PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिमाली गिद्धको शरीरमा स्याटलाइट ट्रान्समिटर जोड्दाको त्यो रोमाञ्चकता



पहिलोपोस्ट

हिमाली गिद्धको शरीरमा स्याटलाइट ट्रान्समिटर जोड्दाको त्यो रोमाञ्चकता

  • राजु आचार्य -

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिमाली गिद्धलाई समातेर स्याटलाइट ट्रान्समिटर जडान गर्दैछन् भन्ने सुनेको थिएँ। जान एकदमै मन लागेको थियो। नेपालमा यो प्रजातिमा यस्तो प्रबिधि पहिलोपटक प्रयोग गर्न लागिएको थियो। यो प्रजाति मेरो लागि परिचित पनि थियो। आज भन्दा १९ वर्ष अघि मुस्ताङमा मैले जुन प्रजातिको अध्ययन थालेको थिएँ सोही प्रजातिलाई नजिकबाट देख्ने र छुने मौका गुमाउन चाहन्नथेँ म। कसरी जाने होला भनेर सोचिरहेको थिएँ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना तथा संरक्षण अधिकृत ऋषि बरालको फोन आयो।

‘दाइ म भोलि ठूला खर्क जान लागेको। तपाइँ पनि जाने हो?’

मैले केही पनि सोचिन र हुन्छ भनिहालेँ। यस्तो मौका चुकाउने कुरै थिएन।

बिहान ७ बजे पोखराबाट म, ऋषि बराल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना/सम्पर्क कार्यालयका नायव सुब्बा प्रकाश भुजेल दुई वटा मोटरसाइकलमा ठूला खर्कतिर लाग्यौं। बगर, ह्याँग्जा, फेदी हुँदै धम्पुस पुगियो। करिब २५ वर्षपछि धम्पुस पुग्दा सबै नौलो देखिएको थियो। नयाँ घरहरू, बाटाहरू, मानिसका परिवर्तन भएका जीवन शैली। सबै मेरा लागि नौला थिए। मोटरसाइकल धम्पुसमा राखेर करिब १ घण्टाको पैदल दुरीमा पुगियो ठूला खर्क। यसलाई अस्ट्रेलियन क्याम्प पनि भनिन्छ। पहिला यस क्षेत्रमा होटेल नहुँदा अस्ट्रेलियन समूह क्याम्प गरेर बसेको हुनाले यस ठाउँको नामाकरण नै भयो अस्ट्रेलियन क्याम्प। नेपाली र विदेशी समूहको बाक्लो उपस्थिति रहने गर्छ यहाँ। यहाँबाट अन्नपूर्ण हिम शृङ्खला र सूर्योदय राम्रोसँग देख्न सकिन्छ। यो ठाउँ अलिक महँगो पनि छ।

हामी पुग्दा अनुसन्धान टोली त्यहाँ रहेनछ। फोन सम्पर्क भयोl फेरि धम्पुस तिर नै अर्को बाटोबाट फर्कनुपर्ने भयो। सुरुमै फोन नगरेकोमा पछुतो पनि लाग्यो।

++‍+

ठूला खर्क क्षेत्रमा लामो समयदेखि सिकारी चराको गणना हुँदै आएको छ। यस क्षेत्र यिनै चराको बसाइसराइको लागि विश्वमा चर्चित छ। अस्ट्रेलियन क्याम्पबाट पहाडको धारैधार केही तल पुगेपछि अनुसन्धान टोलीसँग भेट भयो। करिब ३०० मिटर पर सुरक्षित पासो थपिएको थियो। अनुसन्धान टोली आकाशबाट नदेखिने गरी रुख/झाडीको छेल परेर बसेका थिए। चर्को बोल्न प्रतिबन्ध थियो। हामी पनि झाडीभित्रै छिर्‍यौं। हिमाली गिद्धले मानिसलाई देख्यो भने पासोमा पर्ने सम्भावना न्युन थियो।

हिमाली गिद्धलाई पासोमा पार्न पोखरादेखि राँगाको मासु मगाएर ल्याइएको रहेछ। बीचमा मासु र वरिपरि करिब १०-११ वटा गोलो पासोहरू थापिएको थियो। खुट्टा पर्ने बित्तिकै नरम तारले खुट्टा कस्सिन्थ्यो। केही पर सम्म गए पनि टाढा जान सक्थेनन्, गिद्धहरू। गिद्ध पर्‍यो कि परेन भनेर हेर्न २५ मिटर पर सानो रुखको रङ्ग जस्तै देखिने टेन्टबाट एक जनाले निहालिरहेका थिए। कहिले काहीँ गाई बस्तु, काग र अन्य अनुसन्धानलाई अनावश्यक चराहरू नपरून् भनेर पनि चियो गरिरहनु पर्थ्यो। बाटोमा आउने जाने मानिसहरूलाई हल्ला नगर्नुहोला भनेर सम्झाइरहनु पनि पर्ने। बिहान थपिएको पासो वरिपरि हिमाली गिद्धहरू उडे पनि भुईँमा अहिलेसम्म झरेका थिएनन्।

सानो टेन्ट भित्र चर्को घाम लागेको बेला नबोली बस्नु साच्चै गाह्रो काम। सन्देश गुरुङ टेन्ट भित्र थिए। बस्दाबस्दा बोर लागेछ कि क्या हो, वाकिटकीबाट आवाज आयो - ‘के हो ? टेर्दैन त! किन न झरेको होला।‘

आवाज सन्देश गुरुङको थियोl उनले हिमाली गिद्धलाई गाली पो गरे!

हामी लुकेको ठाउँबाट अनुसन्धान टोली प्रमुख डाक्टर तुलसी सुबेदीले भने ‘मौसमले साथ दिएन! झर्नु त पर्ने हो’ भन्दै थिए। उनले मतिर फर्केर भने ‘के गर्ने हो दाइ, यिनलाई कसरी पासो भएको ठाउँमा झार्ने होला?’

त्यतिखेरै माथितिरबाट चर्को स्वरमा गीत बजाउँदै कोही झरिरहेको थियो। ऋषि बरालले भने, ‘कति हल्ला गर्छन् यो बाटोमा? नजिक आएका गिद्ध पनि भाग्ने भए त!’

हाम्रा लागि खाना लिएर होटेलको भाइ आइपुगेको रहेछ। सबै जम्मा भयौंl सिकारी चरामा लामो समयदेखि अनुसन्धान गरी रहेका सन्देश गुरुङ, चमेरामा रुची भएका सञ्जीव बानिया, चरामा रुची भएका सबिन केसी, अनुसन्धान कर्मी तथा संरक्षणकर्मी ऋषि बराल, प्रकाश भुजेल सबै जम्मा भए पछि खाना खाइयो।

गिद्ध पासो भएको ठाउँमा किन बसेन भन्ने विषयमा मैले एउटा तर्क राखेऔ ‘कतै गिद्ध रिसाउन त रिसाएन? तिमीहरू चिकन फ्राई खाने हामीलाई काँचो मासु दिएको भनेर? यी आधुनिक गिद्ध त होइनन् नि?‘

सबै हाँसियो।

गिद्ध कुर्न राखिएको टेन्ट

बेलुकी ४ बजेसम्म पनि हिमाली गिद्ध आकाशबाट भुईँतिर झर्दै झरेनन्। मौसम दिनभर राम्रो थिएन। चिसो बढ्दै गयो। डाक्टर तुलसीले फर्कने निधो गरे। पासो फुकाइयो। मासुलाई बोरामा हालेर ठुलो ढुङ्गाले झाडी नजिकै थिचियो। १५ मिनेट माथिको ठूलाखर्क तिर लाग्यौं सबैजना। म भने गिद्धलाई नजिकबाट नियालेर फोटो खिच्ने धोका पूरा नभएकोमा पछुतो मान्दै थिएँ। किनकि भोलि दिउँसो त पोखरा फर्कनु छ।

एक जनाले उकालोमा सम्झाए - ‘अहो आज त नेपाल र भुटानको फुटबल फाइनल म्याच। सागको क्लोजिङ पनि। हेर्न पाए हुने नि।‘

मलाई भने गिद्धको फोटो खिच्ने धोको अधुरो रहने कि भन्ने पिरमात्रै थियो, उनले त्यसो भनिरहँदा।

‌‌‌+++

भोलिपल्ट मौसम खुल्यो। बिहान ८ बजेभित्रै पासो थापिसकिएको थियो। त्यस दिन थुप्रै गिद्धहरू उडिरहेका थिए। पासो भएको ठाउँमा मङ्गोलियादेखि बसाई सराइ गर्दै गरेका केही गोमायु महाचील आएर बसेl मासु भएको ठाउँमा अवतरण गरेको हुनाले पासोमा परेको थिएन। पासोमा परेको भए गएर फुकाएर उडाउनु पर्थ्यो।

हामी दूरबिनको सहायताले तिनलाई हेरिरहेका थियौं। हेर्दैजाँदा केही हिमाली गिद्धहरू पनि तलतिर झरे। हिमाली गिद्धहरू मासु भएको ठाउँमा अवतरण गर्नुभन्दा पनि केही पर अवतरण गरेर हिँड्दै थिए। पासो पनि सोही अनुसार थपिएको थियो। ओहो! हिमाली गिद्ध मासु भएको ठाउँतिर आउन लागे।

ऋषिले भने, ‘अहो दाइको क्यामेरामा त गज्जबको भिडियो आउने भयो!’

बिहान पासो राख्दा नै मैले टाइम ल्याप्समा मोबाइल राखेर आएको थिएँ। करिब ४ घण्टा बितिसकेको थियो। मलाई मोबाइलको ब्याट्री सकियो कि भन्ने चिन्ता थियो।

दुवै गिद्धको झगडाले गर्दा हिमाली गिद्ध पासोमा परेको थाहा भयो। अनुसन्धान समूह एकै पटक पासोतिर भागे। म झोला खोज्नतिर लागेँ। यसरी भाग्नुको पछाडिको कारण भने अन्य चराहरू नपरून् भन्ने हो। विशेष गरी पासोमा परेको चरालाई जति छिटो सकिन्छ त्यति छिटो नै छोड्नुपर्छ। ठूला स्तनधारीहरूलाई डार्ट गरेर बेहोस बनाई काम गरिन्छ। तर, गिद्ध लगायत चराहरूलाई बेहोस गरिँदैन। त्यसैले तनावमा रहेको चरालाई लामो समयसम्म जालमा राख्नु उचित हुँदैन।

+++

सन्देश गुरुङले हिमाली गिद्ध समाते। हामीले खोजेको गिद्ध पनि यही थियो। अर्को गोमायु महाचील पनि पासोमा परेको थियो। जुन डाक्टर तुलसी सुबेदीले समातेका थिए।

‘ल फोटो खिच्ने भए खिच्नु है, म छोडी हाल्छु,’ उनले भने।

अनुसन्धानको नेतृत्व गरिरहेका डा. तुलसी सुबेदी हिमाली गिद्धलाई स्याटलाइट ट्रान्समिटर लगाएर नछोड्ने बेलासम्म तनावमा देखिन्थेl अन्तमा उनी हाँसे!

गोमायु महाचीलमा स्याटलाइट ट्रान्समlटर नराख्ने भएकाले यसलाई छोड्न लागिएको थियो। छिटो छिटो यसको फोटो खिचे पछि डाक्टर सुबेदीले त्यसलाई छोडिदिए। यो प्रजातिलाई छोड्ने बित्तिकै सबैको ध्यान हिमाली गिद्धतिर लाग्यो।

सुरुमा पासोमा परेको फोटो मैले खिच्न नै भ्याइन। दगुरेर अरू सबै पासो भएको ठाउँमा पुग्दा, म भने मोबाइल भएको ठाउँतिर लागेको थिएँ। स्विच अफ भई सकेको रहेछ। कतिखेर भयो थाहा भएन। ब्याट्री र मेमोरी सकिन लागेको क्यामेराले फोटो र भिडिओ खिच्नु बाहेक कुनै विकल्प थिएन।

हिमाली गिद्ध अजङ्गको थियो। चुच्चो केही तलतिर फर्किएको र तिखो। यसले ठुँग्यो भने १ पाउ मासु निकाल्ला जस्तो। टाउकोमा छालाको क्याप लगाई सकेपछि घाम कम लाग्ने ठाउँमा गिद्धलाई ल्याइयो। यसरी क्याप लगाउँदा यिनको तनाव कम गर्न सकिन्छ। साथसाथै काम गर्न सजिलो पनि।

काम गरी रहँदा फुत्कियो भने बरबाद हुन्छ भनेर नरम रस्सी र छालाले रुखमा बाँधियो। हिमाली गिद्धलाई नियन्त्रणमा लिएर स्याटलाइट ट्रान्समिटर लगाउन कम्तीमा ४ जना चाहिने रहेछ। काम गरिरहुन्जेल सन्देशले काखमा राखिरहे गिद्धलाई। ऋषिले टाउकोमा समाए। सञ्जीव बानिया र सबिन केसीले लेख्ने र गिद्धलाई नियन्त्रणमा लिने काम गरिरहे। डाक्टर सुबेदीले स्याटलाइट ट्रान्समिटर लगाइरहे। म भने फोटो र भिडिओ खिच्ने काममा व्यस्त। केही छिनमा मेमोरी भरियो। केही फोटो र भिडिओ फाल्नु पर्‍यो। मेरो तयारी राम्रो थिएन। आफैँले आफूलाई गाली गरेँ।

ढाडमा राखिएको करिब १०० ग्रामको स्याटलाइट ट्रान्समिटरलाई नरम फित्ताले बाँधियो। दुई पटकसम्म चेक गरियो। ढाडबाट ल्याइएको फित्ता अघिल्लो भागमा जोडिएको थियो। प्लास्टिक र मेग्नेट निकालेपछि स्याटलाइट ट्रान्समिटर सक्रिय भयो। ३/४ वर्ष सम्म काम गर्ने सो स्याटलाइट र फित्ता गिद्धको शरीरबाट आफै निस्किएर खस्नेछ।

गिद्धको सबै जानकारी सङ्कलन गरियो। तौल नाप्न सम्भव भएन। तौल नाप्न खोज्दा हातबाट एक पटक गिद्ध फुस्कियो। नियन्त्रणमा लिन अप्ठ्यारो भए पनि अनुभवी अनुसन्धानकर्मीहरुको अगाडि गिद्धको केही चलेन। गिद्धको उड्दाखेरी एक पखेटा देखि अर्को पखेटा सम्मको दुरी २.५२ मिटर थियो। नाम राखियो ‘राजु’। र, राजु सकुशल उड्यो। बेलुकी नै अनुसन्धान टोलीले भोलि गिद्ध परे भने दाइको नाम राख्ने हो भनेर मलाई भनेका थिए। मेरो नाम दिइएको गिद्ध उडेर जाँदा कम्ता खुशी लागेन।

+++

हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर राखिएको यो पहिलो पटक थियो। नेपालमा यसअघि अन्य सिकारी चरामा यस्तै उपकरण प्रयोग गरिएको थियो। उक्त ट्रान्समिटरले दिनमा ५ पटकसम्म गिद्ध रहेको स्थान, उचाइ, उडेको गति आदि जानकारी दिनेछ। एउटा गिद्धमा सो प्रविधि प्रयोग गर्दा करिब ५ लाख रुपैयाँ जति खर्च हुने रहेछ।

ठूलो खर्कको होटेलमा ३ वटा स्याटलाइट ट्रान्समिटर हराएर तनावमा रहेको अनुसन्धानकर्मीहरु भने पहिलो हिमाली गिद्धलाई छोडे पछि खुशी देखिन्थे।

यो अनुसन्धान वन तथा वातावरण मन्त्रालय/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ‘हिमाली प्रकृति’ संस्थाले संयुक्त रूपमा गरिरहेको हो। नेपालको यो अनुसन्धानलाई कोरिया इन्स्टिच्युट अफ इन्भाइरोमेन्ट इकोलोजी, जापान सोसाइटी फर प्रिजर्भेसन अफ वर्ड, नर्थ स्टार साइन्स एन्ड टेक्नोलोजी समेतले सघाएका छन्। यो लेख तयार पारुन्जेल उक्त समूहले ३ वटा हिमाली गिद्धमा सो उपकरण जडान गरिसकेको छ।

+++

हिमाली गिद्ध सकुशल उडेर गएपछि सबैले एक अर्कालाई बधाई बाँडियो। सबैको अनुहारमा खुशी मात्रै थियो। मैले भने, ‘मानिसहरू वन्यजन्तु अनुसन्धान गरेर के पाउँछौं भनेर सोध्दछन् नि? हो यही हो पाउने! खुसी मात्र! सन्तुष्टि मात्र!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell