काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गतको आजको दोस्रो खेलमा विराटनगरले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएको १ सय ४५ रन बनाएको थियो। उसका लागि पुनित मेहेराले अर्धशतकीय पारी खेले। उनले २६ बलमा ५ चौका र ४ छक्काको सहायतामा ६१ रन बनाउँदै अभिजित रहे। त्यस्तै सुनिल धमलाले ३६ रन बनाउँदा मोहम्मद जैद आलमले २६ रन बनाए।
पोखराका लागि कप्तान शरद भेषवाकरले २ विकेट लिँदा कुशल मल्ल र सर्वजित लद्दाले समान १/१ विकेट लिए।
१४६ रनको औषत लक्ष्य पछ्याएको पोखराको ब्याटिङ खासै जम्न सकेन्। कप्तान शरद भेषवाकरलाई खाता नखोल्दै गुमाएको पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रन बनाए। त्यसबाहेक कुशल भुर्तेलले २४ रन र आशिफ शेखले १३ रन जोडे पनि अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सिन लायक रह्यो।
पोखरालाई सस्तैमा समेट्न किसोर महतोले ३ विकेट लिँदा मोहम्मद जैद आलम र जितेन्द्र मुखियाले समान २/२ विकेट लिएका थिए। त्यस्तै सहाब आलम, पुनित मेहेरा र नोमन खानले समान १/१ विकेट लिए।
यो सँगै साविक विजेता समेत रहेको पोखराले लगातार दोस्रो हार ब्यहोरेको छ। पहिलो खेलमा काठमाडौंलाई हराएको पोखरा दोस्रो खेलमा बुटवलसँग पराजित भएको थियो। त्यस्तै पहिलो खेलमै धनगढी ब्लुजसँग पराजित भएको बिराटनगरले आज पहिलो जित निकालेको हो।