
काठमाडौं : कुनै चर्चाविनै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच माघ ९ गतेको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा तालमेलको सहमति भएको छ। पहिलो चरणमा चार सिट रिक्त हुने उक्त प्रदेशमा दुई दलले दुई/दुई सिट लिनेगरी तालमेल भएको हो।
राष्ट्रियसभामा राजपाका दुईमात्र सदस्य छन्। दुबै प्रदेश २ बाट निर्वाचित हुन्। सहमतिले राजपाको दुई सिट जोगिने करिब निश्चित जस्तै छ।
प्रदेश २ को सरकारको समेत नेतृत्व गरेको समाजवादी पार्टी नेकपासँगको सत्ता सहकार्यमा छ। प्रदेश सरकारमा समाजवादी पार्टी र राजपा सहकाकर्यमा छन्। तर, राष्ट्रियसभा निर्वाचनमा भने रापजासँग नेकपाले तालमेल गरेको हो। समाजवादीका तर्फबाट पनि राष्ट्रियसभामा दुई नै सदस्य छन्। जसमा प्रमिला कुमारीको कार्यकाल ६ वर्षको छ। रामपृत पासवानको कार्यकाल माघ २० मै सकिँदैछ।
सत्ता साझेदार दलका सदस्यको नै कार्यकाल सकिने अवस्थामा पनि नेकपाले संघीय समाजवादीको सट्टा राजपालाई साथ लिएको हो।
यस्तो छ अंकगणित
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहनेछन्। अंकगणित अनुसार तालमेलमा कुनै मतभेद नभएमा चारै सिट गठबन्धनले जित्नेछ।
स्थानीय तहतर्फ नेकपा र राजपाको गरी कूल १३७ मत हुन्छ। नेपाली कांग्रेस, समाजवादी पार्टी र अन्य स्वतन्त्र समेत गरी १२६ मत छ। प्रदेशसभामा नेकपा र राजपाको कूल ५७ मत छ। अन्य सबैको मत ५० हुन्छ । हालैको उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष राजपाले गुमाएको थियो। उक्त स्थानमा नेकपा विजयी भएकाले कूल अंकगणितमा फरक पर्ने अवस्था छैन।
मतदानमा भोट क्रस नभएमा नेकपा-राजपा गठबन्धनका उम्मेदवारको पक्षमा १९४ तथा अर्को पक्षमा १७६ मत हुनेछ। १८ मतको फरक गठबन्धन र अन्य शक्तिसँग रहनेछ।
कसलाई घाटा?
प्रदेश २ मा राजपाका दुबै स्थान एकैपटक रिक्त हुन लागेका छन्। गठबन्धनपछि दुबै सिट कायम राख्ने स्थितिमा रापजा छ। रमेशप्रसाद यादव र वृशेषचन्द्र लाल दुबैको कार्यकाल माघ २० मा नै सकिँदैछ।
यस्तै, कांग्रेसबाट एक सिट रिक्त हुँदैछ। मुक्ताकुमारी यादवको कार्यकाल २ वर्षको छ । गठबन्धनले कांग्रेसले उक्त सिट गुमाउने देखिन्छ।
समाजवादी पार्टीका रामपृत पासवानको पनि कार्यकाल माघ २० मा नै सकिँदैछ। गठबन्धनपछि उक्त स्थान समाजवादीले पनि गुमाउने देखिन्छ।
नेकपबाट प्रदेश २ मा कुनै पनि स्थान रिक्त हुने छैन। गठबन्धनपछि प्राप्त दुई सिट नेकपालाई थप हुनेछ।