PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सागपछि पोखरा रंगशालाको यो गति : छरिए फोहोर, ओइलिए फूल, सुके दुबो

सागपछि पोखरा रंगशालाको यो गति : छरिए फोहोर, ओइलिए फूल, सुके दुबो

विष्णु गौतम/पहिलोपोस्ट


पोखरा : पोखरा रंगशाला दुई हप्ता अघिसम्म दिनरात व्यस्त देखिन्थ्यो। १३ औं सागका लागि तामझामका साथ लगानी गरेर तयार पारिएको रंगशाला परिसर अहिले 'डम्पिङ साइट' जस्तै भएको छ।

रंगशाला परिसरमा पुगेर हेर्दा सागमा माला र खाजा खाएका फ्याँकेका प्लास्टिक जताततै छरेको देखिन्छ। साग आउन लाग्दा चुस्त बनेको व्यवस्थापन साग सकिँदा सुस्त देखिएको छ। अतिथिलाई लगाएको माला यत्रतत्र फालिएका छन्।

रंगशालाको मैदानमा व्यवस्थापनका सम्वन्धित निकाय उदासिन रहँदा त्यहाँको दुबो पानी नपाएर मरेको छ। अतिथिलाई देखाउन रोपिएका फूल ओइलिएका छन्। तर स्थानीय आयोजक भने साग भव्य रुपमा सम्पन्न भयो भन्दै कहिले पार्टी प्यालेसमा पार्टी दिन व्यस्त छन् त कहिले भ्रमणमा।

अन्तिम समयमा हतारोमा लाज छोपेरै संचालन गरिएको रंगशालामा साग सकिएसँगै निर्माण कार्य पुरा नभएका ब्लकहरु तत्काल निमार्ण सुरु होलान् भन्ने अनुमान स्थानीयको थियो। तर, साग सकिएसँगै पूर्वाधार निर्माण ओझेलमा परेको छ।

साग सम्पन्न त सम्पन्न भयो। साग सकिएसँगै  सदस्य–सचिवले चाँडै खेल तथा व्यवस्थापनमा भएको खर्च बारेमा सार्वजनिक गर्ने बताएका छन्। पोखरामा पनि सागका दौरान धेरै खेलहरु सञ्चालन भए।

साग आयोजकलाई हतारमा सामान खरिददेखि व्यवस्थापन हुँदा धेरै सामाग्री कमसल र  आफ्ना नजिकका आफ्न्तहरुलाई सामाग्री खरीद र व्यवस्थापन गर्न लगाएको आरोप समेत लाग्ने गरेको छ।

रंगशाला निमार्णमा प्रयोग भएका सामाग्री कस्ता थिय भन्ने त रंगशाला प्रवेश गर्दा सहजै थाहा पाउन सकिन्छ। त्यसमा पनि साग सकिएसँगै रंगशालामा देखिने ओइलाएका फूलका बोट, सुकेका दुबो, गायव भएका गमलाहरुले सागपछि फेरि अवस्था जस्ताको तस्तै हुने हो की भन्ने त्रास उब्जाउँछ।



ट्रेन्डिङ पोस्ट

Ncell