
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा धेरै उमेरका प्रवीण ताम्बेलाई कोलकता नाइट राइडर्सले अनुवन्धित गरेको छ। बिहीबार भएको अक्सनमा कोलतकतासँग अनुवन्धित ताम्बे सबैभन्दा पाका खेलाडी हुन्।
अक्सनमा सहभागी ३३८ मध्ये ६२ खेलाडी बिके। जसमध्ये २९ विदेशी खेलाडी छन्। सबैभन्दा कम उमेरका खेलाडीमाथि कसैले बोली लगाएन। उनी अनसोल्ड भए।
ताम्वेको बेस प्राइस २० लाख थियो। कोलकताले उनलाई बेस प्राइसमै खरिद गरेको हो।
सबैभन्दा कम उमेरका (१५ वर्ष) खेलाडी अफगानिस्तानका नुर अहमदलाई भने कुनै टिमले बोली लगाएन। उनको बेस प्राइस ३० लाख भारतीय रुपैयाँ थियो।
ताम्बेको कोलकतामा अनुवन्धन यतिबेला भारतीय सामाजिक सञ्जालमा चर्चा छ।
को हुन ताम्बे?
१९७१ मा जन्मिएका ताम्बे लेग ब्रेक स्पिनर हुन्। उनको आइपिएल डेब्यू नै ४२ वर्षको उमेरमा सन् २०१३ मा भएको थियो। उनले सन् २०१३ देखि २०१६ सम्म चार सिजनमा ३३ खेल खेले। यसक्रममा उनले २८ विकेट लिए। उनले राजस्तान रोयल्स, गुजरात लायन्स र सनराइजर्स हैदराबादबाट खेलिसकेका छन्। २०१६ पछि भने उनले खेलेका छैनन्। सन् २०१७ मा हैदराबादले अनुबन्धित गरे पनि उनी प्लेइङ सेटमा पर्न सकेनन्।
अनुबन्धित भएपछि ताम्बेले अझै पनि युवा खेलाडी जस्तै खेल्न सक्ने विश्वास रहेको बताएका छन्।
'म अझै पनि २० वर्षे खेलाडी हुँ भन्ने 'माइन्ड सेट' गरेर खेल्न सक्छु' १८ वर्षीय छोराका पिता रहेका ताम्बेले भने।
'म मेरो सबै अनुभव र शक्ति टिमका लागि लगाउने छु। र सकरात्मक सोच राख्ने छु। म त्यति गर्न सक्छु चाहे म प्लेइङ सेटमा परौँ वा नपरौँ,' ताम्बेले भनेका छन्, 'मान्छेहरुले त धेरै कुरा भन्ने गर्छन्। तर म काम मेहेनतका साथ गर्नेछु। फिल्डिङमा होस् वा बलिङमा मलाई दिइएको भूमिका निर्वाह गर्नेछु।'
उनी खेल शिक्षकका रुपमा डिवाइ पाटिल युनिभर्सिटीमा कार्यरत छन्।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले आफ्नो परिवारको राम्रो समर्थन रहेको बताएका छन्।
'कोलकताले म'मा केही देखेर नै अनुवन्धित गरेको हुनुपर्छ। म केकेआरको व्यवस्थापनप्रति कृतज्ञ छु। टिमलाई म पनि केही दिन चाहन्छु।' उनले आफ्नो छोराको बारेमा कुरा गर्दै भनेका छन्, ' मेरो छोराले भने कहिल्यै क्रिकेटर बन्न चाहेन। उसले इन्जिनियरिङ पेशा छानेको छ।'
कोलकाता नाइट राइडर्सको टिम:दिनेश कार्तिक, आंद्रे रसेल, सुनिल नारिन, कुलदीप यादव, शुभमन गिल, लक्की फर्ग्युसन, नीतिश राणा, सन्दीप वारियर, ह्यारी गुरने, कमलेश नागरकोटी, शिवम मावी, सिद्धेश लाड (ट्रेड), प्रसिद्ध कृष्णा, रिंकु सिंह, इयोन मोर्गन, राहुल त्रिपाठी, टम बेंटन, निखिल नायक, क्रिस ग्रिन, प्याट कमिन्स, वरुण चक्रवर्ती, एम सिद्धार्थ, प्रवीण ताम्बे।