
बैतडी : यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।
मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरी चौकी हाटमा कार्यरत थिए। आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका-६ सनगाउँमा सडकमै जिप पल्टेको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए।
उनले भने, 'चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो। जिपमा सवार अन्य सात जनाको अवस्था समान्य छ।'
जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।