको पक्षमा लागेकाहरुको समर्थन छ।

विश्वभरबाट भने स्पेनिस दुई महारथीहरुको खेल हेर्न आतुर रहन्छन्।

खासमा आज बेलुकी हुने खेल २ महिना अगाडि नै हुनुपर्ने हो। तर, बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेल हुने तयारी भइरहँदा त्यहाँको राजनीतिक अवस्था बिग्रँदै गएको थियो। तनावको अवस्था सिर्जना भइसकेको थियो।

क्याटलोनियाँलाई स्पेनबाट छुट्याउनु पर्ने माग राख्दै आएका ९ जना पृथकतावादीहरुलाई सरकारले पक्राउ गरेर कारबाही अघि बढाएपछि बार्सिलोना असामान्य बनेको थियो।

यसैबीच ला लिगाले 'आफ्नो नियन्त्रण बाहिरको असामान्य परिस्थिति' को कारण देखाउँदै एल क्लासिको पछि सरेको थियो। २६ अक्टोबरमा हुनु पर्ने खेल राजनीतिक कारणबस डिसेम्बर १८ मा अर्थात आज बेलुकीलाई सरेको थियो। त्यतिबेला खेलस्थल सार्नेमा चर्चा चलेको थियो तर दुवै टिमले यसमा असहमति जनाएका थिए।

आजको खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षकले बताएका छन्। बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले तोकिएकै दिन खेल भएको भए अझ उचित हुने बताएका छन्।

'मलाई लाग्छ हामीले तोकिएकै दिनमा खेल खेलेको भए राम्रो हुने थियो। र भोलिको खेल हामीले खेल्न नसक्ने कुनै कारण छैन,' भाल्भर्डेले भनेका छन्।

'यो खेलमा चिन्ता लिनुपर्ने केहि छैन। तर, यसमा इन्जोए भने गर्न सकिन्छ,' रियलका प्रशिक्षक जिदानेले भनेका छन्।

यी दुई टिमबीचको खेलमा सुरक्षालाई विशेष चासो दिइएको छ। आज राति हुने यी दुई स्पेनिस महारथीहरुको २४३ औं भेटमा सुरक्षा चुनौती त्यत्तिकै हुनेछ। खेल करिब २ महिना पछाडि सरे पनि स्पेनको राजनीतिक विवाद भने सेलाएको छैन। यो त लामो समयदेखि चलिआएको छ।

हुन त रियलका प्रशिक्षक एल क्लासिकोमा सबैको ध्यान केन्द्रित भएको बताउँदै आएका छन्। तर उनको ध्यान खेलमा केन्द्रित भए पनि सबैको ध्यान खेलमा केन्द्रित नहुन सक्छ।

दुवै टिम जित हात पार्दै स्पष्ट ३ अंक जोडेर ला लिगाको शीर्ष स्थानमा पुग्न चाहन्छन्।

जारी सिजनमा १६ खेल खेलेको बार्सिलोना ११ जित, २ बराबरी र ३ हार ब्यहोर्दै ३५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ३५ अंकनै जोडेको रियल मड्रिड १६ खेलमा १० जित ५ बराबरी र १ हार सहित गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ।

खेल नेपाली समय अनुसार आज राती १२:४५ बजे बार्सिलोनाको गृह मैदान क्याम्प नोउमा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell