PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

मनमोहन स्मृति एक दिवसीय क्रिकेट पुस १५ देखि, मलेसियाको टिम पनि खेल्ने



पहिलोपोस्ट

मनमोहन स्मृति एक दिवसीय क्रिकेट पुस १५ देखि, मलेसियाको टिम पनि खेल्ने

काठमाडौं : दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि हुने भएको छ। इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा सुनसरीको इनरुवामा सो क्रिकेट प्रतियोगिता हुने बताइएको छ।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी/पुलिस/एपीएफ), सात प्रदेश, मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक विप्लव घोषले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए। सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ। समूहको शीर्ष टिम सोझै सेमिफाइनलमा पुग्ने छन्।

विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टिमले समान ३० हजार नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ३ हजार ५ सय नगद प्रदान गरिने छ। ‘म्यान अफ द सिरिज’ लाई नगद ५५ हजार पुरस्कार दिइने छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले धेरै भन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला त्यही फर्म्याटको क्रिकेट गर्न गइरहेकोमा आयोजकलाई धन्यवाद दिदै प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले पुरुष क्रिकेट आयोजना गर्दै आइरहेकोमा अब महिला क्रिकेट आयोजनामा पनि सेन्टरले ध्यान दिइरहेको बताए।

प्रतियोगिता सञ्चालन गर्न एक करोड पच्चीस लाख २ हजार ५ सय खर्च हुने आयोजकको भनाइ छ। फाइनल माघ ४ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell