PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही शुरु



रासस

सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही शुरु
प्रतीकात्मक तस्विर।

दमौली : दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ। धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नम्बरको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारबाही गरेको हो।

सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

'उक्त जिपले मान्छे बोक्न पाउँदैन, सामान ढुवानी गर्ने मात्र हो', उनले भने, 'सवारी ऐन दर्ताविपरीत ढुवानीमा दर्ता भएको जिपले मान्छे बोकेपछि कारबाहीका लागि नियन्त्रणमा लिएका हौँ।'

विवाहमा जाँदै गरेको जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याएको जनाएको छ। यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ख ९५५५ नम्बरको बसलाई नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले शैक्षिक भ्रमण लैजाने क्रममा २६ जना क्षमताको सिटमा ६० जना विद्यार्थी राखेपछि बसलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दुई वटा बस खोजेर विद्यार्थीलाई भ्रमण लैजाने व्यवस्था समेत मिलाइदिएको थियो।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए।

कारको लाइसेन्सले बस चलाएपछि चालक परे कारबाहीमा

साना सवारी साधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। कार/जिप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा ४ ख ९३२० नम्बरको बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।

धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सदनको बा ४ ख ९३२० नम्बरको विद्यालय बसमा ३९ जना विद्यार्थी सवार थिए। बुटवल, भैरहवा, पाल्पा, स्याङ्जा, पोखरा हुँदै गोरखाको मनकामना जान लागेको उक्त बसलाई नियन्त्रणमा लिएर अर्को बस खोजेर पठाइएको थियो।

'विद्यार्थीको ज्यानै जोखिममा पारेर बस चलाउने चालकलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएका छौँ', उनले भने, 'साथै दुई हजार जरिवानासमेत गरिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell