
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको छ। डेमोक्र्याट्सहरुको बाहुल्यता रहेको तल्लो सदनमा ट्रम्पलाई शक्ति दुरुपयोग गरेको आरोपमा महाभियोग लगाउने सम्बन्धी प्रस्ताव पारित गरिएको हो।
महाभियोग लगाउन मिल्ने ठहर तल्लो सदनले गरे पनि माथिल्लो सदनले अनुमोदन नगरेसम्म ट्रम्प पदमुक्त हुने छैनन्। सिनेटमा रिपब्लिकनहरुको मत बढी रहेकाले पदमुक्त हुने सम्भवना भने कम छ।
तल्लो सदनमा उनीविरुद्ध २३० मत परेको छ भने उनको पक्षमा १९७ मत परेको छ। बुधबार राति मतदान भइरहँदा राष्ट्रपति ट्रम्प भने मिसिगनमा चुनावी सभालाई सम्बोधन गर्दै थिए। ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्नका लागि चुनावी दौडमा छन्।
तल्लो सदनबाट आरोप पारित भएसँगै अब यो आरोप अनुमोदनमा लागि माथिल्लो सदन सिनेट प्रवेश गर्दैछ। सिनेटमा भने रिपब्लिकनहरुको मत बढी छ।
ह्वाइट हाउसले सिनेटमा हुने सुनुवाइका क्रममा राष्ट्रपति 'निर्दोष' साबित हुने कुरामा विश्वस्त रहेको दाबी गरेको छ।
ट्रम्म अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने तेस्रो राष्ट्रपति बन्ने भएका छन्। यसअघि एन्ड्रु जोनसन र बिल क्लिन्टनले महाभियोग सामना गरिसकेका छन्।