
स्पेनिस ला लिगाको महाभिडन्त अर्थात एल क्लासिको गोल रहित बराबरीमा टुंगिएको छ। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।
सुरुवातबाटै खेल प्रतिस्पपर्धात्मक बन्दै गयो। खेलको १० औं मिनेटमै बेन्जेमाको प्रहार सेभ भएको थियो भने ३१ औं मिनेटमा लियोनल मेसीलाई गोल गर्नबाट सर्जियो रामोसले रोकेका थिए। ४१ औं मिनेटमा पनि बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न सकेन।दोस्रो हाफमा पनि दुवै टिमले अवसरहरु बनाएका थिए। लियोनल मेस्सीले ६० औं मिनेटमा पाएको अवसरमा चु्क्दा गोल गर्न असफल रहे।
खेलको ७२ औं मिनेटमा रियलका लागि बेलले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड करार दिए। खेलमा भिएआर रियलका लागि घातक सावित भयो।
खेलमा बराबरी खेल्दै अंक बाँडेका रियल र बार्सिलोनाका समान ३६ अंक सहित ला लिगा अंक तालिकामा शीर्ष २ भित्र कायम रहेका छन्।
आज भएको खेल २ महिना अगाडि नै हुनुपर्ने हो। तर, बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेल हुने तयारी भइरहँदा त्यहाँको राजनीतिक अवस्था बिग्रँदै गएको थियो। तनावको अवस्था सिर्जना भइसकेको थियो।
क्याटलोनियाँलाई स्पेनबाट छुट्याउनु पर्ने माग राख्दै आएका ९ जना पृथकतावादीहरुलाई सरकारले पक्राउ गरेर कारबाही अघि बढाएपछि बार्सिलोना असामान्य बनेको थियो।
यसैबीच ला लिगाले 'आफ्नो नियन्त्रण बाहिरको असामान्य परिस्थिति' को कारण देखाउँदै एल क्लासिको पछि सरेको थियो। २६ अक्टोबरमा हुनु पर्ने खेल राजनीतिक कारणबस डिसेम्बर १८ लाई सरेको थियो।