
काठमाडौं : प्रो स्पोर्ट्स प्रालीको आयोजनामा १३ औँ संस्करणको काठमाडौं म्याराथन प्रतियोगिता आगामी पुस ५ गते हुने भएको छ।
आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले ७ स्पर्धामा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पत्रकार सम्मेलनमा जानकारी दिए। प्रदेश ३ का पर्यटनमन्त्री अरुणप्रसाद नेपालले प्रतियोगितालाई काठमाडौं बाहिर पनि लैजानुपर्ने सुझाव दिए।
प्रतियोगितामा महिला र पुरुषको म्याराथन, हाफ म्याराथन, पाँच किमीको खुला दौड, कर्पोरेट रिले, पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौड हुनेछ। त्यस्तै यसपटकको म्याराथनमा फेमिली दौड पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
म्याराथन त्रिपुरेश्वरबाट शुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन ढोका, युएनपार्क, शंखमूल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर विमानस्थल, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घण्टाघर, भद्रकाली र शहीदगेट हुँदै दशरथ रंगशालामा पुगेर समाप्त हुनेछ।
यस्तै हाफ म्याराथन त्रिपुरेश्वरबाट शुरुभई थापाथली, माइतीघर, सिंहदरबारको दक्षिणी गेट, हनुमानथान, अनामनगर, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट हुँदै रंगशालामा आएर सकिनेछ।
म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेता खेलाडीले ५० हजार रुपैयाँ, दोस्रो हुने खेलाडीले २० हजार तथा तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले २० हजार रुपैयाँ, दोस्रोले १३ हजार र तेस्रो हुने खेलाडीले सात हजार रुपैयाँ पाउनेछन्। पाँच किमीको खुला दौडको विजेताले १० हजार रुपैयाँ, दोस्रोले छ हजार र तेस्रो हुने खेलाडीले चार हजार रुपैयाँ प्राप्त गर्नेछन्।
कर्पोरेट रिलेतर्फको विजेताले २० हजार रुपैयाँ, दोस्रोले १० र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौडको विजेताले पाँच हजार रुपैयाँ, दोस्रोले तीन हजार र तेस्रो हुने खेलाडीले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी फेमिलीतर्फको दौडको विजेताले १० हजार रुपैयाँ, दोस्रोले पाँच हजार तथा तेस्रो हुनेले तीन हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।