PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई स्थानीयको असहयोग, निर्माण सामग्री चोर्नेदेखि चौपाया छोड्नेसम्म



राधेश्याम पटेल

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई स्थानीयको असहयोग, निर्माण सामग्री चोर्नेदेखि चौपाया छोड्नेसम्म

वीरगंज : प्रदेश २ को कृषि क्षेत्रको एउटा महत्वपूर्ण कार्यालय हो – बारा परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र। तर यो कार्यालय पछिल्लो समय स्थानीयहरूबाट गरिने व्यवहारका कारण पिरोलिएको छ। जसले कार्यालयका हाकिमदेखि कर्मचारीसम्मलाई निराश बनाएको छ।

स्थानीयको विभिन्न नकारात्मक गतिविधिले गर्दा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रभित्र सहजै अनुसन्धान गर्न नसकिने अवस्था रहेको क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए। स्थानीयले तारजाली, पर्खाल भत्काउने, निर्माण सामग्री चोरी गर्ने, छाडा चौपाया छोड्ने आदि गर्नाले अनुसन्धान गर्ने कृषि प्लटमा क्षति पुगेको उनी बताउँछन्। त्यसको साथै बोटविरूवामा फलेका फलहरू टिपेर लग्ने, चौकिदारलाई गालीगलौज गर्ने जस्ता कार्यले अनुसन्धानमा प्रभाव पर्ने गरेको उनले बताए।

उनले भने, ‘यस्तो अवस्थामा भोलिका दिनमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहन्छ या रहदैन भन्ने चिन्ता छ।’

नेपालको सबैभन्दा पुरानो कृषि अनुसन्धान केन्द्रको रूपमा रहेको क्षेत्रीय कृषि अनुसन्धान २००४ सालमा कृषि फारमको नामले स्थापना भएको थियो। यसले २०१४ सालमा माछा, २०१६ सालमा बागवानी, केन्द्रीय ह्याचरी, २०४५ मा क्षेत्रीय कृषि अनुसन्धानको रूपमा पहिचान पाएको थियो। केन्द्रकै परिसरभित्र रहेको माटो प्रयोगशाला पनि जीर्ण र दक्ष जनशक्तिको अभावमा बन्द छ।

यो कार्यालयले सहजरूपमा धान, गहुँ मकैको बीउबिजन, बाली लगाउने तरीका, उत्पादन बढाउने तरीका, माछापालन, कुखुरा, टर्की, बट्टाइपालन, बागवानीलगायत क्षेत्रमा पनि बारा, पर्सालगायत प्रदेश २ का विभिन्न जिल्लाका किसानहरूलाई सहयोग गर्दै आएको छ। 

क्षेत्रीय निर्देशक श्रेष्ठले स्थानीय अगुवा तथा नेताहरूलाई क्षेत्रीय कृषि अनुन्धान जोगाउन जिम्मेवार भई लाग्न समेत अपिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell