PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

जिएमआरले अपर कर्णालीमा उत्पादन गर्ने विद्युत बंगलादेशले २५ वर्षमा पाँच खर्ब ११ अर्बको खपत गर्ने



पहिलोपोस्ट

जिएमआरले अपर कर्णालीमा उत्पादन गर्ने विद्युत बंगलादेशले २५ वर्षमा पाँच खर्ब ११ अर्बको खपत गर्ने

काठमाडौं : नेपालको मध्य पश्चिममा निर्माण हुन लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत बंगलादेशले किन्ने भएको छ।

बंगलादेशको मन्त्रीपरिषदले गत बुधवार नै जिएमआरको ५०० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम मार्फत् २५ वर्ष सम्म खरीद गर्ने निर्णय गरेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्।

प्रतियुनिट बंगालदेशी टाका ६.४२८४ (८.६२ नेपाली रुपैयाँ) मा जिएमआरको विद्युत भारतीय विद्युत नियमन आयोगको नीति अनुसार भारतीय कम्पनी एनटिपिसीमार्फत् किन्ने निर्णय गरेको हो।

२५ वर्ष सम्म बंगलादेशले जिएमआरको ५०० मेगावाट विद्युतको लागि ३८ हजार १६०.७५ करोड बंगलादेशी टाका तिर्ने समाचारमा उल्लेख छ। जुन नेपाली पाँच खर्ब ११ अर्ब ७० करोड रुपैयाँ बराबर हो।

सुरुवातमा भारतमा विद्युत निर्यात गर्ने लक्ष्य बनाएको जिएमआरले पछि बंगलादेशमा विद्युत निर्यात गर्ने भन्दै आयोजनाको म्याद थप गरिरहेको थियो।

आयोजनामा कुनै काम नगरे पनि बंगलादेशले विद्युत किन्ने ग्यारेन्टी गर्ने बित्तिकै आयोजनाको बित्तीय व्यवस्थापन गरेर काम अघि बढाउने जिएमआरले दावी गर्दै आएको थियो।

९०० मेगावाट क्षमताको उक्त आयोजना लगानी बोर्डको ग्लोबल टेण्डरमा भाग लिएर जिएमआरले हात पारेको थियो। ६ वर्ष अघि आयोजना विकास सम्झौता गरे पनि विद्युत किन्ने ग्यारेन्टी नहुँदा आयोजनाकोबित्तीय व्यवस्थापन हुन नसकेर अन्य काम पनि प्रभावित हुँदै आएको थियो।

बंगलादेशले विद्युत किन्ने ग्यारेन्टी गरेसँगै आयोजनाको काम अघि बढ्ने लगानी बोर्डको विश्वास छ। तर, जिएमआरका प्रतिनिधिले बित्तीय व्यवस्थापन नगरेसम्म आयोजना अघि बढिहाल्ने ग्यारेन्टी भने हुने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell